व्यापार पृथ्वीको : मानवीय संवेदना र अस्तित्वको काव्यात्मक खोजी
सारांश
- कवि दीपेन्द्र आचार्यको 'व्यापार पृथ्वीको' कृतिले आधुनिक युगमा मानवीय अस्तित्व र पहिचानको खोजी गरेको छ।
- यस कृतिले जातीय पहिचान र विश्व-मानव चेतनाबीचको द्वन्द्वलाई उजागर गर्दै कृत्रिम जातीय श्रेणीक्रम र सङ्कीर्णतामाथि प्रहार गरेको छ।
- कृतिले उपभोक्तावाद, स्वार्थ र भर्चुअल पहिचानले रैथाने मूल्य र माटोको सुगन्धलाई कसरी बिगारिरहेको छ भन्ने देखाउँछ।
समकालीन नेपाली कविताको भिडमा पृथक् वैचारिक निष्ठा र तीव्र मानवीय संवेदना बोकेका सशक्त हस्ताक्षर हुन्—कवि दीपेन्द्र आचार्य। बजारद्वारा गाँजिएको आधुनिक युगमा मानवीय अस्तित्व र पहिचानको खोजी गर्दै ‘व्यापार पृथ्वीको’ काव्यिक कोसेलीमार्फत उनी यसै बजारमा आइपुगेका छन्।
इन्डिगो इन्कद्वारा २०८२ भदौमा प्रकाशित आचार्यको यो कृति केवल शब्दहरूको सजावट मात्र होइन। यसले आफ्नो पहिचान र समाजलाई नयाँ दृष्टिले हेर्ने प्रयत्न गरेको छ। विशेषगरी नेपाली समाजमा गहिरोगरी बसेको जातीय पहिचान तथा विश्व–मानवको चेतनाबीचको द्वन्द्वलाई उजागर गर्ने सशक्त सामाजिक र सांस्कृतिक दस्तावेजका रूपमा यसले आफूलाई स्थापित गरेको छ।
कवि आचार्यले समाजमा सदियौँदेखि निर्मित कृत्रिम जातीय श्रेणीक्रम र सङ्कीर्णतामाथि सशक्त प्रहार गरेका छन्। सङ्ग्रहको केन्द्रीय महत्त्वको कविता ‘तिमी र म’ मा उनले जैविक समानता र सामाजिक विभेदबीचको खाडललाई यथार्थपरक ढङ्गले उतारेका छन्। मानिसको नाकको उचाइ र आँखाको बनोटको भिन्नता देखाएर, पानी खाने पँधेराहरू छुट्याएर जसरी विगतको विभेदकारी सत्ताले उत्पीडनको संस्थागत संरचना खडा गर्यो, त्यसका विरुद्ध कविको तीव्र असहमति छ। दृष्टि, बास्ना, सास र मनको कुनै जात वा भूगोल हुँदैन भन्दै कविले जन्मजात रूपमा प्राप्त हुने मानव पहिचान सर्वोपरि भएको घोषणा गरेका छन्।
त्यसैगरी, ‘ईश्वर–१’ र ‘घाउ’ कवितामा जातीय पहिचानका नाममा सीमान्तकृत पारिएका भुइँमान्छेहरूको पीडा मुखरित छ। दलितको घर जलाइँदा मूकदर्शक बन्ने राज्यसत्ता र चुनावमा भोट बैङ्कका रूपमा मात्र प्रयोग गरिने उत्पीडित जातिको पहिचानलाई कविले करुण तर विद्रोही चेतका साथ प्रस्तुत गरेका छन्। समाजका डरपोक तत्त्वहरूले सिर्जना गरेको जातीय पर्खाललाई भत्काउनु नै समकालीन कविताको मुख्य धर्म हो भन्नेमा कवि दृढ देखिन्छन्।
कवि आचार्य जातीय पहिचानको कुरा गर्दा सङ्कुचित साम्प्रदायिकतामा फस्दैनन्, बरु बहुजातीय र बहुसांस्कृतिक नेपालको सुन्दरतालाई साझा पहिचानका रूपमा उत्सवमय ढङ्गले स्वीकार्छन्। ‘हामी’ र ‘ए घाम ! नअस्ताउनू तिमी’ जस्ता कविताहरूमा उनले नेपालको भौगोलिक र सांस्कृतिक विविधतालाई एकीकृत रूपमा प्रस्तुत गरेका छन्। मुन्धुम, वेद, त्रिपिटक, गीता, बाइबल र कुरानजस्ता ग्रन्थहरू तथा सुम्निमा–पारुहाङ, शिव–पार्वती र बुद्धजस्ता दार्शनिक एवं सांस्कृतिक प्रतीकहरू कुनै एउटा जातिको मात्र नभएर सिङ्गो नेपालीका साझा गौरव हुन् भन्ने उनको मत छ। विविधताभित्रको यो अन्तर्सम्बन्ध नै नेपाली हुनुको वास्तविक पहिचान हो।
‘मेरो बेगोनिया’ र ‘पशुपतिनगरको न्यानो घाम’ कवितामा पनि यो सांस्कृतिक समन्वय स्पष्ट देखिन्छ; जहाँ सिमाना र राष्ट्रियताले भूगोल बाँडिए तापनि साझा घाम, बुद्धको शान्ति सन्देश र आत्मीयताले मानव जातिलाई एउटै सूत्रमा बाँधिरहेको हुन्छ।
समग्र कृतिको शीर्षक बोकेको कविता ‘व्यापार पृथ्वीको’ एक सशक्त र गम्भीर सामाजिक–राजनीतिक व्यङ्ग्यप्रधान कविता हो। यसले आधुनिक मानवको चरम स्वार्थ, चरम व्यापारीकरण र आदर्शको स्खलनमाथि तीखो प्रहार गरेको छ। कविले बाहिर एउटा र भित्र अर्कै रूप बोकेका खर्बुजाजस्ता कपटी मानिसहरू, क्रान्तिका नाममा सपना बेच्ने राजनीतिक व्यापारी अनि सर्वसाधारणको बाध्यता तथा पसिनाको शोषण गर्ने प्रवृत्तिको जीवन्त चित्रण गरेका छन्।
पृथ्वी, चन्द्रमा, मङ्गल ग्रह र यहाँसम्म कि महान् विचार तथा दर्शनहरूलाई समेत मानिसले कसरी आफ्नो व्यापारिक स्वार्थ र कित्ताकाटको साधन बनाएको छ भन्ने कुरालाई कवितामा प्रतीकात्मक रूपमा मिहीन ढङ्गले उतारिएको छ। मानिसमा मानवीय संवेदना र मुटु हराएर ढुङ्गा, पत्थर मात्र बाँकी रहेको उनको बुझाइ छ। मानिसले आफ्नो स्वार्थका लागि सिङ्गो जीवन्त पृथ्वीको हत्या गर्दै प्लास्टिकको झोलामा हालेर प्रकृति र अस्तित्वकै व्यापार गरिरहेको तीतो यथार्थलाई कविले यस उत्कृष्ट रचनामार्फत उजागर गरेका छन्।
यस सङ्ग्रहको अर्को बलियो पाटो भनेको रैथाने जातीय एवं सांस्कृतिक पहिचानलाई आधुनिक उपभोक्तावादी बजारले कसरी कुरूप बनाउँदै छ भन्ने तथ्यको उद्घाटन गर्नु हो। ‘व्यापार’ र ‘काँच’ शृङ्खलाका कविताहरूमा आजको मानिस आफ्नो आदिम रैथाने मूल्य, पसिनाको गन्ध र श्रमको इतिहास बिर्सेर पोस्टमोडर्न (उत्तरआधुनिक) बन्ने होडमा कस्मेटिक र नक्कली आवरणमा बाँचेको सत्य उजागर गरिएको छ। ‘भाइरल’ र ‘फलेदो’ कवितामा कविले फेसबुक, टिकटक र रिल्सभित्र हराउँदै गएको मानिसको नक्कली भर्चुअल पहिचानमाथि कडा व्यङ्ग्य गरेका छन्।
आफ्नो माटो, रैथाने बाजाहरू डम्फु, च्याब्रुङ, मादल र ढुङ्गेधाराको मौलिक सुगन्ध छोडेर हरियो पासपोर्ट बोकी खाडी र युरोप पलायन हुन विवश युवाहरूको नियतिमार्फत कविले देशको पहिचान कसरी काँचजस्तै नाजुक र फुट्ने अवस्थामा पुगेको छ भन्ने विवशतालाई ‘युवा’ र ‘डोजर’ कवितामार्फत मार्मिक रूपमा समेटेका छन्।
अन्ततः दीपेन्द्र आचार्यको ‘व्यापार पृथ्वीको’ ले मानिसलाई काल्पनिक भूगोल वा कृत्रिम पहिचानको भ्रमबाट मुक्त हुन आग्रह गर्छ। ‘भुइँमान्छे’ कवितामा भनिएझैँ मानिसको वास्तविक र स्वच्छ पहिचान तारा वा जूनमा होइन, आफ्नै धर्तीको खेत–खलिहान, पसिना र सिङ्गो प्रकृतिसँग एकाकार भएर बाँच्नुमा मात्र हुन्छ। जातीय पहिचानलाई निषेधको राजनीति बनाउनु हुँदैन, बरु यसलाई सांस्कृतिक समृद्धिको आधार बनाएर विराट् मानव पहिचानतर्फ उन्मुख गराउनुपर्छ भन्ने सन्देश दिनु नै यस कृतिको सबैभन्दा अब्बल पक्ष हो।
विचार र शिल्पको यो दुर्लभ सङ्गमका लागि कवि दीपेन्द्र आचार्य र प्रकाशक इन्डिगो इन्कलाई बधाई !
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण