मङ्गलबार, ०५ साउन २०८३
ताजा लोकप्रिय

जलवायु स्मार्ट कृषि विस्तारको लागि अन्तर्राष्ट्रिय सहयोग आवश्यक : मन्त्री चौधरी

सोमबार, ०४ साउन २०८३, १३ : ३९
सोमबार, ०४ साउन २०८३

सारांश

  • कृषि, वन तथा पर्यावरणमन्त्री गीता चौधरीले नेपालमा जलवायु स्मार्ट कृषि विस्तारका लागि अन्तर्राष्ट्रिय सहयोग आवश्यक रहेको बताएकी छन् ।
  • सरकारले कृषि क्षेत्रलाई आधुनिकीकरण, व्यवसायीकरण र जलवायु-स्मार्ट प्रविधिको माध्यमबाट रूपान्तरण गर्ने लक्ष्य राखेको छ ।
  • मन्त्री चौधरीले कृषि उपजको निर्यातमा समस्या रहेको र यसका लागि आधुनिक परीक्षण प्रयोगशालाको निर्माणलाई सरकारले प्राथमिकतामा राखेको बताइन् ।

काठमाडौँ । कृषि, वन तथा पर्यावरणमन्त्री गीता चौधरीले नेपालमा जलवायु स्मार्ट कृषि विस्तारको लागि अन्तर्राष्ट्रिय सहयोग आवश्यक रहेको बताएकी छन् । नेपाल कृषि खाद्य प्रणाली सुदृढीकरण परियोजनाको प्रारम्भ कार्यशालालाई सम्बोधन गर्दै उनले यस्तो बताएकी हुन् । 

उनले कृषि क्षेत्रलाई आधुनिकीकरण, व्यवसायीकरण र जलवायु–स्मार्ट प्रविधिमार्फत रूपान्तरण गर्ने सरकारको लक्ष्य रहेको बताइन् । यी लक्ष्य हासिल गर्न चीन सरकार, सिडका, एफएओ तथा अन्य विकास साझेदारको सहयोग आवश्यक रहेको बताइन् । उनले अन्तर्राष्ट्रिय साझेदारीमा आधुनिक पूर्वाधारको निर्माण गरी कृषि उत्पादनमा वृद्धि, खाद्य सम्प्रभुता सुनिश्चित गर्ने तथा दिगो मूल्य शृङ्खला विकास गर्ने बताइन् ।

उनले नेपालको कृषि क्षेत्र न्यून उत्पादकत्व, जलवायु परिवर्तनका बढ्दो असर, प्राकृतिक विपद्, कृषिमा आश्रित युवा जनशक्तिको वैदेशिक पलायन, आधुनिक प्रविधि तथा बजारसम्मको सीमित पहुँचजस्ता संरचनागत चुनौतीबाट प्रभावित रहेको उल्लेख गरिन् ।

अन्तर्राष्ट्रिय मान्यता प्राप्त परीक्षण प्रयोगशालाको अभावका कारण नेपाली कृषि उपजको निर्यातमा समेत समस्या भएको उनले बताइन् । उनले आधुनिक परीक्षण प्रयोगशालाको निर्माण र विस्तारलाई पनि सरकारले प्राथमिकतामा राखेको जानकारी दिइन् ।

उनले भनिन्, ‘कृषि क्षेत्र नेपालको अर्थतन्त्रको मेरुदण्ड मात्र नभई हाम्रो बहुसङ्ख्यक जनसमुदायको जीविकोपार्जन, संस्कृति र पहिचानको आधार हो । तर आज हाम्रो कृषि क्षेत्रले न्यून उत्पादकत्व र जलवायु परिवर्तनका गम्भीर र बढ्दो जोखिम, प्राकृतिक विपद् र कृषिमा आश्रित युवा जनशक्तिको वैदेशिक पलायन तथा आधुनिक प्रविधि र बजारसम्मको सीमित पहुँच जस्ता जटिल संरचनागत चुनौतीको सामना गरिरहेको छ ।’ 

उनले थप भनिन्, ‘नेपालका अन्तर्राष्ट्रिय मान्यता प्राप्त आधुनिक परीक्षण प्रयोगशालाको अभाव हुँदा कृषि उपजको निर्यात प्रवर्द्धनमा समस्या भइराखेको छ । यी चुनौतीहरूलाई अवसरमा रूपान्तरण गर्दै कृषि क्षेत्रको दिगो विकास र खाद्य सम्प्रभुता सुनिश्चित गर्न नेपाल सरकारले कृषिको आधुनिकीकरण, व्यवसायीकरण, यान्त्रीकरण तथा आधुनिक परीक्षण प्रयोगशालाको निर्माण एवं दायरा विस्तारलाई आफ्नो उच्च नीतिगत प्राथमिकता राखेको छ र नवप्रवर्तन र जलवायु स्मार्ट प्रविधिको अधिकतम उपयोगमार्फत उत्पादन वृद्धि गर्ने दिगो मूल्य शृङ्खला विकास गर्ने, महिला तथा सीमान्तकृत समुदायको सशक्तीकरण गर्दै समावेशी आर्थिक वृद्धि हासिल गर्ने हाम्रो प्रमुख राष्ट्रिय लक्ष्य हो । यस लक्ष्यमा चीन सरकार र सिडका तथा एफएओ लगायतका दातृ राष्ट्र एवं संस्थाहरूबाट सहयोगको अपेक्षा गर्दछु ।’

उनले चीन सरकार, चाइना इन्टरनेसनल डेभलपमेण्ट कोअपरेशन एजेन्सी (सिडका) र संयुक्त राष्ट्रसङ्घीय खाद्य तथा कृषि सङ्गठन (एफएओ) को सहयोगमा सुरु भएको नेपाल कृषि खाद्य प्रणाली सुदृढीकरण परियोजना सरकारको कृषि आधुनिकीकरण, व्यवसायीकरण र दिगो विकाससम्बन्धी राष्ट्रिय प्राथमिकतासँग प्रत्यक्ष रूपमा जोडिएको बताइन् ।

उनले चीनसँग नेपालको सम्बन्ध ऐतिहासिक, सौहार्दपूर्ण र समस्यारहित रहेको उल्लेख गर्दै कृषि आधुनिकीकरण र गरिबी न्यूनीकरणमा चीनले हासिल गरेको अनुभव नेपालका लागि उपयोगी हुने बताइन् । ज्ञान, प्रविधि र असल अभ्यासको आदान–प्रदानले कृषि क्षेत्रको रूपान्तरणमा महत्त्वपूर्ण भूमिका खेल्ने उनको भनाइ छ । 

 

 

 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप