अमेरिकी आणविक वैज्ञानिक र रक्षा कम्पनीका इमेल रुसी ह्याकरहरूको निशानामा
सारांश
- अमेरिका र उसका सहयोगी देशहरूले रुसी ह्याकरहरूले अमेरिकी आणविक वैज्ञानिक, रक्षा कम्पनी र सरकारी कर्मचारीहरूको इमेल प्रणालीलाई लक्षित गरेको नयाँ चेतावनी जारी गरेका छन् ।
- यो साइबर जासुसी अभियान करिब एक वर्षदेखि जारी छ र ह्याकरहरूले आणविक फ्युजन प्रविधिमा विशेष चासो देखाएको अनुसन्धानकर्ताहरूले बताएका छन् ।
- ह्याकरहरूले दुर्लभ सफ्टवेयर कमजोरी प्रयोग गरी पीडितको इमेल प्रणालीमा क्लिक नगरीकनै पहुँच प्राप्त गर्न सक्ने बताइएको छ ।
वासिङ्टन डीसी । अमेरिका र उसका सहयोगी देशहरूले रुसी साइबर गुप्तचरी गतिविधिबारे नयाँ चेतावनी जारी गरेका छन् । उनीहरुले साे चेतावनी जारी गर्दै रुसी ह्याकरहरूले अमेरिकी आणविक वैज्ञानिक, रक्षा उद्योगसँग सम्बन्धित कम्पनी तथा सरकारी कर्मचारीहरूको इमेल प्रणालीलाई लक्षित गरेको बताएका हुन् ।
निजी साइबर सुरक्षा कम्पनीहरू र विभिन्न गुप्तचर निकायका अनुसार यो साइबर जासुसी अभियान करिब एक वर्षदेखि जारी छ । इमेल सुरक्षा कम्पनी प्रुफपोइन्टका अनुसार ह्याकरहरूले अमेरिकाका आणविक अनुसन्धान केन्द्र तथा रक्षा उद्योगसँग सम्बन्धित संस्थाहरूको इमेल सर्भरलाई निशाना बनाएका थिए ।
अनुसन्धानकर्ताहरूका अनुसार उनीहरूको विशेष चासो आणविक फ्युजन प्रविधिमा रहेको देखिएको छ । यसको उद्देश्य रुसबाहेक अन्य देशहरूले यस क्षेत्रमा गरेका प्रगतिबारे जानकारी सङ्कलन गर्नु हुनसक्ने अनुमान गरिएको छ ।
अमेरिका तथा एक दर्जनभन्दा बढी सहयोगी देशका गुप्तचर र सुरक्षा निकायहरूले संयुक्त रूपमा जारी गरेको चेतावनीमा रुसी ह्याकरहरूले युक्रेनमा साइबर आक्रमणका नयाँ तरिका परीक्षण गरेपछि त्यही प्रविधि नाटो सदस्य राष्ट्रहरूविरुद्ध प्रयोग गर्न थालेको उल्लेख गरिएको छ । अधिकारीहरूका अनुसार यदि थप पीडितहरू पहिचान भए भने ह्याकरहरूले कति संवेदनशील जानकारी हात पारे भन्ने मूल्याङ्कन गर्न सहज हुनेछ ।
चेतावनीअनुसार ह्याकरहरूले निकै दुर्लभ प्रकारको सफ्टवेयर कमजोरी (एक्स्प्लोइट) प्रयोग गरेका थिए । यसमा पीडितले कुनै लिङ्कमा क्लिक गर्न आवश्यक पर्दैन, केवल कमजोर इमेल प्रणालीमा आएको इमेल खोल्नासाथ आक्रमण सफल हुनसक्छ । यस विधिबाट ह्याकरहरूले करिब तीन महिनासम्मका पीडितका इमेल आदानप्रदान तथा सम्बन्धित संस्थाको सम्पूर्ण इमेल निर्देशिका चोरी गर्न सक्ने बताइएको छ ।
अमेरिकी ऊर्जा विभाग अन्तर्गत आणविक ऊर्जा अनुसन्धान गर्ने धेरै प्रयोगशालाहरू सञ्चालनमा छन् । यसबारे तत्काल कुनै प्रतिक्रिया दिइएको छैन । अमेरिकी एफबीआई र राष्ट्रिय सुरक्षा एजेन्सी (एनएसए) ले पनि जारी चेतावनीबारे तत्काल थप टिप्पणी गर्न असमर्थ रहेको बताएका छन् । वासिङ्टनस्थित रुसी दूतावासले पनि यस विषयमा कुनै प्रतिक्रिया दिएको छैन ।
अमेरिका र उसका सहयोगी देशहरूका अनुसार सङ्घीय तथा स्थानीय सरकार, कानुन कार्यान्वयन निकाय, रक्षा, शिक्षा र ऊर्जा क्षेत्रका संस्थाहरू यस साइबर अभियानको निशानामा परेका थिए । साइबर सुरक्षा कम्पनी पालो आल्टो नेटवर्क्सकाे युनिट ४२ का अधिकारीहरूले रुसी ह्याकरहरूको मुख्य उद्देश्य पश्चिमी देशहरूको सैन्य सूचना, रसद व्यवस्था तथा नीतिगत निर्णयबारे रणनीतिक जानकारी सङ्कलन गर्नु रहेको बताएका छन् ।
सरकारी चेतावनीमा रुसी साइबर समूहहरूले पहिले युक्रेनलाई प्राथमिक लक्ष्य बनाउने र त्यहीँ आफ्ना साइबर आक्रमणका नयाँ प्रविधि परीक्षण गरेपछि विश्वका अन्य देशमा प्रयोग गर्ने प्रवृत्ति बढ्दै गएको उल्लेख गरिएको छ । यसअघि भएका सफल आक्रमणका आधारमा पश्चिमी देशका इमेल प्रणालीहरू भविष्यमा पनि उनीहरूको निशानामा पर्ने सम्भावना रहेको बताइएको छ ।
बेलायतका सुरक्षा मन्त्री ड्यान जार्भिसले रुसी ह्याकरहरूले युक्रेनमा आफ्ना तरिका परीक्षण गरेर पछि नाटो सदस्य राष्ट्रहरूलाई निशाना बनाएको तथ्य अत्यन्त चिन्ताजनक भएको बताएका छन् । यसैबिच थाइल्यान्डका अधिकारीहरूले गत नोभेम्बरमा उक्त साइबर समूहका एक सन्दिग्ध रुसी सदस्यलाई पक्राउ गरेका थिए । उनलाई अमेरिकामा सुपुर्दगी गरिएपछि गत महिना बोस्टनको अदालतमा पहिलो पटक उपस्थित गराइएको थियो ।
एफबीआईको साइबर विभागका सहायक निर्देशक ब्रेट लेदरम्यानका अनुसार सन् २०२२ मा युक्रेनमाथि रुसले पूर्ण आक्रमण सुरु गरेपछि केही समय साइबर गतिविधि कम देखिए पनि पछिल्लो करिब एक वर्षयता अमेरिकालाई लक्षित गर्दै रुसी साइबर आक्रमणहरू फेरि उल्लेखनीय रूपमा बढेका छन् ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
वर्तमान सरकारविरूद्ध चारैतिरबाट घेरा हालाैँ : प्रचण्ड
-
पश्चिम एसियाको द्वन्द्वबारे नेपालको धारणा यथावत, वार्ता र कूटनीतिबाट समाधानको आग्रह
-
धनुषामा गोली चल्याे, दुई जना पक्राउ
-
रवि लामिछानेको प्रस्तावित चीन भ्रमणबारे के भन्छ परराष्ट्र मन्त्रालय ?
-
विदेशीलाई खुसी पार्न गलत कुरा स्वीकार गर्ने प्रवृत्ति रोकौँ : पूर्वप्रधानमन्त्री नेपाल
-
नयाँ राजदूत नियुक्त गर्न नसकेको सरकार पुरानाको म्याद थपेर काम चलाउँदै
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण