मङ्गलबार, ०१ जेठ २०८१
ताजा लोकप्रिय

फेरि देखियो नयाँ शक्तिमा संगठनात्मक अन्तरविरोध

बिहीबार, १९ साउन २०७४, १३ : ३०
बिहीबार, १९ साउन २०७४

काठमाडौं– केन्द्रीय कार्यकारी समितिको १३औं पूर्ण बैठक (साउन ९–१०) र संघीय परिषदको तेस्रो पूर्ण बैठक (साउन ११–१३) सम्पन्न भएको केही दिनभित्रै नयाँ शक्ति पार्टी नेपालमा संगठनात्मक अन्तरविरोध पैदा भएको छ । यसको असर बुधवारबाट शुरु भएको पार्टीको महाधिवेशन आयोजक समितिको वैठकमा देखिएको छ ।
 
महाधिवेशन आयोजक समिति सदस्य छनौटमा कामको मुल्याङ्कनलाई ध्यान नदिइएको तथा केन्द्रीय कार्यकारी समिति र संघीय परिषदको तेस्रो पूर्ण बैठकको म्यान्डेड विपरित सहसंयोजक तोकिएको भन्दै नयाँ शक्तिभित्र संगठनात्मक अन्तरविरोध सतहमा आएको हो । बुधवारको बैठकमा पाँच जना सह–संयोजक चयन भएका थिए ।
 
केन्द्रीय कार्यकारी समिति र संघीय परिषदको बैठकले केन्द्रीय कार्यकारी समिति भंग गर्दै महाधिवेशन आयोजक समिति बनाउने निर्णय गरेको थियो । बैठकले संयोजकमा डा. बाबुराम भट्टराईलाई चयन गरेको थियो ।
‘संघीय परिषदमा महाधिवेशन आयोजक कमिटीको संयोजकका लागि डा. बाबुराम भट्टराईको नाम परशुराम खापुङले प्रस्ताव गर्नुभयो । सर्वसम्मतीबाट डा. बाबुराम भट्टराई पार्टीको संयोजक निर्वाचित हुनुभएको छ ।’ वैठकपछि जारी विज्ञप्तीमा छ ।
 
यसबाहेक २ अंकको महाधिवेशन आयोजक समिति बनाउने निर्णय गरेको थियो । त्यसबाहेक विधान अनुसार एक सय ५१ जनासम्मको महाधिवेशन आयोजक समिति बनाउने विकल्प पनि खुला राखेको थियो ।
 
‘संघीय परिषदले केन्द्रीय कार्यकारी समिति विघटन गरेको छ । प्रथम महाधिवेशन आयोजक कमिटी गठन गर्ने अधिकार निर्धारित मापदण्डका आधारमा पार्टी संयोजकलाई दिएको छ ।’ बैठकका निर्णय सार्वजनिक गर्न जारी गरिएको विज्ञप्तीमा छ ।
 
बैठकले महाधिवेशन आगामी प्रादेशिक र संघीय निर्वाचनपछि उपयुक्त समयमा आयोजना गरिने निर्णय गरेको थियो । बैशाखको आसपास महाधिवेशन गर्ने नयाँ शक्तिको अहिलेको तयारी हो ।
 
बुधवार ६१ जना रहेको महाधिवेशन आयोजक समितिको बैठक बोलाइएको थियो । बानेश्वरस्थित होटल इन्द्रेणीमा बसेको महाधिवेशन आयोजक समितिले पाँच जना सह–संयोजक पनि चयन गरेको छ । यो पनि विवादरहित देखिएन ।
 
पार्टीका एक नेताका अनुसार ६१ जनाको सूचि बनाउँदा बरियता र कार्यसम्पादनको पाटोमा ध्यान नदिइएको भन्दै संगठनभित्र अन्तरविरोध पैदा भएको हो । ६१ जनाको नाम कुनै ठाँउबाट अनुमोदन भएको थिएन ।
 
‘यात त पुरानै कार्यकारणी समितिलाई महाधिवेशन आयोजक समिति बनाउनु पर्दथ्यो । त्यसो नभए एकै पटक यो समितिको नाम टुंगाउन पर्दथ्यो । चरण–चरणमा समितिमा मान्छे थप्दै जादा पहिलाजस्तै समस्या आउन सक्छ ।’ महाधिवेशन आयोजक समितिका एक नेताले बताए । उनले संयोजक डा.भट्टराई प्रभावित भएको आरोप लगाए ।
 
यसबाहेक केन्द्रीय कार्यकारी समिति र संघीय परिषदको वैठकको म्यान्डेड विपरित सह–संयोजक तोकिएको भन्दै यसको पनि विरोध भएको छ ।
 
बुधवारको महाधिवेशन आयोजक समितिको वैठकले पाँच जना नेतालाई सह–संयोजक तोकेको छ । सह–संयोजकमा यस अघि पनि सहंसयोजक रहेका रामचन्द्र झा र दुर्गा सोवबाहेक देवेन्द्र पौडेल, परशुराम तामाङ र परशुराम खापुङ छन् ।
 
‘संयोजकवाहेक पार्टीका अन्य संरचना भंग गरेर महाधिवेशनमा जाने निर्णय भयो । महाधिवेशनबाट नयाँ नेतृत्व चयन गरेर आउने वैठकको म्यान्डेड हो । तर, महाधिवेशन आयोजक समितिले सह–संयोजक तोक्यो । यो पद्धतिसंगत भएन ।’ महाधिवेशन आयोजक समितिका एक सदस्यले भने, ‘हामीले वैठकमा यसको विरोध गरेका थियौँ । तर, वैठक भाड्ने लागेको भन्दै आरोपित गरियो ।’
 
सूत्रका अनुसार वैठकमा देवेन्द्र पौडेल र दुर्गा सोवले सह–संयोजक बनाउने निर्णय विवादित हुन्छ भने आफुहरु त्यसलाई छाड्न तयार रहेको बताएका थिए ।
‘केन्द्रीय कार्यकारी समिति र संघीय परिषदको वैठकमा केही शीर्ष नेताहरुको चाहना पदाधिकारी चयन गरेर महाधिवेशनमा जानुपर्छ भन्ने थियोे । तर, हलमा सहभागी ९५ प्रतिशत सहभागीले हलले तत्कालनका लागि महाधिवेशन आयोजक समितिको संयोजक तोक्ने र बाँकी नेतृत्व महाधिवेशनबाट चयन गर्ने निर्णय गरेको थियो ।’ एक अर्का नेताले रातोपाटीसँगको कुराकानीमा भने, ‘संयोजकलाई सहयोगी टिम बनाउने म्यान्डेड दिइएको हो । न कि सह–संयोजक बनाउने ।’
 
अन्तरविरोधको असर बुधवारबाट शुरु भएको पार्टी महाधिवेशन आयोजक समितिको वैठकमा पनि देखियो । जस्तो कि वैठकमा विदेश विभाग प्रमुख नवराज सुवेदी, सुशीला शेर्पाली, खिमलाल देवकोटा लगायतका नेता वैठकमा सहभागी भएनन् । देवकोटाले केही दिन अगाडि प्रवत्ताबाट राजीनामा गरेका थिए ।
त्यसबाहेक वैठक चलिरहदा नेता पासाङ शेर्पा परिवारसहित बन्दीपुरमा पुगे । संघीय समाजवादी फोरमसँग एकता भाँडिएपछि बेखुस रहेका रामचन्द्र झापनि महाधिवेशन आयोजक समितिको वैठकमा देखिएनन् ।  
  
बुधवारको वैठकमा १९ सदस्यीय केन्द्रीय सचिवालय बनाउने प्रस्ताव आएको थियो । तर, महाधिवेशन आयोजक समितिले पूर्णआकार नलिइसकेको अबस्तामा सचिवालय बनाउन उपयुक्त नहुँने सुझाव आएपछि यो चाहीँ रोकिएको छ । ६१ सदस्यीय महाधिवेशन आयोजक समितिमा विगतमा कार्यक्षेत्र नगएका, चुनावी काममा नखटेका र भोटसम्म हाल्न गृहजिल्ला नगएका नेता समेत परेको भन्दै असन्तुष्टि देखिएको छ ।
 
‘प्रदेश इन्चार्जको रिपोर्टिङमा यी–यी मान्छे कार्यक्षेत्रमा गएनन् । चुनावमा खटेनन् र भोट पनि हालेनन् भनेर रिपोर्टिङ भएको थियो । तर, ६१ जनाको सूचिमा ती पनि परे । काम गरेका छुटे ।’ एक नेताको भनाई थियो ।
 
कतिपय नेताले ६१ जना महाविधेशन आयोजक समितिको वैठक बोलाउनु उचित नभएको बताएका छन् । ‘६१ जनाको मात्र वैठक बोलाउनु उचित होइन । सवै सदस्यविनाको अपुरो वैठकको निर्णयमाथि प्रश्न उठ्न सक्छ ।’ एक असन्तुष्ट नेताले भने, ‘कार्य मुल्याङ्कनविना ६१ जना आएका छन् । उनीहरु सवैलाई स्वीकार गर्न सक्ने अबस्था छैन ।’
 
अहिले जारी महाधिवेशन आयोजक समिति वैठकमा जिम्मेवारी तोक्ने विषय पनि समस्या भएको छ । पहिला राज्य इन्चार्ज भएर गएका नेताहरुले फेरि त्यहीँ जिम्मेवारी लिन मानेका छैनन् । ‘जिम्मेवारी तोक्ने काम पनि कठिन भएको छ,’ एक नेताले भने ।
 
६१ सदस्यीय महाधिवेशन आयोजक समितिमा यूवाहरुको सहभागीताको विषय पनि विवादमा छ । यसको असर यूवा संगठनले हिजो गरेको कार्यक्रममा पनि देखिएको एक यूवा नेताले बताए ।
 
जस्तो कि सरकारले जलाशययुक्त बुढीगण्डकी जलविद्युत आयोजना निर्माणका लागि चिनियाँ कम्पनी गेजुवासँग गलत तरिकाले सम्झौता गरेको भन्दै नयाँ शक्ति पार्टी निकट युवा संगठन राष्ट्रिय युवा अभियानले बुधबार अपरान्ह काठमाडौंको माइतिघर मण्डलामा प्रदर्शन गरेको थियो । सरकारले राजनीतिक रुपमा अनैतिक, गैरकानूनी एवं राष्ट्रिय स्वाभिमानविपरित हुनेगरी राष्ट्रिय गौरवको आयोजना निर्माण गर्न गलत नियतका साथ चिनियाँ कम्पनीलाई ठेक्का दिएकोप्रति नयाँ शक्तिको युवा संगठनले धर्ना दिएको थियो ।
 
तर, यो कार्यक्रममा निकै थोरै यूवाहरु सहभागी भए । धर्नामा राष्ट्रिय युवा अभियानका संयोजक कमल शाही आफै पनि थिए । तर, संगठनका अरु धेरै नेता त्यहाँ देखिएनन् ।
 
‘यो एक किसिमको असन्तुष्ट हो भन्दा पनि हुन्छ ।’ एक यूवा नेताले भने ।

 
नयाँ शक्तिले बुढीगण्डकी आयोजनाको सम्झौता गैरकानूनी र राष्ट्रिय स्वार्थ्विपरित भएको, साथै यसले दीर्घकालीन रुपमा आर्थिक तथा सामाजिक समस्या सिर्जना गर्ने भन्दै सम्झौता खारेज गरी आफ्नै स्रोतबाट आयोजना निर्माण गर्न दबाबस्वरुप नयाँ शक्ति पार्टीका संयोजक डा. बाबुराम भट्टराईले प्रधानमन्त्री शेरबहादुर देउवालाई ज्ञापनपत्र बुझाएका थिए ।
 
‘स्वाधीनता, समृद्धि, सहभागितामूलक लोकतन्त्र, सुशासन र समुन्नत समाजवाद’ अर्थात ‘५ स’को सैद्धान्तिक मान्यतामा आधारित भएर नयाँ शक्ति पार्टी नेपाल गठन भएको थियो । यसले पार्टी स्थापनाको एक वर्ष पूरा गरेको छ ।
 
विगत एक वर्षको समीक्षा, स्थानीय निर्वाचनमा सहभागिताको मूल्यांकन र आगामी कार्यभार तय गर्ने उद्देश्यले पार्टीको केन्द्रीय कार्यकारी समिति र संघीय परिषदको वैठक बसेको थियो ।
 
विगत एक बर्षमा संगठनमा सोचजस्तो प्रगति नभएको भन्दै संयोजक डा.बाबुराम भट्टराई शुन्यबाट संगठनमा संरचना निर्माणको सोच बनाएका थिए । यहीँ अनुसार डा.भट्टराईले केन्द्रीय कार्यकारी समिति भंग गरेर महाधिवेशन आयोजक समिति बनाउने निर्णय गराएका थिए ।
 
तर, यो निर्णय कार्यन्वयनको शुरुकै चरणमा संगठनभित्र अन्तरविरोध देखिएको छ । यसले अगाडिको बाटो असहज बनाउन सक्ने केही नेताहरुको बुझाई छ ।
 
संघीय परिषद् बैठकले राष्ट्रिय तथा अन्तर्राष्ट्रिय महत्वका विभिन्न १३ वटा समसामयिक प्रस्तावहरु पारित गरेको थियो ।
 
अन्य राजनीतिक दल चुनावी तयारीमा लागेका बेला आफ्नो पार्टी संगठनात्मक अन्तरविरोधमा फसेको नयाँ पार्टी नेपालका केही नेताहरु बताउँछन् । नयाँ शक्तिभित्र पूर्व माओवादी समूह र अन्यक्षेत्रबाट पार्टीमा आएकावीच पनि मनमुटाव देखिने गरेको छ ।
 
यस्तो मनमुटावले संगठन निर्माणमा समस्या पैदा गरेको सयोजक डा.भट्टराईको भनाई छ । तर, संयोजक डा.भट्टराई भने सानातिना सवै अन्तरविरोध हल गरेर अगाडि बढन चाहेको उनी निकट रहेर काम गर्ने नेताहरु बताउँछन् । 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

नेत्र पन्थी
नेत्र पन्थी
लेखकबाट थप