शनिबार, ०२ साउन २०८३
ताजा लोकप्रिय
फोटोफिचर

साउनभित्रै सञ्चालनमा आउँदै नागढुंगा सुरुङमार्ग : सुरक्षा र प्रविधिको कस्तो छ प्रबन्ध ?

शनिबार, ०२ साउन २०८३, १८ : २७
शनिबार, ०२ साउन २०८३

सारांश

  • काठमाडौँ र धादिङ जोड्ने नागढुंगा–सिस्नेखोला सुरुङमार्ग साउनभित्र सञ्चालनमा आउने तयारीमा छ।
  • यो सुरुङमार्गमा नेपालमा पहिलोपटक आरएफआईडी गेट जडान गरी आधुनिक 'टोल' प्रणाली लागू गरिनेछ।
  • सुरुङमार्गभित्र आपत्कालीन उद्धारका लागि सहायक सुरुङमार्गसहित सीसी क्यामेरा, फ्यान, फायर हाइड्रेन्ट र अलार्मजस्ता सुरक्षा प्रबन्ध मिलाइएको छ।

काठमाडौँ । काठमाडौँ र धादिङ जोड्ने नागढुंगा–सिस्नेखोला सुरुङमार्ग निर्माणको काम पूरा भएर साउनभित्रै सञ्चालनमा आउने तयारीमा छ। आधुनिक 'टोल' प्रणाली लागू गर्दै यो सुरुङमार्ग सञ्चालनको तयारी गरिएको हो। 

यसका लागि नेपाल राष्ट्र बैंकको भुक्तानी प्रणाली विभागले वाणिज्य बैंकहरूलाई आरएफआईडी (रेडियो फ्रिक्वेन्सी आइडेन्टिफिकेसन) चिपमा आधारित प्रिपेड ट्याग वा कार्ड जारी गर्न अनुमति दिइसकेको छ। यो नेपालको यातायात र वित्तीय क्षेत्रका लागि बिलकुलै नयाँ र आधुनिक अभ्यास हो।

nagdhunga tunnel  (1)

सुरुङमार्ग प्रयोगबापतको शुल्क नगद, डिजिटल र अटोमेसन प्रणालीबाट लिने तयारी छ। भारतमा सफल भएको फास्ट ट्यागजस्तै प्रविधि नेपालमा पहिलोपटक लागू गर्न आरएफआईडी गेटहरू जडान गरिसकिएको छ। 

nagdhunga tunnel  (2)

यो प्रविधिअनुसार सवारीसाधनको अगाडिको सिसा (विन्डस्क्रिन) मा एउटा सानो चिप वा ट्याग जडान गरिनेछ, जुन सवारीधनीको प्रिपेड खातासँग जोडिएको हुन्छ। सवारीसाधन टोल गेट नजिक पुग्नासाथ त्यहाँ रहेको सेन्सर र क्यामेराले उक्त चिपलाई स्वचालित रूपमा पहिचान गरी खाताबाट तोकिएको शुल्क कटौती गर्नेछन् र गेट स्वतः खुल्नेछ। यो अटोमेसन प्रणाली नेपालका लागि नयाँ अनुभव हुनेछ।

nagdhunga tunnel  (3)

यस आयोजनाअन्तर्गत दुईवटा सुरुङ निर्माण भएका छन्। आपत्कालीन उद्धारमा प्रयोग गर्नका लागि २ हजार ५ सय ५७ मिटर लामो सहायक आपत्कालीन सुरुङमार्ग (इभाकुएसन टनेल) र सवारीसाधन ओहोरदोहोर गर्न २ हजार ६ सय ८८ मिटर लामो तथा कुल ९.५ मिटर चौडाइ भएको तीन लेनको मुख्य सुरुङमार्ग निर्माण गरिएको छ।

nagdhunga tunnel  (4)

मुख्य सुरुङमार्गका तीन लेनमध्ये दुईवटा लेन ३.५–३.५ मिटरका र एउटा लेन २.५ मिटरको छ। काठमाडौं भित्रिनेतर्फ दुई लेन र बाहिरिनेतर्फ एक लेन छुट्याइएको छ। मुख्य सुरुङमार्गसँगै समानान्तर रूपमा निर्माण भएको आपत्कालीन सुरुङमा ७ वटा क्रस प्यासेज (इन्ट्री गेट) निर्माण गरिएका छन्। मुख्य सुरुङमार्गमा सवारीसाधन ओहोरदोहोर गर्दा हुनसक्ने भवितव्य दुर्घटना वा गाडी बिग्रिएर समस्यामा पर्ने यात्रीलाई तत्काल उद्धार गर्नका लागि समानान्तर रूपमा यो आपत्कालीन सुरुङ निर्माण गरिएको हो।

nagdhunga tunnel  (5)

सुरुङभित्र अत्याधुनिक सुरक्षा प्रविधि पनि जडान गरिएको छ। सिसिक्यामेरादेखि फ्यान, फायर हाइड्रेन्ट, अलार्मलगायत सुरक्षाका सम्पूर्ण प्रबन्ध मिलाइएको छ। मुख्य सुरुङमार्गभन्दा २० मिटरको दूरीमा देब्रेतर्फ समानान्तर रूपमा निर्माण भएको आपत्कालीन सुरुङमार्ग साढे चार मिटर चौडाइ र ५ मिटर उचाइको छ। यो आपत्कालीन सुरुङलाई मुख्य सुरुङमार्गसँग जोड्न ३ सयदेखि ३ सय ५० मिटरको फरकमा क्रस प्यासेजहरू निर्माण गरिएका छन्।

nagdhunga tunnel  (6)

सुरुङमार्ग सञ्चालन निर्देशिकाअनुसार सुरुङभित्र पैदलयात्री, दुईपाङ्ग्रे, तीनपाङ्ग्रे र इन्जिन नभएका (नन-मोटराइज्ड) सवारीसाधनलाई प्रवेशमा रोक लगाइएको छ। त्यस्तै, १८ मिटर लम्बाइ, २.५ मिटर चौडाइ र ४.७५ मिटर उचाइभन्दा बढी नाप भएका तथा सरकारले तोकेको भारवहन क्षमताभन्दा बढी भार बोकेका सवारीसाधनले पनि सुरुङमार्ग प्रयोग गर्न पाउने छैनन्। 

nagdhunga tunnel  (7)

यसका साथै मट्टितेल, डिजेल, पेट्रोल, ग्यास, विस्फोटक पदार्थ, सुरक्षा निकायबाहेकका हातहतियार, स्वास्थ्यमा प्रतिकूल असर पार्न सक्ने पदार्थ, दुर्गन्धित तथा कुहिएका मालसामान र कानुनले निषेध गरेका अन्य सामग्री बोकेका सवारीसाधनलाई समेत सुरुङमार्गभित्र प्रवेश निषेध गरिएको छ।

nagdhunga tunnel  (8)nagdhunga tunnel  (9)nagdhunga tunnel  (10)nagdhunga tunnel  (11)nagdhunga tunnel  (12)nagdhunga tunnel  (13)nagdhunga tunnel  (14)nagdhunga tunnel  (15)nagdhunga tunnel  (16)nagdhunga tunnel  (17)nagdhunga tunnel  (18)nagdhunga tunnel  (19)

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप