मङ्गलबार, ०५ साउन २०८३
ताजा लोकप्रिय

जन्तर मन्तरबाट ककरोच जनता पार्टीका प्रदर्शनकारी हटाइए, प्रहरीद्वारा लाठीचार्ज

सोमबार, ०४ साउन २०८३, १८ : ४६
सोमबार, ०४ साउन २०८३

सारांश

  • भारतको नयाँ दिल्लीस्थित जन्तर मन्तरमा आन्दोलनरत ककरोच जनता पार्टी (सीजेपी)का प्रदर्शनकारीहरूलाई प्रहरीले बल प्रयोग गरी हटाएको छ ।
  • प्रहरीले प्रदर्शनस्थलको मञ्च र पालहरू हटाउनुका साथै प्रदर्शनकारीमाथि लाठीचार्जसमेत गरेको छ ।
  • सीजेपीका प्रतिनिधिहरूले भारतीय जनता पार्टीका नेता जेपी नड्डासँग भेटघाट गरेका छन्, जसले कुनै कारबाही नहुने आश्वासन दिएका छन् ।

काठमाडाैँ। भारतको नयाँ दिल्लीस्थित जन्तर मन्तरमा आन्दोलनरत ककरोच जनता पार्टी (सीजेपी)का प्रदर्शनकारीहरूलाई प्रहरीले बल प्रयोग गरी हटाएको छ ।

प्रहरीले प्रदर्शनस्थलको मञ्च खाली गराउनुका साथै त्यहाँ राखिएका पालहरू समेत हटाइदिएको छ । जन्तर मन्तरबाट हटाइएका प्रदर्शनकारीहरू कनोट प्लेस पुगेपछि प्रहरीले उनीहरूलाई त्यहाँबाट पनि लखेटेको छ । यस क्रममा प्रहरीले प्रदर्शनकारीमाथि लाठीचार्जसमेत गरेको छ । 

यसैबिच सीजेपीले आफ्ना नेता अभिजित दिपकेलाई प्रहरीले हिरासतमा लिएको दाबी गरेको थियो । यद्यपि, पछि प्रहरी र सीजेपी दुवैले उक्त दाबीको खण्डन गरेका छन् । सोमबार बिहान ८ बजेदेखि सुरु भएको प्रदर्शनका क्रममा प्रहरी र प्रदर्शनकारीबिच भएको झडप तथा प्रहरीको लाठीचार्जमा परी कयौँ प्रदर्शनकारी घाइते भएका छन् । 

बिहान १० बजेतिर प्रदर्शनकारीहरू प्रहरीले राखेको ब्यारिकेड तोडेर संसद् भवनतर्फ अघि बढेपछि स्थिति थप तनावपूर्ण बनेको थियो । प्रहरीको अवरोधका बाबजुद प्रदर्शनकारीहरू संसद् भवनको नजिकै पुगेका थिए।

प्रदर्शनकारीहरूले संसद् भवनभित्र प्रवेश गर्ने प्रयास गरेपछि संसद्को सुरक्षा व्यवस्था कडा पारिनुका साथै मुख्य प्रवेशद्वार बन्द गरिएको थियो । 

भिडलाई नियन्त्रणमा लिन प्रहरीले अश्रुग्यासका गोला प्रहार गरेको थियो । प्रहरीको बल प्रयोगपछि प्रदर्शनकारीहरू तितरबितर भएका थिए । संसद् बाहिर यो तनाव भइरहँदा भित्र प्रधानमन्त्री र सांसदहरू उपस्थित थिए ।

यसै घटनाक्रमबिच सीजेपीका प्रतिनिधिहरूले भारतीय जनता पार्टीका नेता जेपी नड्डासँग भेटघाट गरेका छन् । प्रतिनिधिमण्डलका अनुसार नड्डाले जन्तर(मन्तर र त्यस आसपासका क्षेत्रमा अब उपरान्त कुनै कारबाही नहुने आश्वासन दिएका छन्।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

एजेन्सी
एजेन्सी
लेखकबाट थप