शुक्रबार, ०८ साउन २०८३
ताजा लोकप्रिय

अमेरिकाको वासिङ्टन तट नजिक समुद्री विमान दुर्घटना

सवार सबै ११ जनाको उद्धार
शुक्रबार, ०८ साउन २०८३, १३ : ४४
शुक्रबार, ०८ साउन २०८३

सारांश

  • अमेरिकाको वासिङ्टन राज्यको तटीय क्षेत्रमा केनमोर एयरको समुद्री विमान आकस्मिक अवतरणपछि आगलागी भएको छ ।
  • विमानमा सवार पाइलट र १० जना यात्रुसहित सबै ११ जनाको सकुशल उद्धार गरिएको छ ।
  • दुर्घटनामा चार जना यात्रु घाइते भएका छन्, जसमध्ये एक जनाको अवस्था गम्भीर छ ।

वासिङ्टन डीसी । अमेरिकाको वासिङ्टन राज्यको तटीय क्षेत्रमा एउटा समुद्री विमान (सीप्लेन) आकस्मिक अवतरणपछि आगलागी भएको छ । विमानमा सवार सबै ११ जनाको सकुशल उद्धार गरिएको छ ।

अमेरिकी कोस्ट गार्डका अनुसार केनमोर एयरको उक्त विमान सान जुआन टापु समूहअन्तर्गत सुसिया टापुनजिकको नर्थ बीच शालो बे क्षेत्रमा आपत्कालीन अवतरण गरेको थियो । अवतरण लगत्तै विमानमा आगलागी भएको थियो ।

विमानमा एक जना पाइलट र १० जना यात्रु सवार थिए । दुर्घटनापछि अमेरिकी कोस्ट गार्ड, अमेरिकी नौसेना, क्यानडाली कोस्ट गार्ड तथा स्थानीय निकायले संयुक्त रूपमा खोज तथा उद्धार अभियान सञ्चालन गरेका थिए । 

उद्धार गरिएका यात्रुमध्ये चार जनालाई गम्भीर चोटपटक लागेकाले अस्पताल भर्ना गरिएको छ । स्थानीय अधिकारीहरूका अनुसार एक जनाको अवस्था गम्भीर रहेको छ भने अन्य घाइतेहरूको टाउकोमा चोट, हड्डी भाँचिएको तथा शरीरमा गहिरा घाउ लागेको छ ।

दुर्घटनाको कारण भने हालसम्म खुल्न सकेको छैन । केनमोर एयरका अनुसार उक्त फ्लोटप्लेन सियाटलस्थित लेक युनियनबाट साँझ ४ः३० बजे उडेको थियो र करिब १०० माइल टाढाको रोश हार्बरतर्फ जाँदै गर्दा उडान भरेको करिब ४५ मिनेटपछि दुर्घटनामा परेको हो । 

घाइतेमध्ये दुई जनालाई बेलिङ्घामस्थित अस्पताल र अन्य दुई जनालाई सियाटलस्थित अस्पतालमा उपचारका लागि लगिएको छ । बाँकी सात यात्रुलाई स्वास्थ्य परीक्षणका लागि अमेरिकी कोस्ट गार्डको आधार शिविरमा पुर्याइएको छ ।

केनमोर एयरका प्रमुख कार्यकारी अधिकृत डेभिड गुडजेलले सबै यात्रु र पाइलटको सकुशल उद्धार भएकोमा राहत व्यक्त गर्दै अहिले घाइतेहरूको उपचार र आवश्यक सहयोग उपलब्ध गराउनु नै कम्पनीको पहिलो प्राथमिकता रहेको बताएका छन् । 

दुर्घटनाको अनुसन्धानमा सम्बन्धित निकायसँग पूर्ण सहयोग गरिरहेको र पुष्टि भएका जानकारी क्रमशः सार्वजनिक गरिने उनले बताए । 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

एजेन्सी
एजेन्सी
लेखकबाट थप