मङ्गलबार, १२ साउन २०८३
ताजा लोकप्रिय

अङ्ग्रेज फौज पराजित भएको ऐतिहासिक स्थलमा भारतीय पत्रकारको भ्रमण

मङ्गलबार, १२ साउन २०८३, ०८ : २२
मङ्गलबार, १२ साउन २०८३

सारांश

  • भारतीय पत्रकारहरूको २३ सदस्यीय टोलीले रुपन्देही र पाल्पाका ऐतिहासिक सम्पदा स्थलहरूको भ्रमण गरेको छ ।
  • पत्रकारहरूले पाल्पाको नुवाकोट गढी, रुपन्देहीको मणिमुकुन्दसेन उद्यान र बुटवलको जितगढी किल्लाको अवलोकन गरेका छन् ।
  • नेपाल-अंग्रेज युद्धमा नेपाली सेनाको विजयगाथाबारे जानकारी पाउँदा भारतीय पत्रकारहरू प्रभावित भएका छन् ।

बुटवल । अङ्ग्रेज फौजलाई पराजित गरेको इतिहास बोकेका रुपन्देही र पाल्पाका विभिन्न ऐतिहासिक सम्पदा स्थलमा भारतीय पत्रकारहरूको २३ सदस्यीय प्रतिनिधिमण्डलले स्थलगत भ्रमण गरेको छ ।

भारतका विभिन्न सञ्चार गृहमा कार्यरत पत्रकारहरूको टोलीले पाल्पाको नुवाकोट गढी, रुपन्देहीको मणिमुकुन्दसेन उद्यान तथा बुटवलस्थित ऐतिहासिक जितगढी किल्लाको भ्रमण गरेको हो ।

जि न्यूज टेलिभिजन भारतका वरिष्ठ संवाददाता तथा महाराजगन्ज प्रेस क्लब, उत्तर प्रदेशका अध्यक्ष अमित त्रिपाठीको नेतृत्वमा आएको टोलीले नेपाल–भारतबिचको ऐतिहासिक सम्बन्धसँग जोडिएका महत्त्वपूर्ण स्थलहरूको अवलोकन गरेको हो ।

टोलीमा जि न्यूजका वरिष्ठ संवाददाता अमित त्रिपाठी, आजतक टेलिभिजनका अमितेश त्रिपाठी, हिन्दुस्तान दैनिकका आलोक जोशी, डीडी न्यूजका रोहित त्रिपाठी, दैनिक भास्करका सुदेश त्रिपाठी, इन्डिया न्यूजका अजय जैसवाल, अमर उजालाका दिनेश जैसवाल, एबीपी न्यूजका अमितेश गुप्ता र सी न्यूजका अंगद शर्मालगायत २३ जना पत्रकार सहभागी थिए ।लुम्बिनी प्रेस क्लबका अध्यक्ष कमल रायमाझीका अनुसार नेपाल एसोसिएसन अफ टुर एन्ड ट्राभल एजेन्ट्स (नाट्टा) लुम्बिनीको सहयोगमा भारतीय पत्रकारहरूलाई ऐतिहासिक सम्पदा स्थल तथा हिल स्टेसनहरूको भ्रमण गराइएको हो ।

नाट्टा लुम्बिनीका अध्यक्ष चन्द्रबहादुर थापाका अनुसार भारतीय पत्रकारहरूलाई नेपाल–अङ्ग्रेज युद्धसँग सम्बन्धित ऐतिहासिक स्थलमा लगेर अङ्ग्रेज फौजले नेपालमा कसरी पराजय बेहोरेको थियो भन्नेबारे ऐतिहासिक जानकारी दिइएको थियो ।

नुवाकोट गढी र मणिमुकुन्दसेन उद्यानमा इतिहासका जानकार तथा पर्यटन व्यवसायी माधव नेपालले पत्रकारहरूलाई नेपाल–अङ्ग्रेज युद्ध र नेपाली सेनाको वीरगाथाबारे जानकारी गराएका थिए ।

हजारौँको संख्यामा रहेको अङ्ग्रेज फौजलाई सीमित नेपाली सेनाको नेतृत्व गर्दै तत्कालीन कर्णेल उजिरसिंह थापाले युद्ध कौशलका आधारमा पराजित गरेको इतिहास सुन्दा भारतीय पत्रकारहरू प्रभावित भएको हिन्दुस्तान दैनिकका वरिष्ठ संवाददाता आलोक जोशीले बताए ।

सीमावर्ती भारतीय सहर नौतनवा, कोल्हुई र महाराजगन्जमा तापक्रम ४० डिग्री सेल्सियसको हाराहारीमा पुगिरहेका बेला सुनौली नाकाबाट करिब एक घण्टाको दूरीमा रहेको नुवाकोट गढीमा ३० डिग्री सेल्सियस आसपासको तापक्रममा प्राकृतिक मनोरम दृश्य हेर्दै हिल स्टेसनको आनन्द लिन पाउनु उत्तर प्रदेशका भारतीयहरूका लागि खुसीको विषय भएको इन्डिया न्यूज टेलिभिजनका अजय जैसवालले बताए ।

4

भारतीय पत्रकारहरूको टोलीलाई बुटवलस्थित जितगढीमा बुटवल उपमहानगरपालिकाका प्रमुख खेलराज पाण्डेले स्वागत गरेका थिए । उनले जितगढी किल्लाको ऐतिहासिक महत्वबारे जानकारी गराएका थिए ।

करिब एक घण्टासम्म जितगढी किल्लामा रहेको ऐतिहासिक सम्पदा, ग्रेटर नेपालको नक्सा, युद्ध कौशल झल्काउने चित्रावली, सहिद पार्क तथा कर्णेल उजिरसिंह थापाको वीरगाथा र बुटवलको पुरानो इतिहासबारे पत्रकारहरूलाई जानकारी गराइएको थियो ।

उक्त भ्रमणबाट भारतीय पत्रकारहरू निकै प्रभावित भएको पर्यटन व्यवसायी तथा नाट्टा लुम्बिनीका पूर्वअध्यक्ष सागर अधिकारीले बताए ।

भारतलाई लामो समय उपनिवेश बनाएका अंग्रेजहरूले नेपालमाथि आक्रमण गर्ने क्रममा वि.सं. १८७२ वैशाख ७ गते बुटवलमा हमला गरेका थिए । तत्कालीन नेपाली सेनाका कर्णेल उजिरसिंह थापाको नेतृत्वमा नेपाली फौजले शक्तिशाली अङ्ग्रेज सेनालाई पराजित गरी ऐतिहासिक विजय हासिल गरेको स्थलका रूपमा जितगढी परिचित छ ।नेपाल–अङ्ग्रेज युद्धका क्रममा नेपालको सार्वभौमिकता जोगाउन लडेका वीर गोर्खा सैनिकहरूको शौर्य र बलिदानको गाथासँग जितगढी किल्लाको इतिहास जोडिएको छ ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप