विश्वकपमा तेस्रो स्थानको भिडन्तः थोमस टुचेललाई किन छ अर्थपूर्ण ?
सारांश
- विश्वकप २०२६ को तेस्रो स्थानको खेलमा इङ्गल्यान्डले फ्रान्सको सामना गर्दैछ, जुन प्रशिक्षक थोमस टुचेलका लागि निकै महत्त्वपूर्ण मानिएको छ ।
- अर्जेन्टिनासँगको सेमिफाइनलमा पराजित भएपछि टुचेलको व्यापक आलोचना भएको छ र यो खेलले उनको भविष्यमाथि केही हदसम्म प्रभाव पार्नेछ ।
- यदि इङ्गल्यान्डले फ्रान्सलाई हराउन सक्यो भने यो सन् १९६६ पछिको विश्वकपमा इङ्गल्यान्डको सबैभन्दा उत्कृष्ट नतिजा हुनेछ र टुचेलमाथिको दबाब कम हुनेछ ।
काठमाडौँ । विश्वकप २०२६ को तेस्रो स्थानका लागि नेपाली समय अनुसार आइतबार बिहान पौने ३ बजे इङ्गल्यान्डले फ्रान्सको सामना गर्दैछ ।
मियामीमा हुने यो खेललाई धेरैले एउटा सामान्य औपचारिकता मात्र माने पनि यो इङ्गल्यान्डको प्रतिष्ठा र प्रशिक्षक थोमस टुचेलको भविष्यका लागि निकै महत्त्वपूर्ण मानिएको स्काइ स्पोर्ट्समा छापिएको एउटा विश्लेषणमा उल्लेख गरिएको छ ।
इङ्गल्यान्डले हाल विश्व फुटबलका शीर्ष तीन टोलीहरूसँग लगातार तीन खेल खेल्ने अभूतपूर्व चुनौतीको सामना गरिरहेको छ। यो खेलले इङ्गल्यान्डले यस विश्वकपलाई कसरी बिदाइ गर्छ भन्ने मात्र निर्धारण गर्ने छैन, यसले थोमस टुचेलको अङ्ग्रेजी फुटबलको भविष्य पनि केही हदसम्म निर्धारण गर्नेछ ।
अर्जेन्टिनासँगको सेमिफाइनलमा बेहोरेको पराजयपछि थोमस टुचेलको व्यापक आलोचना भइरहेको छ। १–० को अग्रता लिएर पनि रक्षात्मक रणनीति अपनाएको र पाँचौं तथा छैटौँ डिफेन्डर मैदानमा उतारेर खेल जोगाउन खोज्दा इङ्गल्यान्ड पराजित भएको भन्दै टुचेललाई 'भिलेन' बनाइएको छ।
यहाँसम्म कि अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले समेत टुचेलको रक्षात्मक रणनीतिको आलोचना गर्दै आफ्ना उत्कृष्ट खेलाडीलाई रक्षापंक्तिमा राखेको भन्दै टिप्पणी गरेका छन् ।
फुटबल संघ अझै पनि टुचेलको पक्षमा उभिएको छ भने टुचेल स्वयंले सन् २०२८ को युरोकपसम्म आफ्नो प्रतिबद्धता रहेको बताएका छन् । तर, अङ्ग्रेजी मिडिया र समर्थकहरूले उनलाई निकै दबाबमा राखेका छन् । पूर्वकप्तान ग्यारी नेभिल र अन्य समीक्षकहरूले टुचेलको रणनीतिलाई 'पुरानै असफल कथाको पुनरावृत्ति' भनेका छन्।
उसो त टुचेलले हारको दोष आफ्नो रणनीतिलाई नभई अङ्ग्रेजी खेलाडीहरूको बल होल्ड गर्न नसक्ने 'डीएनए'लाई दिएका छन्, जसले थप विवाद सिर्जना गरेको छ । रिपोर्टहरूका अनुसार टोलीका केही वरिष्ठ खेलाडीहरू समेत टुचेलको निर्णयबाट अचम्मित र असन्तुष्ट छन् । उनीहरूले अर्जेन्टिनासँगको खेललाई विश्वकप फाइनल पुग्ने अहिलेसम्मकै उत्कृष्ट अवसर गुमेको रूपमा लिएका छन् ।

फ्रान्स यो विश्वकपको मुख्य दाबेदार थियो, तर सेमिफाइनलमा स्पेनसँग अप्रत्याशित रूपमा पराजित भयो । केलियन एमबाप्पे, माइकल ओलिसे र ओसमान डेम्बेलेजस्ता विश्वस्तरीय खेलाडीहरू भएको फ्रान्सविरुद्ध यदि इङ्गल्यान्डले सचेत भएर खेलेन भने यो खेल हार मात्र नभएर टुचेलका लागि लज्जास्पद हुन सक्छ ।
यदि इङ्गल्यान्डले फ्रान्सलाई हराउन सक्यो भने यो सन् १९६६ पछिको विश्वकपमा इङ्गल्यान्डको सबैभन्दा उत्कृष्ट नतिजा हुनेछ । यसले टोलीको गिरेको मनोबललाई उच्च बनाउनेछ र टुचेलमाथिको नकारात्मकतालाई केही हदसम्म कम गर्नेछ।
समयको अभाव र खेलाडीहरूको थकानका कारण टुचेलले फ्रान्सविरुद्धको खेलमा टोलीमा व्यापक परिवर्तन गर्ने सम्भावना छ । जोर्डन पिकफोर्डको ठाउँमा डिन हेन्डरसन आउन सक्छन् भने मार्कस रासफोर्ड, बुकायो साका, नोनी माडुइके र एबेरेची एजे जस्ता खेलाडीहरूले सुरुवाती मौका पाउन सक्छन् ।
टुचेललाई 'सिरियल विनर' र नकआउट विशेषज्ञको रूपमा इङ्गल्यान्डलाई दोस्रो पटक विश्वविजेता बनाउन नियुक्त गरिएको थियो । तर, विश्वका नम्बर १ र नम्बर ३ टोलीसँग लगातार हार बेहोर्नुले उनको क्षमतामाथि प्रश्न उठ्ने निश्चित छ ।
यसैगरी सेप्टेम्बरमा वेम्बलीमा स्पेनसँग हुने खेलअघि फ्रान्ससँगको यो नतिजाले टुचेलको भविष्यको दिशा तय गर्नेछ । सन् १९९० र २०१८ मा तेस्रो स्थानको खेल गुमाएको इङ्गल्यान्ड यसपटक पराजयको 'ह्याट्रिक' बाट जोगिने र सुखद अन्त्य गर्ने प्रयासमा हुनेछ ।
ऐतिहासिक रूपमा विश्वकपमा यी दुई टोली तीन पटक भेट भएका छन्, जसमा इङ्गल्यान्डले सन् १९६६ र १९८२ मा जित निकालेको थियो भने सन् २०२२ को क्वार्टरफाइनलमा फ्रान्सले इङ्गल्यान्डलाई हराएको थियो ।
ओप्टा सुपरकम्प्युटरको प्रक्षेपण अनुसार यसपटक फ्रान्स जितको बलियो दाबेदार देखिएको छ । २७ हजार ५ सय पटक गरिएको खेलको सिमुलेसनमा फ्रान्सको जित्ने सम्भावना ५०.७ प्रतिशत देखिएको छ भने इङ्गल्यान्डको जित्ने सम्भावना मात्र २५.६ प्रतिशत छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
मुक्ति घोषणा भएको चार वर्ष: हरवाचरवा समुदाय पहिचानबाट वञ्चित
-
पशुपति क्षेत्रमा सरसफाइ
-
हामी फाइनल खेल्न चाहन्थ्यौँ, यो खेल कोही खेल्न चाहँदैनन्: इङ्गल्यान्डका प्रशिक्षक टुचेल
-
१२ बजे १२ समाचार: अरूलाई न्याय दिने अदालत आफैँ अन्यायमा, सञ्चालनमा आउँदै नागढुंगा सुरुङमार्ग
-
जोर्डनमा इरानी आक्रमण: दुई अमेरिकी सैनिकको मृत्यु, एक बेपत्ता
-
जङ्गली च्याउ खाएर बिरामी भएका एक जनाको मृत्यु
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण