शुक्रबार, ०८ साउन २०८३
ताजा लोकप्रिय
४८औँ पुष्पलाल स्मृति दिवस

नेपाललाई भूराजनीतिक भुमरीमा धकेल्ने जोखिम छ : प्रदीप ज्ञवाली

शुक्रबार, ०८ साउन २०८३, १४ : २०
शुक्रबार, ०८ साउन २०८३

सारांश

  • पूर्वउपमहासचिव प्रदीप ज्ञवालीले संविधान संशोधनका नाममा सत्तापक्षले गरिरहेका काम कारबाहीले मुलुकलाई भूराजनीतिक भुमरीमा धकेल्ने जोखिम रहेको बताएका छन् ।
  • उनले संविधान संशोधनका नाममा भएका कामहरूले मुलुकलाई अप्ठेरो अवस्थामा लगेको र उपलब्धिहरू धरापमा परेको बताए ।
  • ज्ञवालीले पश्चिमाको भ्रमण, फ्रि तिब्बत गतिविधि र प्रधानमन्त्रीले भारतको जमिन मिचेको भनेका लगायतका घटनाक्रमलाई भूराजनीतिक जोखिममा धकेल्ने प्रयासका रूपमा बुझ्न सकिने बताए ।

काठमाडौँ । नेकपा एमालेका पूर्वउपमहासचिव प्रदीप ज्ञवालीले संविधान संशोधनका नाममा सत्तापक्षले गरिरहेका काम कारबाहीले मुलुकलाई भूराजनीतिक भुमरीमा धकेलिने जोखिम रहेको बताएका छन् । 

शुक्रबार ४८औँ पुष्पलाल स्मृति दिवसको सन्दर्भमा पुष्पलाल मित्रता केन्द्रले आयोजना गरेको ‘वर्तमान राजनैतिक परिस्थितिमा वामपन्थी दलहरूको भूमिका’ विषयक बिचार गोष्ठीमा बोल्दै ज्ञवालीले यस्तो बताएका हुन् । 

‘संविधान संशोधनका नाममा आज जे हुँदैछ, फन्डामेन्टल कुराहरूलाई नै कैँची लगाउने काम भएको छ । यसले मुलुकलाई अत्यन्तै अप्ठेरो अवस्थामा लगेको छ भनेर बुझ्न सकिन्छ’, ज्ञवालीले भने, ‘उपलब्धिहरू धरापमा परेको भनेर बुझ्नुपर्छ ।’

त्यस्तै उनले शक्ति सन्तुलन प्रतिकूल भएको भन्दै संविधान निर्माणमा मुख्य भूमिका खेल्ने तीन वटा पार्टी सबै मिल्दा पनि प्रतिनिधि सभामा सत्तापक्षलाई रोक्न सक्ने क्षमता नभएको बताए । 

‘राष्ट्रिय सभा छ, तर जनता सजग नहुने हो भने प्रतिगामी संशोधन रोक्न सकिँदैन’, उनले भने, ‘भूराजनीतिक भुमरीमा धकेल्ने पश्चिमाको भ्रमण, फ्रि तिब्बत गतिविधि र प्रधानमन्त्रीले संसदमा उभिएर नेपालले भारतको जमिन मिचेको छ भनेका लगायत घटनाक्रमलाई भूराजनीतिक जोखिममा धकेल्ने प्रयासका रूपमा बुझ्न सकिन्छ’, उनले भने, ‘नागरिकका अधिकार लगातार खोसिँदै गएका छन् ।’

मुलुकका साझा मुद्दामा कम्युनिस्टहरू एक भएर र सहकार्यको हात अघि बढाएर मात्र प्रतिवाद गर्न सकिने पूर्वमन्त्री ज्ञवालीको भनाइ छ ।

सङ्कट कम्युनिस्ट आन्दोलनको मात्र नभएर मुलुककै भएकाले ज्ञवालीले सकेसम्म सहकार्यका लागि नेपाली कांग्रेसलाई समेत जोड्न प्रयत्न गर्नुपर्ने धारणा राखे ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप