राज सिग्देलको सुमधुर गजलमा झुम्यो दोहा
सारांश
- आदिकवि भानुभक्त आचार्यको २१२औँ जन्म जयन्तीको अवसरमा कतारको दोहामा अन्तर्राष्ट्रिय नेपाली साहित्य समाज (अनेसास) कतार च्याप्टरद्वारा विशेष साहित्यिक तथा साङ्गीतिक कार्यक्रम भव्य रूपमा सम्पन्न भएको छ ।
- कार्यक्रममा प्रख्यात गजल गायक राज सिग्देलले आफ्ना चर्चित गजलसँगै वरिष्ठ स्रष्टाहरूका सिर्जनालाई सुमधुर स्वरमा प्रस्तुत गर्दा दर्शकदीर्घा नै गुन्जिएको थियो ।
- कार्यक्रमले नेपाली दूतावास, दोहाका कार्यवाहक राजदूत कुमार राईले आदिकवि भानुभक्त आचार्यको नेपाली भाषा र साहित्यको माध्यमबाट विश्वभर रहेका नेपालीलाई एउटै भावनात्मक सूत्रमा बाँध्ने ऐतिहासिक योगदानको स्मरण गरायो ।
दोहा। आदिकवि भानुभक्त आचार्यको २१२औँ जन्म जयन्तीको अवसरमा कतारको दोहामा आयोजित विशेष साहित्यिक तथा साङ्गीतिक कार्यक्रम भव्य रूपमा सम्पन्न भएको छ । अन्तर्राष्ट्रिय नेपाली साहित्य समाज (अनेसास) कतार च्याप्टरद्वारा आयोजित कार्यक्रममा प्रख्यात गजल गायक राज सिग्देलको सुमधुर प्रस्तुतिले सम्पूर्ण हललाई गजलमय बनाएको थियो ।
कार्यक्रमको प्रमुख आकर्षण बनेका गजल गायक राज सिग्देलले आफ्ना चर्चित गजलसँगै नेपाली साहित्यका वरिष्ठ स्रष्टाहरूका सिर्जनालाई सुमधुर स्वरमा प्रस्तुत गरेका थिए । विशेषगरी ‘उ जितेर गई या हारेर गई’ गजल प्रस्तुत हुँदा दर्शकदीर्घा नै गुन्जिएको थियो ।
धेरै दर्शक आफ्ना आसनबाट उठेर गायकसँगै गजल गाउन थालेपछि कार्यक्रम अविस्मरणीय बनेको थियो। त्यसपछि सिग्देलले कवि तथा गजलकार प्रदीप रोदन लगायत नेपाली साहित्यका चर्चित स्रष्टाहरूका गजललाई हार्मोनियमको मधुर धुनसँगै जीवन्त रूपमा प्रस्तुत गर्दै श्रोताको भरपुर प्रशंसा बटुले।
कार्यक्रमका प्रमुख अतिथि तथा नेपाली दूतावास, दोहाका कार्यवाहक राजदूत कुमार राईले आदिकवि भानुभक्त आचार्यले नेपाली भाषा र साहित्यको माध्यमबाट विश्वभर रहेका नेपालीलाई एउटै भावनात्मक सूत्रमा बाँध्ने ऐतिहासिक योगदान दिएको बताए ।
संस्कृत भाषामा रहेको रामायणलाई नेपाली भाषामा रूपान्तरण गरेर भानुभक्तले नेपाली भाषालाई जनस्तरसम्म पुर्याएको उल्लेख गर्दै उनले मातृभाषाप्रतिको सम्मान नै राष्ट्रप्रतिको सम्मान भएको धारणा व्यक्त गरे।

कार्यक्रमअन्तर्गत भानुजयन्ती विशेष समारोह, राज सिग्देलको ‘सुमधुर गजल साँझ’, नवोदित साहित्यिक वाचनालय कतारको १८औँ अधिवेशन तथा साहित्यिक वाचन शृङ्खलाको १७१औँ डबली कार्यक्रम एकै मञ्चबाट सम्पन्न गरिएको थियो।
अनेसास कतारका अध्यक्ष शोभाराम ओलीको अध्यक्षतामा सम्पन्न कार्यक्रममा दोहास्थित विभिन्न सामाजिक तथा साहित्यिक सङ्घसंस्थाका प्रतिनिधि, साहित्यकार, साहित्य प्रेमी र सञ्चारकर्मीहरूको उल्लेखनीय उपस्थिति रहेको थियो।
कार्यक्रमको बन्दसत्रले सन् २०२६/२०२७ कार्यकालका लागि नयाँ कार्यसमिति सर्वसम्मत रूपमा चयन गरेको छ । नवगठित कार्यसमितिको अध्यक्षमा शोभाराम ओली, प्रथम उपाध्यक्षमा शिव सुवेदी, द्वितीय उपाध्यक्षमा पूर्ण कान्छा गुरुङ, मोबाइल पुस्तकालय संयोजकमा गोविन्द उदासी, महासचिवमा सुजाता डिसी, सचिवमा पाण्डव थापा मगर, कोषाध्यक्षमा रामप्रसाद लुइँटेल (आत्मरमानन्द), सहकोषाध्यक्षमा राजु सुवेदी (जेमराज) तथा सदस्यहरूमा गणेश बस्याल, पवन गुरुङ, योगेन्द्र सुवेदी, सरुजा कार्की, रिता ढुङ्गेल र मीन थापा सर्वसम्मत चयन भएका छन्।
साहित्य, सङ्गीत र संस्थागत गतिविधिलाई एउटै मञ्चमा समेटिएको यस कार्यक्रमले कतारमा रहेका नेपाली समुदायबिच भाषा, साहित्य र संस्कृतिप्रतिको अपनत्व अझ सुदृढ बनाएको दोहाका चर्चित गजलकार श्यामराज रानाभाटले बताएका छन्।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
चीनको चोङकिङमा पहिरोमा परी ८ जनाको मृत्यु, ३४ जना बेपत्ता
-
विश्वकपको फाइनलअघि फर्केर हेर्दा : यी हुन् उत्कृष्ट १० खेल
-
श्रीमतीको हत्या गरेको आरोपमा एक पुरुष पक्राउ
-
१०० रुपैयाँको राइड गर्दा सरकारलाई ६ रुपैयाँ कर
-
तुलसीपुर उपमहानगरकाद्वारा १५४ कानुन निर्माण
-
क्यानडाको डढेलो, अमेरिकामा धुवाँ : ट्रम्पद्वारा महसुल लगाउने धम्की
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण