१०८ वर्ष पुरानो गणितीय प्रश्न सुल्झाउँदै चिनियाँ गणितज्ञले रचे इतिहास
सारांश
- विश्व गणितको सबैभन्दा प्रतिष्ठित पुरस्कार मानिने फिल्ड्स मेडल पहिलो पटक दुई चिनियाँ गणितज्ञ होङ वाङ र यु देङले जितेका छन् ।
- होङ वाङले जापानी गणितज्ञ सोइची काकेयाले सन् १९१७ मा उठाएको पेन्सिल घुमाउँदा न्यूनतम कति क्षेत्रफल ओगट्छ भन्ने प्रश्नको समाधान गरेकी हुन् ।
- यु देङले सन् १९०० मा डेभिड हिल्बर्टले उठाएको समग्र प्रणालीको व्यवहारलाई सूक्ष्म कणहरूको गतिमा व्याख्या गर्ने ऐतिहासिक गणितीय समस्याको समाधान प्रस्तुत गरेका हुन् ।
बेइजिङ । विश्व गणितको सबैभन्दा प्रतिष्ठित पुरस्कार मानिने ‘फिल्ड्स मेडल’ पहिलो पटक दुई चिनियाँ गणितज्ञले जितेका छन् ।
चिनियाँ सरकारी सञ्चारमाध्यमका अनुसार गणितज्ञ होङ वाङ र यु देङले अमेरिकाका जोन पार्डन र क्यानडाका ज्याकन सिमरम्यानसँगै यो सम्मान प्राप्त गरेका हुन् ।
उनीहरूले जनही १५ हजार क्यानडेली डलर (करिब ११ लाख ६० हजार नेपाली रुपैयाँ) पुरस्कार प्राप्त गरेका छन् । एक शताब्दीभन्दा बढी समयदेखि गणितज्ञहरूलाई चुनौती दिँदै आएका जटिल समस्याहरू समाधान गरेबापत उनीहरूलाई यो सम्मान प्रदान गरिएको हो । ३५ वर्षीया होङ वाङ फिल्ड्स मेडल प्राप्त गर्ने इतिहासकी तेस्री महिला पनि बनेकी छन् ।
गणित क्षेत्रको ‘नोबेल पुरस्कार’ मानिने फिल्ड्स मेडल बिहीबार अमेरिकामा आयोजित समारोहमा प्रदान गरिएको हो । कृत्रिम बुद्धिमत्ता (एआई)ले मानव गणनात्मक क्षमतामाथि चुनौती खडा गरिरहेका बेला यो सम्मान प्रदान गरिनुलाई विशेष अर्थपूर्ण मानिएको छ ।
- चीनभर उत्साह
यो उपलब्धिपछि चिनियाँ सामाजिक सञ्जालमा व्यापक उत्साह देखिएको छ । ‘फिल्ड्स मेडल’ र ‘फर्स्ट चाइनिज म्याथम्याटिसियन्स टु विन फिल्ड्स मेडल’ जस्ता ह्यासट्यागहरू वेइबोदेखि रेडनोटसम्मका प्लेटफर्ममा लाखौँ पटक हेरिएका छन् ।
एक वेइबो प्रयोगकर्ताले लेखेका छन्, ‘यो सम्पूर्ण चिनियाँ जनताको गौरव हो ।’
अर्कोले प्रतिक्रिया दिएका छन्, ‘हामी इतिहास बनिरहेको क्षणका साक्षी बनिरहेका छौँ ।’
चिनियाँ सञ्चारमाध्यमहरूले पनि दुवै गणितज्ञको शैक्षिक यात्रा, व्यक्तिगत रुचि र उनीहरूको उपलब्धिले चीनको गणित समुदायमा पारेको प्रभावबारे विस्तृत समाचार प्रकाशित गरेका छन् ।
पहिलो चिनियाँ मूलका फिल्ड्स मेडल विजेता शिङ–तुङ याउले भने, ‘चीनको गणित समुदायका लागि यो दशकौँदेखि पूरा हुने आशा गरिएको सपना थियो ।’
- १०८ वर्ष पुरानो समस्याको समाधान
होङ वाङले आफ्ना सहकर्मी जोश जाहलसँग मिलेर जापानी गणितज्ञ सोइची काकेयाले सन् १९१७ मा उठाएको प्रसिद्ध गणितीय प्रश्नको समाधान प्रस्तुत गरेकी हुन् ।
प्रश्न थियो, यदि एउटा पेन्सिललाई पूरै एक फन्को घुमाइयो भने त्यसले न्यूनतम कति क्षेत्रफल ओगट्छ ?
वाङ र जाहलले पेन्सिल समथर सतहमा नभई त्रिआयामिक (थ्री–डाइमेन्सनल) अन्तरिक्षमा रहेको मान्यताका आधारमा यस समस्याको विश्लेषण गरे । उनीहरूको अनुसन्धान गत वर्ष प्रकाशित भएको थियो ।
एएफपीसँग कुरा गर्दै वाङले भनिन्, ‘यो अनुमानले मानिसहरूलाई यति धेरै आकर्षित गर्नुको कारण के हो भने, यस्तै प्रकारका घटनाहरू गणितमा मात्र होइन, धेरै फरक–फरक वैज्ञानिक क्षेत्रमा पनि स्वाभाविक रूपमा देखिन्छन् ।’
- अर्को शताब्दी पुरानो समस्याको पनि समाधान
३७ वर्षीय यु देङ, जो अमेरिकाको युनिभर्सिटी अफ शिकागोमा गणितका प्राध्यापक हुन्, उनलाई अर्को ऐतिहासिक गणितीय समस्या समाधान गरेबापत सम्मानित गरिएको हो ।
सन् १९०० मा जर्मन गणितज्ञ डेभिड हिल्बर्टले उठाएको प्रश्न (पछि ‘हिल्बर्टको छैटौँ समस्या’का रूपमा प्रसिद्ध)मा एउटा समग्र प्रणालीको व्यवहारलाई त्यसका सूक्ष्म कणहरूको गतिका आधारमा कसरी व्याख्या गर्न सकिन्छ भन्ने विषय उठाइएको थियो ।
देङले ग्यासको व्यवहारको अध्ययन गर्दै उक्त समस्याको समाधान प्रस्तुत गरेका हुन् । उनले भने, ‘जुन महान् गणितज्ञहरूको म सधैँ प्रशंसक थिएँ, उनीहरूको सूचीमा आफ्नो नाम पनि समावेश हुन पाउनु मेरा लागि अत्यन्त ठूलो सम्मान हो ।’
होङ वाङले भने हार्मोनिक विश्लेषण अर्थात् तरङ्गहरूको गति र व्यवहारसम्बन्धी गणितीय अध्ययनमा उल्लेखनीय योगदान दिएकी छन् ।
- के हो फिल्ड्स मेडल ?
फिल्ड्स मेडल हरेक चार वर्षमा ४० वर्षभन्दा कम उमेरका उत्कृष्ट गणितज्ञहरूलाई प्रदान गरिन्छ । यसलाई गणित क्षेत्रको सबैभन्दा प्रतिष्ठित अन्तर्राष्ट्रिय सम्मान मानिन्छ ।
- चीनमा जन्म, विदेशमा उच्च शिक्षा
सन् १९९१ मा चीनको दक्षिणी गुआङ्सी क्षेत्रको पर्यटकीय सहर गुइलिनमा जन्मिएकी होङ वाङले प्राथमिक विद्यालयमा दुई कक्षा ‘स्किप’ गरेकी थिइन् । उनी १६ वर्षको उमेरमा सन् २००७ मा चीनको प्रतिष्ठित पेकिङ विश्वविद्यालयमा भर्ना भएकी थिइन् ।
सुरुमा उनले भू–विज्ञान अध्ययन गरे पनि एक वर्षपछि गणित विभागमा सरिन् । स्नातकपछि उनले फ्रान्सको पेरिस–सुद विश्वविद्यालय र एकोल पोलिटेक्निकमा अध्ययन गरिन् तथा अमेरिकाको म्यासाचुसेट्स इन्स्टिच्युट अफ टेक्नोलोजी (एमआईटी)बाट विद्यावारिधि (पीएचडी) पूरा गरिन् ।
हाल उनी अमेरिकाको न्युयोर्क विश्वविद्यालय र फ्रान्सको इन्स्टिच्युट दे ओत एतुद साइन्टिफिक (आईएचईएस)मा स्थायी प्राध्यापकका रूपमा कार्यरत छिन् ।
पदक प्राप्त गरेपछि फ्रान्सका राष्ट्रपति इमानुएल म्याक्रोँले उनलाई फोन गरेर बधाई दिएका थिए । सामाजिक सञ्जाल एक्समा म्याक्रोँले लेखेका छन्, ‘उहाँ हाम्रो अनुसन्धान र उच्च शिक्षाको उत्कृष्टताको प्रतीक हुनुहुन्छ । विज्ञानका लागि फ्रान्स रोज्नुहोस् ।’
यु देङले भने प्राथमिक विद्यालयदेखि नै गणित प्रतियोगितामा भाग लिन थालेका थिए । उनी पनि सन् २००७ मा पेकिङ विश्वविद्यालयमा भर्ना भएका थिए, तर सन् २००९ मा एमआईटीमा स्थानान्तरण भएका थिए । उनले प्रिन्स्टन विश्वविद्यालयबाट विद्यावारिधि गरेपछि सन् २०२४ देखि युनिभर्सिटी अफ शिकागोमा अध्यापन गरिरहेका छन् ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
१ प्रतिक्रिया
भर्खरै
-
डा.केसीका माग सन्दर्भमा संवादमार्फत यथाशीघ्र सहमतिमा पुग्न प्रतिबद्ध छौँ : शिक्षामन्त्री
-
गण्डकी संसद्ले पारित गरेको गाँजा विधेयक प्रदेश प्रमुखले फर्काइदिए
-
प्रवासको पत्रकारितालाई मर्यादित बनाउन ‘टोकियो घोषणापत्र’ कोसेढुङ्गा सावित हुन्छ : रवीन्द्र श्रेष्ठ
-
नेपाल स्काउटका निर्वाचित समितिहरू विघटनप्रति आपत्ति
-
डा.केसीका मागलाई हदैसम्मको संवेदनशीलताका साथ समाधान गर्न सङ्घको आग्रह
-
कँडेलले भने- तपाईं पहल गर्नुस् म तयारै छु भनेकै हो
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण