ड्राइभिङ लाइसेन्सको स्वास्थ्य परीक्षण गर्ने क्लिनिकहरूको सेवामा अवरोध नगर्न सर्वोच्चको अन्तरिम आदेश
सारांश
- सर्वोच्च अदालतले ड्राइभिङ लाइसेन्सका लागि स्वास्थ्य परीक्षण गर्ने क्लिनिकहरूको सेवामा अवरोध नगर्न सरकारका नाममा अन्तरिम आदेश जारी गरेको छ ।
- सर्वोच्चले भौतिक पूर्वाधार तथा यातायात मन्त्रालय र यातायात व्यवस्था विभागको पछिल्लो निर्णय कार्यान्वयनमा रोक लगाउँदै साबिककै व्यवस्था अनुसार सेवा सुचारु राख्न भनेको छ ।
- आदेशमा निवेदकहरूलाई विस्थापित गर्ने गरी भएको मन्त्रालयको निर्णयले संविधानको धारा १७ (२) (छ) द्वारा प्रदत्त पेसा, रोजगार, उद्योग र व्यापार गर्ने मौलिक हकमा आघात पुग्ने ठहर गरिएको छ ।
काठमाडौँ । सर्वोच्च अदालतले सवारी चालक अनुमति पत्र (ड्राइभिङ लाइसेन्स) का लागि स्वास्थ्य परीक्षण गर्ने क्लिनिकहरूको सेवा प्रवाहमा अवरोध नगर्न सरकारका नाममा अन्तरिम आदेश जारी गरेको छ ।
न्यायाधीश मेघराज पोखरेलको एकल इजलासले सुनौलो मेडिकल क्लिनिकका सञ्चालक काली बहादुर थापा समेतले दायर गरेको रिटमा सुनुवाइ गर्दै यस्तो आदेश दिएको हो ।
अदालतले भौतिक पूर्वाधार तथा यातायात मन्त्रालय र यातायात व्यवस्था विभागको पछिल्लो निर्णय कार्यान्वयनमा रोक लगाउँदै साबिककै व्यवस्था अनुसार सेवा सुचारु राख्न भनेको छ । निवेदक क्लिनिकहरूले बागमती प्रदेशको 'सवारी चालक अनुमति पत्रको सेवा प्रवाह गर्ने सम्बन्धी कार्यविधि निर्देशिका, २०८०' बमोजिम छनोट भई सम्झौता गरेर स्वास्थ्य परीक्षणको सेवा दिँदै आएका थिए ।
तर, संघीय सरकारको भौतिक पूर्वाधार तथा यातायात मन्त्रालयले २०८३ जेठ १३ र असार १३ गते पत्र लेख्दै नेपाल मेडिकल काउन्सिलमा दर्ता भएका सबै चिकित्सकले गर्ने स्वास्थ्य परीक्षणलाई मान्यता दिने र सबै क्लिनिकहरूका लागि सेवा खुल्ला गर्ने आशयको निर्णय गरेको थियो । यस निर्णयले पहिलेदेखि सम्झौता गरेर लगानी गरेका क्लिनिकहरूको व्यवसायमा प्रतिकूल असर पर्ने र उनीहरूको 'युजर र पासवर्ड' समेत बन्द गरिने अवस्था आएपछि क्लिनिक सञ्चालकहरू अदालत पुगेका थिए ।
सर्वोच्च अदालतले आफ्नो आदेशमा निवेदकहरूले प्रदेश कानुन र निर्देशिका बमोजिम सम्झौता गरी सेवा दिइरहेको अवस्थामा उनीहरूलाई विस्थापित गर्ने गरी भएको मन्त्रालयको निर्णयले संविधानको धारा १७ (२) (छ) द्वारा प्रदत्त 'पेसा, रोजगार, उद्योग र व्यापार गर्ने' मौलिक हकमा आघात पुग्ने ठहर गरेको छ ।
आदेशमा भनिएको छ, ‘विपक्षीहरूको पत्र कार्यान्वयन भई जाने हो भने निवेदकहरूलाई अपूरणीय क्षति पुग्न सक्ने समेत तड्कारो अवस्था देखिएको छ । तसर्थ, रिटको अन्तिम किनारा नलाग्दासम्म मन्त्रालयको पत्र र निर्णयहरू कार्यान्वयन नगरी यथास्थितिमा राख्नू र निवेदकहरूको युजर र पासवर्ड समेतका सेवा सञ्चालनमा कुनै बाधा अवरोध नगर्नू, नगराउनू ।’
यस आदेशसँगै हाललाई ड्राइभिङ लाइसेन्सका लागि स्वास्थ्य परीक्षण गर्दै आएका सूचीकृत क्लिनिकहरूको सेवा यथावत् रहने निश्चित भएको छ ।



खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
भारतले धौलीगङ्गा बाँध खोल्ने, महाकाली तटीय क्षेत्रमा सतर्क रहन आग्रह
-
८ सरकारी निकायमा ६२२ दरबन्दी स्वीकृत : कुन निकायमा कति ? (सूचीसहित)
-
नारायणगढ–मुग्लिन सडकमा रातिमा यातायात सेवा बन्द
-
लुम्बिनीमा गत आर्थिक वर्षमा सवारी दुर्घटनाबाट ५८५ को मृत्यु
-
शहिद गङ्गालाल राष्ट्रिय हृदय केन्द्रलाई विश्रामस्थल र शुद्ध खानेपानी आयोजना हस्तान्तरण
-
कृषि उपजको दैनिक थोक मूल्यसम्बन्धी जानकारी दिने मोबाइल एपको सुरुवात
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण