शनिबार, ०९ साउन २०८३
ताजा लोकप्रिय
प्रदेश सरकार

कर्णालीमा कचिङ्गल : एमाले अझै केन्द्र कुर्दै, नेकपा र कांग्रेस स्वायत्तताका गफ दिँदै

शनिबार, ०९ साउन २०८३, ०८ : ३७
शनिबार, ०९ साउन २०८३

सारांश

  • केन्द्रमा नेकपा र एमालेबीच प्रदेश सत्ता समीकरणबारे औपचारिक निर्णय नआउँदा कर्णालीमा अन्योल छ ।
  • कांग्रेस र नेकपाले मुख्यमन्त्री यामलाल कँडेलविरुद्ध अविश्वासको प्रस्ताव दर्ता गराएका छन्, जसको छलफल आज प्रदेश सभामा हुँदैछ ।
  • एमाले केन्द्रको निर्णय कुरेर बसेको छ भने नेकपाले भने अविश्वासको प्रस्तावको पक्षमा मतदान गर्ने निर्णय गरिसकेको छ ।

सुर्खेत । केन्द्रमा नेपाली कम्युनिस्ट पार्टी र नेकपा एमालेबिच प्रदेश सत्ता समीकरण हुने भनिए पनि हालसम्म त्यसको औपचारिक कुनै निर्णय आएको छैन । भित्रभित्र एमाले र नेकपाबिच प्रदेशको सत्ता भागबन्डा भइसकेको चर्चा पनि गरे पनि त्यसको निर्णय हालसम्म कुनै पनि दलका प्रदेश कमिटी र संसदीय दलमा आएको छैन ।

यसले प्रदेशमा अन्योल सिर्जना भइरहेको छ । यद्यपि कर्णालीमा नेपाली कांग्रेस र नेकपाले एमाले संसदीय दलका नेता समेत रहेका मुख्यमन्त्री यामलाल कँडेलविरुद्धको सत्ता समीकरणमा तलमाथि नहुने दाबी गरिसकेका छन् ।

असार ३२ गते बिहीबार कांग्रेस—नेकपाले मुख्यमन्त्रीविरुद्ध अविश्वासको प्रस्ताव दर्ता गराएका थिए । उक्त अविश्वासको प्रस्तावमाथि शनिबार (आज) प्रदेश सभामा छलफल हुने छ । त्यसका लागि दिउँसो ३ बजे प्रदेश बैठक बोलाइएको छ ।

यद्यपि मुख्यमन्त्री कँडेलले अहिलेसम्म राजीनामा दिन्छन् वा विश्वासको मतको सामना गर्छन् कुनै निर्णय गरेका छैनन् । एमाले केन्द्रमा नेकपासँग समीकरण हुने कुरा भइरहेकाले प्रतीक्षा गरिरहेको छ । 

यद्यपि नेकपाले भने बिहीबार दलको बैठक बसेर मुख्यमन्त्री कँडेलविरुद्ध दर्ता गरिएको अविश्वासको प्रस्तावको पक्षमा मतदान गर्ने निर्णय नै गरिसकेको छ । यो बिचमा कर्णालीको राजनीतिक घटनाक्रम कसरी अघि बढ्छ ? आमा चासोको विषय बनेको छ ।

नेकपा संसदीय दलका प्रमुख सचेतक कृष्णबहादुर जिसीले शनिबार मुख्यमन्त्री कँडेलको सत्ता ढल्ने बताउँछन् ।

‘हिजो हाम्रो दलले जे निर्णय गर्‍यो, त्यही यथावत् तरिकाले अगाडि बढिरहेको छ,’ उनले भने, ‘माथिबाट अहिलेसम्म केही निर्णय पनि आएको छैन, छलफल हुन्छ । छलफल त गगन थापासँग पनि भइरहेको छ नि, केपी ओलीसँग पनि भइरहेको छ । छलफल हुने कुरा आफ्नो ठाउँमा छ ।’ तर केन्द्रमा भएका छलफलबाट कर्णाली प्रदेश प्रभावित नहुने उनले स्पष्ट पारे ।

उनले अगाडि थपे, ‘आज संसद् हो, त्यो संसद् बैठकबाट नयाँ मुख्यमन्त्री बन्नुहुन्छ, अब त्यो त तोकिसक्यो । कार्यसूची तोकेपछि अब त्यहाँबाट पर जाने सुविधा छैन ।’

उनले नेकपामा माथिबाट कुनै निर्णय नआउने बताए ।

‘तपाईँ अरू सबै प्रदेशमा हेर्नुस् न, समीकरण गर्नलाई अरू सबै प्रदेशको अवस्था कस्तो छ, स्थिति कस्तो छ, सबै हिसाबले हो नि त,’ उनले थपे ।

कँडेलविरुद्ध अविश्वासको प्रस्ताव गर्दा कांग्रेस संसदीय दलका नेता जीवनबहादुर शाहीलाई मुख्यमन्त्रीका लागि प्रस्ताव गरिएको छ । कांग्रेस संसदीय दलका प्रमुख सचेतक हिक्मतबहादुर विष्टले पनि अहिलेसम्म नेकपा आफ्नो अडानमा यथावत् रहेको दाबी गरे ।

‘उनीहरू आफ्नो वचनमा प्रतिबद्ध छन्, अडिग छन्, अहिलेसम्म उनीहरू आफ्नो कदममा पछाडि नहट्ने, हामी प्रतिबद्ध छौँ भनेका छन्,’ उनले भने, ‘निर्णय पनि गरिसकेका छन् ।’

नेकपाले माथिबाट जे आए पनि हामी संघीयताको अभ्यास अनुसार स्वायत्तता प्रयोग गर्ने भनेर भनेको पनि विष्टले बताए ।

उने अगाडि भने, ‘संवैधानिक रूपले हामी चाहिँ स्वतन्त्र छौँ, हाम्रै तरिकाले गर्छौँ भन्नु भएको छ ।’ नेकपा आफ्नो स्टेपबाट पछि नहट्नेमा कांग्रेस विश्वस्त रहेको पनि उनले बताए ।

सोही अनुसार, दुवै दलका नेताबिच भेटघाट भइरहेको पनि विष्टले बताए ।

कर्णालीमा सत्ता बनाउन २० सिट आवश्यक हुन्छ, जो कांग्रेस—नेकपा मिल्दा स्पष्ट बहुमत आउँछ ।

तर सरकारका प्रवक्ता तथा एमाले नेता विनोदकुमार शाह भने आफूहरू केन्द्रकै निर्णय कुरेर बसेको बताए ।

‘हामी माथिको निर्णय कुरेर बसेका छौँ, सामान्य छलफल यहाँ पनि भइरहेका छन्,’ उनले भने ।

नेकपाले मुख्यमन्त्रीविरुद्धको प्रस्तावको पक्षमा मतदान गर्ने निर्णय नै गरिसक्यो नि भन्ने प्रश्नमा उनले भने, ‘नेकपाले निर्णय गरेको छ, स्वायत्तता प्रयोग गर्छौँ भनेर उनीहरूले संविधानतः भनेका छन् । तर कति हदसम्म गर्छन् ? विगतमा माथिकै नीति, निर्देशन मान्दै आएको देखिन्छ, सबै पार्टीले ।’

यदि केन्द्रमा एमाले—नेकपाबिच समीकरण बने नेकपा कर्णालीले त्यो मान्ने कुरामा आफू विश्वस्त रहेको पनि शाहले बताए ।

उनले थपे, ‘पार्टीको निर्देशन अनुसार नेकपा–एमालेबिचको कुरा इग्नोर गरेर उहाँहरू उता नेकपा–काङ्ग्रेसबिच समीकरण सोच्नुहुन्छ भन्ने मलाई विश्वास लागेको छैन ।’

निर्णय गरे पनि अन्तमा माथिबाट निर्णय आएपछि नेकपाले माथिकै निर्णय मान्ने पनि उनले बताए ।

हाल काठमाडौँमा रहेका एमाले कर्णाली प्रदेश अध्यक्ष गुलाबजंग शाहले पनि केन्द्रमा एमाले—नेकपाबिच समीकरण बन्ने अन्तिम तयारी भइरहेको बताए ।

‘केन्द्रमा समीकरण बनेपछि कर्णालीमा नेकपाले नमान्ने भन्ने हुँदैन,’ शाहले भने ।

तर नेकपाको प्रदेश कमिटीदेखि संसदीय दल भने कँडेलविरुद्ध एक ठाउँमा भएकाले एमालेको प्रतीक्षा खेर जाने बताउँछन्, नेकपाका नेताहरू ।

नेकपा संसदीय दलका नेता भन्छन्—प्रदेश सरकारका लागि मात्रै भागबण्डा मान्नुपर्छ भन्ने छैन

यता नेकपा संसदीय दलका नेता मंगलबहादुर शाहीले शनिबार संसद बैठक बोलाइसकेकाले आफ्नो दल यसअघि कै निर्णयमा अडिग रहेको बताए ।

उनका अनुसार, यदि कम्युनिस्ट आन्दोलनलाई मजबुत बनाउने उद्देश्यसहित हो भने सहकार्य गर्नैपर्छ । तर, केवल प्रदेश सरकारको भागबण्डा मात्रै हो भने त्यसलाई कर्णाली नेकपाले नमान्ने उनको भनाइ छ ।

‘हाम्रो पार्टी केन्द्रले पनि यहाँ प्रदेशको आवश्यकता र यहाँको राजनीतिक शक्ति सन्तुलनलाई हेरेर मात्रै अन्तिम निर्णय लिन्छ नै,’उनले भने, ‘अर्को हामी केन्द्रले गर्ने भागबण्डाको मात्रै पछि लाग्नु हुँदैन । केन्द्रमा एउटा निर्णय हुने र प्रदेशमा त्यसको असरले अस्थिरता निम्त्याउने परिपाटीले संघीयतालाई कमजोर बनाउँछ ।’

आफ्नो दल यसअघिकै निर्णयमा अडिग रहेकाले मुख्यमन्त्रीले शनिबार राजीनामा दिने वा असफलताको ट्याग भिर्ने उनमा निर्भर रहेको पनि उनले बताए ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप