शनिबार, ०२ साउन २०८३
ताजा लोकप्रिय
फिफा विश्वकप २०२६

विश्वकपको फाइनलअघि फर्केर हेर्दा : यी हुन् उत्कृष्ट १० खेल

शनिबार, ०२ साउन २०८३, १५ : ००
शनिबार, ०२ साउन २०८३
00:00 / NaN:NaN
Audio By AI

न्युयोर्क । २०२६ को विश्वकपले रोमाञ्च, नाटकीय पुनरागमन, अप्रत्याशित नतिजा र अन्तिम क्षणका निर्णायक गोलले भरिएका अविस्मरणीय फुटबल खेलहरू प्रस्तुत गर्‍यो।

लियोनेल मेस्सीको प्रेरणादायी प्रदर्शनदेखि केप भर्डेको ऐतिहासिक यात्रा तथा स्पेनको प्रभुत्वजस्ता विषयले यस प्रतियोगितामा समर्थकलाई अविस्मरणीय क्षणहरू दिलाए।

स्पेन र अर्जेन्टिनाबिचको फाइनलअघि प्रतियोगिताका उत्कृष्ट १० खेलको सूची यसप्रकार छ:

Paraguay

१०. पाराग्वे १–१ जर्मनी (पेनाल्टीमा ४–३)

राउन्ड अफ ३२ अन्तर्गत जुन २९ मा भएको खेलमा पाराग्वेले प्रतियोगिताकै सबैभन्दा ठूलो उलटफेर गर्दै उपाधि दाबेदार मानिएको बलियो जर्मनीलाई पेनाल्टी सुटआउटमा हरायो। निर्धारित र अतिरिक्त समय १–१ को बराबरीमा सकिएको खेलमा जर्मनीले अधिकांश समय बल नियन्त्रण गरे पनि पाराग्वेको सुदृढ रक्षापङ्क्ति भत्काउन सकेन।

अतिरिक्त समयमा जोनाथन टाहले गरेको गोल भीएआर (VAR) ले फाउल देखाउँदै रद्द गरिदियो। त्यसपछि भएको पेनाल्टी सुटआउटमा गोलरक्षक ओरलान्डो गिलले काई हाभर्ट्ज र निक वोल्टेमाडेका प्रहार बचाउँदै पाराग्वेलाई ऐतिहासिक जित दिलाए।

९. मोरक्को १–१ नेदरल्यान्ड्स (पेनाल्टीमा ३–२)

9

त्यसैगरी, राउन्ड अफ ३२ अन्तर्गत जुन २९ मै भएको अर्को खेलमा नकआउट चरणमै दुई बलिया टोलीको भेट भयो। मोरक्को र नेदरल्यान्ड्सबीचको यस खेलले क्वार्टरफाइनल स्तरको प्रतिस्पर्धा प्रस्तुत गर्‍यो।

७२औँ मिनेटमा कोडी गाक्पोले नेदरल्यान्ड्सलाई अग्रता दिलाए। गर्भावस्थामै आफ्ना सन्तान गुमाएका गाक्पोले गोलपछि भावुक हुँदै आकाशतर्फ हेरेर श्रद्धाञ्जलि अर्पण गरे। तर, इन्जुरी समयको पहिलो मिनेटमा इस्सा डिओपको हेडरमार्फत मोरक्कोले बराबरी गर्‍यो। अतिरिक्त समयमा डच गोलरक्षक बार्ट भरब्रुगेनले उत्कृष्ट बचाउ गरे पनि पाँच प्रहार खेर गएको तनावपूर्ण पेनाल्टी सुटआउटमा मोरक्को विजयी बन्यो।

८. स्पेन २–० फ्रान्स

8

सेमिफाइनलअन्तर्गत जुलाई १४ मा भएको खेल पनि अनपेक्षितझैँ रह्यो। फ्रान्सको आक्रमण शक्ति र गति रोक्न असम्भव ठानिएको थियो। तर, स्पेनले फेरि एकपटक आफू किन विश्वकै उत्कृष्ट टोली हो भन्ने प्रमाण दियो।

बल नियन्त्रणमा आधारित खेल र तीव्र काउन्टर प्रेसिङमार्फत स्पेनले किलियन एम्बाप्पे, उस्मान डेम्बेले, माइकल ओलिसे र ब्राड्ली बार्कोलालाई लगभग निष्क्रिय बनायो। फ्रान्सले ८२औँ मिनेटसम्म लक्ष्यतर्फ एउटा पनि प्रभावकारी प्रहार गर्न सकेन। युरो २०२४ र नेसन्स लिगपछि स्पेनले फेरि फ्रान्सलाई पराजित गर्दै विश्वकप फाइनलमा स्थान सुरक्षित गर्‍यो।

७. केप भर्डे ०–० स्पेन

7

समूह चरणअन्तर्गत जुन १५ मा विश्वकपमा पहिलोपटक सहभागी भएको केप भर्डेले प्रतियोगिताको सबैभन्दा ठूलो सनसनीपूर्ण नतिजा निकाल्यो। स्पेनले २७ प्रहार गरे पनि ४० वर्षीय गोलरक्षक भोजिन्हाले तीमध्ये लक्ष्यमा केन्द्रित सातै प्रहार रोक्दै अविश्वसनीय प्रदर्शन गरे।

स्पेनका प्रशिक्षक लुइस दे ला फुएन्तेले घाइते अवस्थाबाट फर्किरहेका लामिन यामाललाई समेत मैदानमा उतारे, तर गोल निकाल्न सकेनन्। यस बराबरीसँगै केप भर्डेले आफ्नो खेलकुद इतिहासकै सबैभन्दा ठूलो उपलब्धि हासिल गर्‍यो।

६. बेल्जियम ३–२ सेनेगल

6

त्यस्तै, राउन्ड अफ ३२ अन्तर्गत जुलाई १ मा बेल्जियमले विश्वकप इतिहासकै सबैभन्दा अविश्वसनीय पुनरागमनमध्ये एक गर्दै दुई गोलले पछि परेको अवस्था उल्टायो। ८६औँ मिनेटमा रोमेलु लुकाकुले अन्तर घटाए भने त्यसको तीन मिनेटपछि युरी टिलेमान्सले बराबरी गोल गरे। अतिरिक्त समयको अन्त्यतिर भीएआरले पेनाल्टी दिएपछि कप्तान टिलेमान्सले १२५औँ मिनेटमा निर्णायक गोल गर्दै बेल्जियमलाई अन्तिम १६ मा पुर्‍याए।

५. अर्जेन्टिना २–१ इंग्ल्यान्ड

5

सेमिफाइनलअन्तर्गत जुलाई १५ मा भएको अर्जेन्टिना र इंग्ल्यान्डबीचको खेल पनि अर्को उत्कृष्ट खेलका रूपमा दरियो। एक गोलको अग्रता जोगाउन इंग्ल्यान्डका प्रशिक्षक थोमस टुखेलले अत्यधिक रक्षात्मक रणनीति अपनाए। यसले अन्ततः इंग्ल्यान्डलाई महँगो पर्‍यो।

८५औँ मिनेटमा एन्जो फर्नान्डेजले बराबरी गोल गरे। त्यसपछि इन्जुरी समयको दोस्रो मिनेटमा लाउटारो मार्टिनेजले हेडरमार्फत विजयी गोल गरे। लियोनेल मेस्सीले दुवै गोलमा असिस्ट गर्दै अर्जेन्टिनालाई लगातार अर्को विश्वकप फाइनलमा पुर्‍याए।

४. पोर्चुगल २–१ क्रोएसिया

4

राउन्ड अफ ३२ अन्तर्गत जुलाई २ को पोर्चुगल र क्रोएसियाबीचको खेल ४० वर्षीय क्रिस्टियानो रोनाल्डो र ४१ वर्षीय लुका मोड्रिचमध्ये कसको विश्वकप यात्रा अन्त्य हुन्छ भन्ने चर्चाको केन्द्र बन्यो। यो खेल विवादास्पद अन्त्यका कारण झन् चर्चित बन्यो।

इन्जुरी समयमा योस्को ग्भार्डियोलले बराबरी गोल गरेको जस्तो देखिए पनि बलभित्र जडित सेन्सरले इगोर मातानोभिचको टाउकोमा हल्का छोएको पुष्टि गर्‍यो। त्यसका कारण मारियो पासालिच अफसाइडमा परेको ठहर गर्दै गोल रद्द गरियो। प्रविधिअनुसार निर्णय सही भए पनि यसले अविस्मरणीय क्षण खोसेको धेरैको मत थियो।

३. अर्जेन्टिना ३–२ इजिप्ट

3

राउन्ड अफ १६ अन्तर्गत जुलाई ७ को अर्जेन्टिना र इजिप्टबीचको घम्साघम्सी पनि अद्भुत रह्यो। इजिप्टले दोस्रो हाफको अन्त्यसम्म २–० को अग्रता बनाउँदै पहिलोपटक क्वार्टरफाइनल पुग्ने सपना देखिरहेको थियो।

तर, ७९औँ मिनेटमा मेस्सीको उत्कृष्ट क्रसमा क्रिस्टियन रोमेरोले गोल गरे। त्यसको चार मिनेटपछि मेस्सी स्वयम्‌ले बराबरी गोल गरे। इन्जुरी समयमा एन्जो फर्नान्डेजको हेडरले अर्जेन्टिनालाई सनसनीपूर्ण जित दिलायो। खेलपछि इजिप्टका प्रशिक्षक होसाम हसनले रेफ्रीको निर्णयप्रति असन्तुष्टि जनाउँदै अर्जेन्टिनालाई पक्षपात गरिएको आरोप लगाए।

२. इंग्ल्यान्ड ३–२ मेक्सिको

2

त्यसैगरी, राउन्ड अफ १६ अन्तर्गत जुलाई ५ मा भएको खेलमा मेक्सिकोको किल्ला मानिने उच्च उचाइस्थित एस्टाडियो एस्टेका मैदानमा इंग्ल्यान्डले दुर्लभ ऐतिहासिक जित निकाल्यो।

जुड बेलिङ्घमले दुई मिनेटभित्र दुई गोल गरे। त्यसपछि ह्यारी केनले एक खेलाडी कम भएको अवस्थामै पेनाल्टीमार्फत निर्णायक गोल गरे। बाँकी समय इंग्ल्यान्डले साहसी र अनुशासित रक्षा गर्दै घरेलु समर्थकले भरिएको मैदानमा रोमाञ्चक जित निकाल्यो।

१. अर्जेन्टिना ३–२ केप भर्डे

1

राउन्ड अफ ३२ अन्तर्गत जुलाई ३ मा अर्जेन्टिनाविरुद्ध केप भर्डेको जुझारु प्रदर्शनकै कारण यो खेल यस विश्वकपकै उत्कृष्ट खेलको रूपमा दर्ज भयो। विश्वकपमा पहिलोपटक सहभागी भएको सानो राष्ट्र केप भर्डेले साविक विजेता अर्जेन्टिनालाई दुईपटक बराबरीमा फर्कायो। दोस्रो बराबरी गोल सिड्नी लोपेस काब्रालले गरेको घुमाउरो प्रहार प्रतियोगिताकै उत्कृष्ट गोलमध्ये एक मानियो।

अन्ततः १११औँ मिनेटमा अर्जेन्टिनाले विजयी गोल गर्दै अघि बढ्यो। पराजित भए पनि केप भर्डेले विश्वभरका समर्थकको सम्मान जित्यो। स्पेन, उरुग्वे र अर्जेन्टिनाजस्ता तीन पूर्व विश्वविजेताविरुद्ध ९० मिनेटसम्म बराबरी कायम राख्नु केप भर्डेको असाधारण उपलब्धि रह्यो।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

एजेन्सी
एजेन्सी
लेखकबाट थप