अमेरिकाको टेक्सासमा आईसीईको गोलीबाट मारिएका आप्रवासीका छोराहरूको पीडा : ‘हाम्रा बुबाका लागि न्याय चाहिन्छ’
सारांश
- अमेरिकाको टेक्सासस्थित ह्युस्टनमा भएको एक घटनामा अध्यागमन अधिकारीको गोली लागेर मारिएका आप्रवासी लोरेन्जो सालगाडो अराउजोका छोराहरूले पारदर्शी र निष्पक्ष छानबिनको माग गरेका छन् ।
- उनीहरूले आफ्ना बुबाले परिवारको सुरक्षा र पालनपोषणका लागि जीवनभर कडा मेहनत गरेको र सामाजिक सञ्जालबाटै बुबाको मृत्युको खबर थाहा पाउनु अत्यन्त पीडादायी भएको बताएका छन् ।
- स्थानीय सरकारी वकिलले आईसीईले अनुसन्धानमा सहयोग नगरेको आरोप लगाएका छन् भने प्रत्यक्षदर्शीले अधिकारीहरूको दाबीमाथि प्रश्न उठाएका छन् ।
टेक्सास । अमेरिकी अध्यागमन अधिकारीको गोली लागेर ज्यान गुमाएका एक आप्रवासीका दुई छोराले घटनाको पारदर्शी र निष्पक्ष अनुसन्धान गर्न माग गरेका छन् । उनीहरूले भावुक हुँदै आफ्ना बुबाले परिवारको सुरक्षा र पालनपोषणका लागि जीवनभर अथक मेहनत गरेको बताएका छन् ।
शुक्रबार टेक्सासको ह्युस्टनमा अमेरिकी कांग्रेसका डेमोक्रेटिक सांसदहरूको उपस्थितिमा आयोजित सुनुवाइमा लोरेन्जो सालगाडो अराउजोका छोराहरूले आफ्नो परिवारले भोगिरहेको पीडालाई “काफ्काको दुःस्वप्नजस्तै अनुभव“ भनेर वर्णन गरे । उनीहरूका अनुसार आफ्ना बुबाको मृत्युबारे पहिलो पटक फेसबुकमार्फत जानकारी पाउनु अत्यन्त पीडादायी थियो ।
एसोसिएटेड प्रेसका अनुसार उनीहरूले तयार पारिएको वक्तव्यमा भनेका छन्, 'उहाँले हाम्रो परिवारको सुरक्षा गर्न र पालनपोषण गर्न जीवनभर कडा मेहनत गर्नुभयो । उहाँले हामीलाई मेहनत गर्ने मानिसले अन्ततः राम्रो फल पाउँछ भन्ने शिक्षा दिनुभयो ।'
सामान्य ट्राफिक जाँचका क्रममा गोली प्रहार ५२ वर्षीय लोरेन्जो सालगाडो अराउजोको जुलाई १३ मा अमेरिकी अध्यागमन तथा भन्सार प्रवर्तन निकाय (आईसीई) का एजेन्टहरूले ट्राफिक जाँचका क्रममा गोली हानी हत्या गरेका थिए । त्यसपछि हजारौँ ह्युस्टनवासी सडकमा उत्रिएर न्यायको माग गर्दै प्रदर्शन गरेका थिए ।
परिवारका अनुसार सालगाडो अराउजो मेक्सिकन मूलका आप्रवासी थिए । उनी कानुनी हैसियतबिना ३० वर्षभन्दा बढी समयदेखि अमेरिकामा बस्दै आएका थिए । परिवारले उनी आईसीईको उक्त कारबाहीको वास्तविक लक्ष्य नै नभएको जनाएको छ ।
सुनुवाइमा उनका छोरा रोनाल्डो सालगाडोले भने, 'हाम्रो बुबामाथि गोली चलेको कुरा पनि मैले फेसबुकमार्फत नै थाहा पाएँ । मैले उहाँलाई देखेर होइन, सामाजिक सञ्जालमा सार्वजनिक भएका भिडियोमा सहायता माग्दै गरेको उहाँको आवाज सुनेर त्यो पुष्टि गरेको थिएँ ।'
स्थानीय सरकारी वकिलको आरोप– आईसीईले सहयोग गरेन
ह्यारिस काउन्टीका जिल्ला सरकारी वकिल सन टिअरले सुनुवाइमा गृह सुरक्षा मन्त्रालय (डीएचएस) ले घटनासम्बन्धी आवश्यक सूचना र प्रमाण उपलब्ध गराउन आफ्नो बारम्बारको अनुरोध बेवास्ता गरेको आरोप लगाए ।
उनका अनुसार गोली चलाउने आईसीई एजेन्टको नामदेखि अन्य प्रमाणसम्म उपलब्ध गराइएको छैन, जसले अनुसन्धानमा बाधा पुगेको छ ।
प्रत्यक्षदर्शीले सरकारी दाबीमाथि प्रश्न उठाए
ट्राफिक जाँचका क्रममा सालगाडो अराउजोका दाजुसहित अन्य तीन जना यात्रुलाई आईसीईले नियन्त्रणमा लिएको थियो ।
सुरुमा अधिकारीहरूले सालगाडो अराउजोले आफ्नो सवारीसाधनलाई सुरक्षाकर्मीमाथि हतियारका रूपमा प्रयोग गर्न खोजेको दाबी गरेका थिए । तर घटनाका बेला आईसीई एजेन्टहरूले बडी क्यामेरा लगाएका थिएनन् र प्रत्यक्षदर्शीहरूले सरकारी दाबीको खण्डन गरेका छन् ।
कांग्रेसमा अनुसन्धानको तयारी
डेमोक्रेटिक सांसदहरूले नोभेम्बरमा हुने मध्यावधि निर्वाचनपछि कांग्रेसमा आफ्नो नियन्त्रण कायम भए आईसीईको गतिविधिमाथि विस्तृत अनुसन्धान गर्ने र आवश्यक कानुनी सुधार ल्याउने संकेत दिएका छन् ।
सुनुवाइमा बोल्दै डेमोक्रेटिक सांसद क्रिस्टियन मेनेफीले आईसीईलाई अहिलेको स्वरूपबाट पूर्ण रूपमा पुनर्गठन गर्नुपर्ने बताए ।
उनले भने, 'आईसीईलाई पूर्ण रूपमा पुनर्निर्माण गरेर मानिसको सम्मान र मर्यादालाई केन्द्रमा राख्ने निकाय बनाउन आवश्यक छ ।'
यद्यपि उनले वर्तमान प्रशासनको कार्यकालमा यस्तो परिवर्तन सम्भव नरहेको टिप्पणी पनि गरे ।
लगातार भइरहेका राज्यका हिंश्रक गतिविधिले बढायो विवाद
सालगाडो अराउजोको मृत्यु भएको एक साताभित्रै मेन राज्यको बिडिफोर्डमा आईसीई एजेन्टहरूले जोआन सेबास्टियन डुरान गुरेरो नामका कोलम्बियाली आप्रवासीलाई पनि गोली हानी हत्या गरेका थिए ।
यसअघि यसै वर्ष मिनियापोलिसमा संघीय अध्यागमन एजेन्टहरूको कारबाहीका क्रममा दुई अमेरिकी नागरिकको छुट्टाछुट्टै घटनामा मृत्यु भएपछि देशव्यापी आक्रोश र प्रदर्शन चर्किएको थियो ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
नेपालको समृद्धिका लागि एनआरएनए र पत्रकारबिच बलियो सहकार्य आवश्यक : रोविन शेरचन
-
सांसदहरूलाई स्वकीय सचिव नियुक्ति गर्ने निर्णयका विरुद्ध प्रदर्शन (तस्बिरहरू)
-
हरिशयनी एकादशी : नारायण मन्दिरमा बिहानैदेखि भक्तजनको घुइँचो
-
हरियो साउनको गहिरो आस्था
-
फ्रान्स–स्पेनमा डढेलोः एक लाख ६० हजारभन्दा बढी विस्थापित
-
देशमा निरङ्कुश प्रवृत्ति देखा पर्यो, एक पटक पुनः सङ्घर्ष गर्न आवश्यक छ : प्रचण्ड
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण