माझखण्डको महारुद्रेश्वर र साउने सन्देश
सारांश
- साउन महिनालाई महादेवको पवित्र महिना मानिन्छ, जसमा भक्तजनले महादेवको पूजाआराधना गरी व्रत बस्ने गर्छन्।
- माझखण्डको महारुद्रेश्वर मन्दिर दक्ष प्रजापतिको यज्ञस्थल मानिन्छ, जहाँ सतीदेवीले प्राण त्यागेपछि महादेवले रौद्ररूप धारण गरेका थिए।
- साउन महिनामा रुद्री पाठ गरी शिवलिङ्गमा अभिषेक गर्ने चलन छ, जसले शारीरिक, मानसिक र सांसारिक दुःख नाश हुने विश्वास छ।
नेपाली महिनाहरूको नाम नक्षत्रका आधारमा राखिएको छ। २७ नक्षत्रमध्ये १२ वटा नक्षत्रलाई १२ महिनाका नामका लागि छानिएको हो। हिन्दू चन्द्रसौर पात्रोमा पूर्णिमाका दिन चन्द्रमा जुन नक्षत्रमा रहन्छ, त्यसैका आधारमा महिनाको नाम निर्धारण गरिन्छ। यसकै आधारमा वर्षका १२ वटै महिनाका आ–आफ्नै विशेषता छन् र त्यही विशेषताअनुसार महिनाको नामकरण गरिएको हो।
पूर्वीय दर्शनका अनुयायीहरू साउनलाई पवित्र महिनाका रूपमा मान्छन्। साउन महिनालाई महादेवको महिना पनि भन्ने गरिन्छ। साउन महिनाको पूर्णिमा श्रवण नक्षत्रमा पर्छ। श्रवण नक्षत्रको स्वामी चन्द्रमा हुन् र चन्द्रमा भगवान् शिवको मस्तकमा शोभायमान छन्। जब सूर्य मिथुनबाट कर्कट राशिमा प्रवेश गरेर साउन महिना सुरु हुन्छ, तब सूर्य दक्षिणायन हुन्छन्।
यस समयमा सूर्यको ताप कम हुने तथा दिन छोटा हुन थाल्छन्। सूर्य कर्कट राशिमा आएपछि वर्षा हुन्छ र यसले शिवलाई प्रसन्न तुल्याउँछ भन्ने ज्योतिषशास्त्रीय मान्यता रहिआएको छ।
साउन महिनामा महादेवको पूजाआराधना गरी व्रत बस्ने गरिन्छ। यो महिनामा महादेव स्वयम् धर्तीमा आउने मान्यता रहेका कारण पूर्वीय संस्कार बोकेको समाज विशेष पूजाअर्चनामा लाग्ने गर्छ। साउनमा महादेवको विशेष पूजाआजा गर्न सके अरू महिनामा भन्दा उनलाई रिझाउन सजिलो हुने मान्यता छ। यसै महिनामा महादेवको पूजाआराधना गरी आफूले चाहेको वर माग्ने गरिन्छ।
यो महिनाभरि महादेवको भक्ति गर्ने र व्रत बस्नेहरूलाई फलदायी हुन्छ भन्ने मान्यता रहिआएको छ। साउन महिना नै महादेवलाई बढी प्रिय लाग्नुको कारण यो महिनामा अधिक वर्षा हुनु हो, जसले महादेवको विषयुक्त तातो शरीरमा शीतलता प्रदान गर्छ। यो महिनामा प्रकृतिले नै रुद्राभिषेक गर्छ। शिवपुराणअनुसार महादेव स्वयम् जल हुन्। तसर्थ, वर्षातको महिना भएका कारण साउनलाई महादेवको महिनाका रूपमा लिइन्छ।
साउने सोमबारका दिन महिलाहरूले विशेषगरी हरियो रङका वस्त्र, चुरा र मेहेन्दी लगाएर तथा पुरुषहरूले पूजापाठ, जप र ध्यान गरेर महादेवको आराधना गरी व्रत बस्ने चलन छ। साउन महिनामै हरियो रङ प्रयोग गर्नुलाई प्रकृतिसँगको एकाकार मानिन्छ। साउनमा यथेष्ट पानी पर्ने हुँदा बोटबिरुवाले हरियो जुनी पाउँछन्। त्यसैले हरियो वस्त्र, चुरा, मेहेन्दीलगायतको प्रयोग गरेर हरियै बन्ने गरिएको हो। यसो गर्नाले महादेव खुसी हुन्छन् र मनोकाङ्क्षा पूरा हुन्छ भन्ने धार्मिक विश्वास छ।
सोमबार ललितपुरको कुम्भेश्वर, सन्तानेश्वर, तिलेश्वर, रामेश्वर, कालेश्वर, महारुद्रेश्वरलगायत महादेव मन्दिरमा बिहानैदेखि भक्तजनको घुइँचो लाग्ने गर्छ। ज्योतिषशास्त्रअनुसार सोमबारको स्वामी महादेवलाई मानिएको छ, त्यसैले सोमबारका दिन महादेवको आराधना गरिन्छ। पुराणमा पनि साउने सोमबारको महिमा उल्लेख छ। यो दिन आफू र परिवारको सुस्वास्थ्य, दीर्घायु एवं विभिन्न कामना गर्दै व्रत बस्ने परम्परा रहिआएको छ। यो वर्ष साउनको ४, ११, १८ र २५ गते सोमबार परेको छ।
महादेव सृष्टिको संहारकर्ता र कल्याणकारी देवताका रूपमा पुजिन्छन्। महादेव निराकार (शिवलिङ्ग) र साकार (मानव/योगी) गरी दुवै स्वरूपमा भेटिन्छन्। शास्त्रअनुसार महादेवका पाँच रूप छन्:
- शिवलिङ्ग (निराकार रूप): शिवको सबैभन्दा मुख्य र व्यापक रूप शिवलिङ्ग हो। यसले ब्रह्माण्डको सृष्टि र निराकार परमात्माको प्रतीकका रूपमा प्रतिनिधित्व गर्छ।
- योगी वा साधु (साकार रूप): महादेवलाई ध्यानावस्थित, बाघको छाला ओढेको, शिरमा जटा, गलामा नाग र तेस्रो नेत्र भएका एक योगी वा तपस्वीका रूपमा चित्रण गरिन्छ।
- भोलेनाथ रूप: यो महादेवको दयालु र भक्तहरूसँग छिट्टै प्रसन्न हुने स्वरूप हो।
- नटराज रूप: ताण्डव नृत्यका देवताका रूपमा महादेवको नटराज स्वरूप भेटिन्छ। यो स्वरूपले ब्रह्माण्डको लय र सृष्टिको गतिशीलतालाई दर्शाउँछ।
- रुद्र रूप: यो महादेवको उग्र, विनाशकारी वा क्रोधी स्वरूप हो, जुन दुष्टहरूको संहार गर्न प्रकट हुन्छ। (यही रूपका महादेव महारुद्रेश्वर मन्दिर माझखण्डमा विराजमान भएको मानिँदै आएको छ।)

महादेव
महादेव वैदिक देवता हुन्। महादेवलाई विभिन्न नामबाट पुकारिन्छ। महादेवका १०८ नामको विशेष महत्त्व छ। रुद्राभिषेक, शिवपूजा र जपमा यी नामहरूको पाठ गरिन्छ। त्यस्तै 'शिव सहस्रनाम'मा महादेवका १ हजार नाम उल्लेख छन्, तीमध्ये शिव पनि एक हो। शिवको अर्थ कल्याण हो। विधिपूर्वक आराधना गर्दा उनी खुसी हुन्छन् र मनोकामना पूर्ण गरिदिन्छन् भन्ने विश्वास गरिन्छ।
शिवको उपासना गर्ने परम्परा वैदिक कालदेखि नै चल्दै आएको मानिन्छ। वेदमा रुद्रका रूपमा महादेवको उपासना गरिएको छ। शुक्ल यजुर्वेदको १६औँ अध्यायमा रुद्रको विविध वर्णन पाइन्छ। सुख प्रदान गर्ने, पाप नाश गर्ने र भक्तको कल्याण गर्ने रूपमा शिवको उपासना गरिएको छ। पौराणिक ग्रन्थहरूमा ब्रह्मालाई सृष्टि, विष्णुलाई रक्षा र शिवलाई संहारका देवता मानिएको छ। शिवलाई सम्पूर्ण देवताका पनि देवता अर्थात् 'देवाधिदेव महादेव' भनिएको छ।
- महारुद्रेश्वर
कुनै कल्पमा माझखण्डमा देवाधिदेव महादेवले रौद्ररूप धारण गरेका थिए। त्यसैले यहाँका महादेव रौद्रेश्वर अर्थात् रुद्रेश्वर नामले चिनिन्छन्। दक्ष प्रजापतिले आफ्नो कल्पमा धेरै यज्ञयज्ञादि गरेको शास्त्रमा पाइन्छ। तिनै यज्ञमध्ये माझखण्डको पुण्यभूमिमा आयोजित यज्ञ महत्त्वपूर्ण मानिन्छ। शास्त्रमा वर्णित दक्ष प्रजापतिको महायज्ञस्थलका यथेष्ट प्रमाण माझखण्डको महारुद्रेश्वर मन्दिर र आसपासमा छन्।
सतीदेवीले पिता दक्ष प्रजापतिको अपमान सहन नसकी यज्ञकुण्डमा प्राण आहुति गरेपछि महादेव यहाँ स्वयम् प्रकट भई रौद्ररूप धारण गरेका थिए। उनले यज्ञ विध्वंस गर्दै दक्षको शिर छेदन गरेको शास्त्रमा वर्णित छ। त्यसपछि महादेव क्रोधित भई सतीदेवीको मृत शरीर यज्ञकुण्डबाट बोकी पृथ्वी परिक्रमामा (भ्रमणमा) हिँडेका थिए। यो त्यही स्थल हो भन्ने स्थलगत अवशेष र शास्त्रीय प्रमाणका तथ्य छन्।
माझखण्डमा शिव र पार्वतीको जोडा शिलाका साथमा शिवपञ्चायतनका शिला एकै शिलामा सँगै छन्। जोडा शिला अगाडि र तीनवटा शिला पछाडिको भागमा रहेका छन्। शिव, पार्वती, गणेश, सूर्य र विष्णुका प्राकृतिक शिला एकै स्थलमा पाउनु दुर्लभ हुने धार्मिक गुरु चण्डी पौडेल बताउनुहुन्छ। यही ऐतिहासिक र पौराणिक विशिष्टताकै कारण यहाँ महारुद्रेश्वर मन्दिरको चर्चापरिचर्चा बढ्न थालेको छ। महारुद्रेश्वरको वरिपरि गौरीकुण्ड, ऋषिखल, भद्रकाली गुफा, भैरवस्थान, देवीस्थानजस्ता ऐतिहासिक स्थल हुनु यसको थप दृष्टान्त हो। शास्त्रमा वर्णन गरेजस्तै प्रमाण यहाँ रहेका पौडेल बताउनुहुन्छ, जसले गर्दा महारुद्रेश्वर दक्षप्रजापतिको यज्ञस्थल हो भन्न सकिन्छ।

- साउनमा रुद्री
नेपाली समाजमा साउन महिनामा रुद्री लगाउने चलन छ। रुद्री भनेको शतरुद्रीय वैदिक मन्त्र पाठ गरी शिवलिङ्गमा अभिषेक गर्नु हो। विशेषगरी साउनको सोमबार पारेर तथा त्यस दिन नजुरे साउनकै अन्य कुनै दिन ब्राह्मणहरूद्वारा रुद्राभिषेक गराइन्छ। महादेवको स्तुति गर्दै महादेवकै पूजा गर्ने विधिलाई पूर्वीय दर्शनमा रुद्रीका नामले चिनिन्छ।
रुद्रीमा वैदिक मन्त्रोच्चारणसहित जलधाराले शिवको अभिषेक गरिन्छ। धर्म, अर्थ, काम र मोक्ष— यी चार कुराको इच्छा गर्नेहरूले रुद्री पाठद्वारा भगवान्लाई प्रसन्न पार्छन्। रुद्र प्रसन्न हुनाले सम्पूर्ण इच्छा पूर्ण हुन्छ भन्ने विश्वास गरिन्छ। भिन्नभिन्न वस्तुले अभिषेक गरी रुद्री पाठ गर्नाले भिन्नभिन्न कामना पूर्ण हुन्छन् भन्ने विश्वास छ। 'रुद्र' शब्दको अर्थ दुःखको नाश गर्ने वा हटाउने भन्ने हुन्छ। त्यसैले रुद्री पाठ र पूजा गर्नाले मानिसका शारीरिक, मानसिक तथा सांसारिक दुःखहरू नष्ट हुन्छन् भन्ने विश्वास गरिँदै आइएको छ।

- महारुद्रेश्वर कसरी पुग्ने ?
ललितपुर जिल्लाको सुन्दर र रमणीय गाउँ हो, माझखण्ड। यो काठमाडौँ–हेटौँडा छोटो मार्ग कान्ति लोकपथको छेउमै निर्माणाधीन छपेली–माझखण्ड केबुलकारको गन्तव्य पनि हो। माझखण्ड प्रकृति (नेचर), संस्कृति (कल्चर) र साहसिक पर्यटन (एडभेन्चर) का लागि एक लोकप्रिय पर्यटकीय स्थल हो। बागमती गाउँपालिकामा पर्ने माझखण्डमा महारुद्रेश्वर मन्दिर अवस्थित छ।
अहिले यहाँ पुग्नका लागि कान्ति लोकपथ हुँदै छपेली जानुपर्छ। सातदोबाटोबाट कान्ति लोकपथको २८ किलोमिटर यात्रा गरेपछि छपेली पुगिन्छ। छपेली बजारबाट हेटौँडा जाने बाटो छाडेर देब्रेतिर झर्ने सहायक मार्गबाट भट्टेडाँडा पुगिन्छ। भट्टेडाँडाबाट इकुडोल, सानुचिला हुँदै माझखण्ड जाने एउटा बाटो छ भने भट्टेडाँडाबाटै कलवन, बसेरी हुँदै माझखण्ड जाने अर्को बाटो छ। आफ्नै सवारीसाधन हुनेलाई कलवन, बसेरी हुँदै माझखण्ड जान छिटो हुन्छ।
माझखण्डबाट चापागाउँ र चापागाउँबाट माझखण्डका लागि दैनिक एउटा बसले यातायात सेवा दिइरहेको छ। उक्त बस भने इकुडोल, सानुचिलाको बाटो ओहोरदोहोर गर्छ। छपेलीबाट १२ किमि कच्ची सडकको यात्रापछि महारुद्रेश्वर मन्दिर पुगिन्छ।
छपेलीबाट पारिपट्टि लमतन्न परेको उच्च समस्थली (पठार) नै माझखण्ड हो। यहाँको उच्च समस्थलीलाई तीन खण्डमा विभाजन गरिएको छ। पहिलो खण्ड पोखरीडाँडा हो, जहाँ महारुद्रेश्वरको मन्दिर छ। दोस्रो खण्ड माझखण्ड हो, जहाँ बुद्ध विहार छ। दोस्रो खण्डलाई नै छपेली–माझखण्ड केबुलकारको अपर स्टेसनका लागि तोकिएको छ। तेस्रो खण्ड सल्ले हो, जहाँ होटल र गुम्बा निर्माणको तयारी भइरहेको छ।
माझखण्डमा युरोपियन स्ट्यान्डर्डको केबुलकार निर्माणको काम भइरहेको हुँदा महारुद्रेश्वरको महत्त्व झनै बढेको छ। यससँगै मन्दिरको महिमा, मिथक र उत्पत्ति कथाको खोजी हुन थालेको छ भने भक्तजनको सङ्ख्या पनि उसैगरी बढिरहेको स्थानीय बताउँछन्। यहाँबाट ४ किमि पदमार्ग हुँदै 'रमिते चुचुरो'मा पुगेपछि सगरमाथा हिमशृङ्खला, काठमाडौँ उपत्यका र तराई–मधेस तथा रक्सौल क्षेत्रको एकै ठाउँबाट दृश्यावलोकन गर्न सकिन्छ।
समग्रमा माझखण्ड काठमाडौँबाट नजिकको दूरीमा रहेको, प्रकृति र गाउँले जीवनको अनुभव गर्नका लागि एक उपयुक्त गन्तव्य हो।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
नेपालकै सबैभन्दा ठुलो च्यारिटी साइकलिङ अभियान, तस्बिरमा हेर्नुहोस्
-
इरानमा लगातार सातौं रात अमेरिकी सेनाको हवाई आक्रमण
-
डीएनए परीक्षणले खोल्यो ४ हजार वर्ष पुरानो कङ्कालको रहस्य
-
‘पेन्सन पट्टा’को पहिलो गीत ‘जुनी जाला’मा दयाहाङ, बुद्धि र विल्सनको नृत्य
-
सिधे नुन कि सेतो नुन, स्वास्थ्यका लागि कुन हो राम्रो?
-
फिल्म ‘हजारौँमा एक’ घोषणा, सुव्रत आचार्यले निर्देशन गर्ने
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण