विद्युत् नियमन आयोगको अध्यक्षमा पुनः डा.धिताल नियुक्त
सारांश
- सरकारले विद्युत् नियमन आयोगको अध्यक्षमा डा.रामप्रसाद धिताललाई पुनः नियुक्त गरेको छ ।
- खुल्ला प्रतिस्पर्धाबाट पुनः अध्यक्षमा नियुक्त भएका डा.धितालले आफ्नो नियुक्तिपछि नियामक निकायको जिम्मेवारीलाई थप प्रभावकारी बनाउन लागिपर्ने बताए ।
- ऊर्जा क्षेत्रमा करिब २५ वर्षभन्दा बढी अनुभव सँगालेका डा.धितालले यसअघि वैकल्पिक ऊर्जा प्रवर्द्धन केन्द्रको कार्यकारी निर्देशक र आयोगको सदस्य भई काम गरिसकेका छन् ।
काठमाडौँ । सरकारले विद्युत् नियमन आयोगको अध्यक्षमा डा.रामप्रसाद धिताललाई पुनः नियुक्त गरेको छ । बुधबार बसेको मन्त्रिपरिषद्को बैठकले उनलाई आयोगको अध्यक्षमा नियुक्त गर्ने निर्णय गरेको हो ।
धितालले सरकारले नियुक्त गरेको खबर भर्खरै प्राप्त गरेको जानकारी दिए । काठमाडौँ विश्वविद्यालयमा अतिथि प्राध्यापक र संसद्को पूर्वाधार विकास समितिमा ऊर्जा सल्लाहकारको रूपमा समेत योगदान दिएका धितालबाट अब पुनः विद्युत् व्यापार, अन्तर्देशीय विद्युत् व्यापारको नियमन र ऊर्जा क्षेत्रको सुशासन प्रवर्द्धनमा ठोस काम हुने अपेक्षा गरिएको छ ।
बिहीबार पदभार ग्रहण गर्ने तयारीमा रहेका धितालले आफ्नो नियुक्तिपछि संक्षिप्त प्रतिक्रिया दिँदै आफू नियामक निकायको जिम्मेवारीलाई थप प्रभावकारी बनाउन लागिपर्ने बताए ।
सरकारले ल्याएको अध्यादेशका कारण पदमुक्त भएका धिताल पुनः खुल्ला प्रतिस्पर्धाबाट अध्यक्षमा नियुक्त भएका हुन् । धिताल यसअघि २०८१ असार ७ गते खुला प्रतिस्पर्धाबाट अध्यक्ष नियुक्त भएका थिए । ऊर्जा क्षेत्रमा करिब २५ वर्षभन्दा बढी अनुभव सँगालेका डा.धितालको व्यक्तिगत र व्यावसायिक पृष्ठभूमि निकै सबल रहेको छ ।
को हुन धिताल ?
डा.धिताल शैक्षिक रूपमा उच्च दक्ष र प्रशिक्षित विज्ञ हुन् । उनले त्रिभुवन विश्वविद्यालय, इन्जिनियरिङ अध्ययन संस्थान (पुल्चोक क्याम्पस) बाट सन् १९९७ मा सिभिल इन्जिनियरिङमा स्नातक गरेका थिए ।
उनले जर्मनीको ओल्डेनवर्ग विश्वविद्यालयबाट सन् २००२ मा नवीकरणीय ऊर्जा इन्जिनियरिङमा स्नातकोत्तर र सन् २०१९ मा पुल्चोक क्याम्पसबाटै सोही विधामा विद्यावारिधि (पीएचडी) हासिल गरेका छन् ।
उनले इटालीको फ्लोरेन्स स्कुल अफ रेगुलेसनबाट विद्युत् प्रणालीको नियमन, अमेरिकाको फ्लोरिडा विश्वविद्यालयबाट सेवा प्रदायकको नियमन तथा रणनीति र स्विडेनको लन्ड विश्वविद्यालयबाट दिगो विकासका लागि ऊर्जा र लगानी सम्बन्धी उच्चस्तरीय तालिमहरू समेत लिएका छन् ।
डा.धितालको व्यावसायिक यात्रा नेपालको ऊर्जा क्षेत्र सुधारमा केन्द्रित छ । उनी विगतमा वैकल्पिक ऊर्जा प्रवर्द्धन केन्द्रको कार्यकारी निर्देशकका रूपमा ४ वर्ष कार्यरत रहे । उनको कार्यकालमा नेपालभर १० लाखभन्दा बढी घरधुरीमा नवीकरणीय ऊर्जा प्रविधिको पहुँच पुर्याउन सफल भएको मानिन्छ ।
आयोगको स्थापनाकालमा सदस्यको रूपमा २ वर्ष काम गरेका धिताल पछि खुला प्रतिस्पर्धाबाट अध्यक्ष बनेका थिए । उनको नेतृत्वमा आयोगको प्रशासनिक, आर्थिक र खरिद विनियमावलीहरू निर्माण हुनुका साथै स्थायी कर्मचारी संरचनाको विकास भयो ।
विद्युत् बजार सुधार, खुला पहुँच, महसुल निर्धारण र प्रसारण शुल्क जस्ता जटिल विषयमा उनले महत्त्वपूर्ण भूमिका खेलेका छन् । उनले नेपालबाहेक अफगानिस्तान, यमन र दक्षिण प्रशान्त महासागरका टापु राष्ट्रहरू (भानुअटु) मा ऊर्जा नीति र ग्रामीण विद्युतीकरणको क्षेत्रमा नेतृत्वदायी भूमिका निर्वाह गरेका छन् ।
एसियाली विकास बैंक, विश्व बैंक, संयुक्त राष्ट्रसंघ र अन्तर्राष्ट्रिय सौर गठबन्धन जस्ता संस्थाहरूमा वरिष्ठ परामर्शदाताको रूपमा काम गरेको अनुभव उनीसँग छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
वैदेशिक व्यापारमा नयाँ रेकर्ड, तर व्यापार घाटा झण्डै १८ खर्ब
-
राजेश हमालकाे प्रश्न : देशको शासन प्रणाली ‘हिट एन्ड मिस’ को भरमा सञ्चालन गर्नु कत्तिको बुद्धिमानी हो ?
-
चालु आव ‘कानुन निर्माण तथा सुधार वर्ष’ घोषणा, उच्चस्तरीय समिति गठन
-
नेदरल्यान्ड्सविरुद्ध नेपाल १५७ रनमै अलआउट, फेरि धर्मरायो ब्याटिङ
-
कर अधिकृतलाई अर्थमन्त्रीको सम्बोधन– ‘८ खर्ब तपाईंहरूको लक्ष्य हो, बजेटको स्कीमबाट १ खर्ब उठाउनुस्’
-
कांग्रेसको आधिकारिकता विवाद पुनः सर्वोच्चमा
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण