शनिबार, ०२ साउन २०८३
ताजा लोकप्रिय

तेस्रो विवाहलाई ‘लभ जिहाद’ भन्दै आमिर खानलाई लरेन्स ग्याङको ज्यान मार्ने धम्की

शनिबार, ०२ साउन २०८३, १२ : ०५
शनिबार, ०२ साउन २०८३

सारांश

  • बलिउड अभिनेता आमिर खानलाई लरेन्स ग्याङले तेस्रो विवाहलाई 'लभ जिहाद' भन्दै ज्यान मार्ने धम्की दिएको छ ।
  • ग्याङले पत्र र अडियो नोट जारी गर्दै देश र संस्कृतिको विरुद्धमा गएर लभ जिहादलाई बढावा दिनेहरूलाई सहन नगर्ने चेतावनी दिएको छ ।
  • आमिरले भने आफ्नो तीनवटै विवाह अदालती भएको र कुनै पनि श्रीमतीले धर्म परिवर्तन नगरेको भन्दै सफाइ दिएका छन् ।

मुम्बई । बलिउड अभिनेता आमिर खानलाई लरेन्स ग्याङको तर्फबाट ज्यान मार्ने धम्की आएको खबर सार्वजनिक भएको छ । 

रिपोर्टका अनुसार ग्याङले आमिर खानले गत जुलाई ५ मा गौरी स्प्र्याटसँग गरेको तेस्रो विवाहलाई ‘लभ जिहाद’ को संज्ञा दिँदै धम्की दिएको हो ।

आजतकको रिपोर्टका अनुसार शनिबार लरेन्स ग्याङको तर्फबाट एउटा पत्र र अडियो नोट जारी गरिएको छ । आरजु बिश्नोई र टायसन बिश्नोईको नामबाट जारी गरिएको उक्त पत्रमा देश र संस्कृतिको विरुद्धमा गएर लभ जिहादका नाममा आमिर खान जस्ता मानिसलाई बढावा दिनेहरूलाई आफूहरूले सहन नगर्ने उल्लेख गरिएको छ । 

ग्याङले यसको जवाफ चाँडै दिइने चेतावनी समेत दिएको छ । पत्रमा यो कार्य देश र संस्कृति विरुद्ध भएको भन्दै जसले यसको समर्थन गर्छ, उसलाई चाँडै ग्याङको तर्फबाट जवाफ मिल्ने लेखिएको छ ।

दैनिक भास्करसँगको कुराकानीमा उच्च अदालतका अधिवक्ता अजय पञ्चोलीले यस खबरको पुष्टि गरेका छन् । यद्यपि, यो समाचार तयार पार्दासम्म मुम्बई प्रहरी र आमिर खानको टोलीका तर्फबाट कुनै पनि आधिकारिक बयान बाहिर आएको छैन ।

तेस्रो विवाह गरेपछि सामाजिक सञ्जालमा आमिर खानलाई लभ जिहादको ब्रान्ड एम्बेसेडर भन्दै आलोचना हुन थालेको थियो । यी आरोपहरूमाथि रेडिफसँगको कुराकानीमा आमिरले आफ्नो सफाइ दिएका छन् । ‘मेरो तीनवटै विवाहमा कुनै पनि श्रीमतीले धर्म परिवर्तन गरेका छैनन्, किनभने यी विवाहहरू अदालती विवाह थिए,’ आमिरले भने, ‘तेस्रो श्रीमती गौरी हिन्दू नभएर क्रिश्चियन हुन् ।’

आफ्नो परिवारको उदाहरण दिँदै आमिरले थप स्पष्ट पारे, ‘मेरो छोरी इराको विवाह हिन्दू युवासँग भएको छ । मेरा दुवै दिदीबहिनी निखत खान र फरहत खानका श्रीमान् पनि हिन्दू हुन् भने कजिन मन्सुरको विवाह क्रिश्चियनसँग भएको छ ।’

अभिनेता आमिर खान र उनकी पार्टनर गौरी स्प्र्याटले जुलाई ५ मा विवाह गरेका थिए । दुवैले मुम्बईको पाली हिलस्थित आमिरकै घरमा विवाहको कागजातमा हस्ताक्षर गरेका हुन् । 

यो एक निजी पारिवारिक समारोह थियो, जसमा दुवै परिवारका सदस्य र केही नजिकका साथीहरू मात्र उपस्थित थिए । उक्त विवाह स्पेशल म्यारिज एक्टअन्तर्गत कोर्ट म्यारिजका रूपमा दर्ता गरिएको हो ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

एजेन्सी
एजेन्सी
लेखकबाट थप