आइतबार, २८ असार २०८३
ताजा लोकप्रिय

यस्तो ठाउँ जहाँ बलिउडका हस्तीसँग हुन्छ साक्षात्कार (फोटोफिचर)

शनिबार, १८ जेठ २०७६, १४ : ५०
शनिबार, १८ जेठ २०७६

काठमाडौँ । भारत महाराष्ट्रको पुणे शहरभन्दा २५ किलोमिटर टाढा राजवागमा १२५ हेक्टरमा फैलिएको संग्राहलयमा पुग्दा लाग्छ भारतको सबै कुरा यही समेटिएको छ । त्यहाँ जानका लागि पुणे शहरबाट हडपसरसम्म नगर बस पाउँछ भने त्यहाँबाट अटो चढेर राजवागको गेटसम्म जान सकिन्छ । शैक्षिक, साँस्कृतिक र अध्यात्मिक रुपमा परिचित त्यो ठाउँमा जाँदा जो कोही पनि आफूलाई एकछिन अवश्य बिर्सन्छ ।

सबभन्दा महत्वपूर्ण कुरा त्यहाँ बलिउडका स्टार राज कपूरका सम्पूर्ण यादहरु ताजै पाइन्छ । उनले खेलेका फिल्म, वास्तविक जीवनमा भएका घटनाक्रमलगायत विषयवस्तु समेटेर विभिन्न प्रतिमाहरु बनाइएको छ । त्यसभित्र पस्दा लाग्छ कुनै फिल्मी दुनियाँमा प्रवेश गरेको छु र त्यहाँ बलिउडका सबै हस्तीसँग साक्षात्कार हुन्छ । 

त्यसलाई संग्रहालय पनि भनिएको छ । हिन्दी सिनेमा शो मेन अर्थात राजकपुरको स्मृतिमा बनाएको ती संग्राहलयमा उनले अभिनय गरेका सुपरहिट फिल्मका प्रतिमाहरु समेत राखिएको छ । राज कपुरको पैतृक घर रहेको त्यो १२५ हेक्टर जमिन त्यहाँ समाजसेवी विश्वनाथ डी कराडलाई सित्तैमा दिएको छ । कराडले त्यहाँ शैक्षिक संस्था खोल्नुको साथै राज कपुरको यादलाई जिवित गरेका छन् । 

जमिन दिने समयमा नै राज कपुरले शिक्षाको साथै यो संस्थालाई भारतीय संस्कृतिको प्रतिबिम्बको रुपमा बनाउनुपर्ने शर्त राखेका थिए । त्यही शर्त बमोजिम विश्वनाथले सम्पूर्ण भारत सँस्कृतिलाई त्यहाँ उतारिएको छ । 

विश्वनाथले त्यो ठाउँमा महाराष्ट्र इन्स्टीट्यूट अफ टेक्नोलोजी (एमआईटी) नामको संस्था सञ्चालन गरेका छन् । त्यहाँ संगीत कला एकेडेमी, वाद्ययन्त्र संग्रहालय, सप्तऋषि आश्रम र भारतीय सिनेमाको स्वर्णयुगलाई साक्षात्कार गराउने राज कपूर संग्रहालयलाई अस्तित्वमा ल्याएको छ । 

संग्रहालयभित्र भारतीय धर्म संस्कृतिसँग जोडिएको भगवान शिवको ताण्डव नृत्य भएको त्रिदेव ब्रह्मा, विष्णु र महादेवको विशाल प्रतिमा प्रवेशद्धारमै हेर्न पाइन्छ ।  प्रवेशद्धारमै फिल्मी दुनियाँको पितामह मानिएको दादासाहब फाल्केको प्रतिमा पनि राखिएको छ । 

भारतमा फिल्म निर्माणको काम उनीबाट नै भएको थियो भनि सन्देश दिनका लागि सो प्रतिमा राखिएको महाराष्ट्र सरकारका सूचना तथा सञ्चार मन्त्रालयका वरिष्ठ सूचना अधिकृत डा.राजु पाटोडकरले बताए । 

त्यसपछि एउटा अर्को मण्डपमा प्रवेश गर्ने बित्तिकै प्रवेशद्धारमै राज कपुर र श्रीमती कृष्णा कपुरको प्रतिमा देखिन्छ । मानौ उनीहरु त्यहाँ आउने पाहुनालाई स्वागत गर्न त्यहाँ मुस्कुराउँदै उभिएका हुन् । राज कपुरसँग सम्बन्धित तीनवटा ग्यालेरीहरु छन् । 

उनले फिल्ममा ग्रामिण चरित्रमा खेलेका फिल्मको अभिनित प्रतिमाहरु राखिएको छ । उनले अभिनय गरेका तथा फिल्मि हस्तीसँगको भेटघाट लगायका सय भन्दा बढी प्रतिमाहरु ती ग्यालेरीहरुमा राखिएको छ । 
सबभन्दा महत्वपूर्ण कुरा ती ग्यालेरीमा डुल्दा गाइडको आवश्यकता पर्दैन । जुन ठाउँमा जानु भो त्यो ठाउँको जानकारी अडियो रेर्कडमार्फत दिइरहेको हुन्छ । यति मात्र होइन, राज कपुरले जुन फिल्ममा जे अभिनय गरेको प्रतिमा त्यहाँ राखिएको छ त्यही फिल्मी डायलग र गीत त्यहाँ गुन्जिन थाल्छन् । त्यतिबेला लाग्छ कि छेउछाउमा राज कपुर आफैँ आएर उभिएका छन् । 

राज कपुरले जुन–जुन कलाकारसँग फिल्म खेलेका छन् ती सबै मुख्य कलाकारका प्रतिमा पनि त्यहाँ राखिएको छ । भारतका पूर्वप्रधानमन्त्री जवाहरलाल नेहरुको प्रतिमासँग राज कपुर, दिलिप कुमार र देवानन्दको प्रतिमा पनि राखिएको छ । 

एउटा मण्डपमा राज कपुरसँग फिल्म खेलेका खलनायकहरुको मात्र प्रतिमा राखिएको छ । अमजद खान, प्राण, अजीत, अमरीश पुरी, जीवन, मदन पुरी, ओमपुरीलगायतका खलनाय अर्थात कलकारहरुको प्रतिमा त्यहाँ राखिएको छ । अर्को मण्डपमा हास्य कलाकार ओमप्रकाश, महमूद, असरानी केस्टो मुखर्जी, जानी वाकर, मुकरी लगायतका प्रतिमा राखिएको छ । लाग्छन् उनीहरु साँच्चै अभिनय नै गरिरहेका छन् । 

यही परिसरमा एकारित मूला–मूथा नदी पनि छ जहाँ बाँध बाँधेर पानी रोकेको छ । त्यो नदीको किनारमा सप्तऋषीको आश्रम रहेको छ । त्यो आश्रममा विश्वमित्र, जमदग्नी, भारद्धाज, गौतम, अत्रि वशिष्ट र काश्यप रहेका छन् । नदीको बीचमा तीनवटा टापु चस्तो बनाएको छ, जहाँ बोट चढेर जान सकिन्छ । 

राज कपुर जिवित रहेको बेला त्यहाँ आएर बस्ने गरेको भवन पनि छ । जहाँ भुँइमा राज कपुर निन्द्रामा सुतेको प्रतिमा पनि राखिएको छ । सातवटा मण्डप भएको एउटा भवन छ, जहाँ देवी सरस्वती ठूलो प्रतिमा राख्नुको साथै त्यसभित्र वाद्य वादन यन्त्रको संग्राहलय रहेको छ । 

त्यहाँ रावणले बजाएको नगरा पनि राखिएको छ । त्यसै भवनमा संगीत महाविद्यालयको साथै फिल्म र टेलिभिजन इन्स्टिच्युट रहेको छ । ग्रामिण प्रवेशलाई त्यहाँ देखाउनका लागि गाई, गोरु, भैसी, हरिण पनि राखिएको छ । 

त्यो संग्रालय अझैँ निर्मित अवस्थामा रहेको छ । त्यही परिसरमा दावी गरिएअनुसार विश्वकै सबभन्दा ठूलो मन्दिर बनिरहेको छ । त्यो मन्दिरभित्र सबै धर्मका देवी देवतालाई राख्नुको साथै भारतका महापुरुषको प्रतिमा पनि राखिएको छ । त्यही परिसरभित्र अमिर खानको दगंल, सलमान खानको बडीगार्ड जस्ता फिल्म निर्माण भएको छ । 

राजकपुरका पुराना अधिकांश फिल्महरु त्यही सुटिङ भएको अधिकृत पाटोडकरले बताए । ऋषि कपुरको सुपरहिट फिल्म बबीको गीत ‘हम तुम एक कमरे मे बन्द हो, और चाभी खो जाए’ को सुटिङ्ग भएको कोठालाई अहिले पहुनाहरुलाई स्वागत गर्ने कक्ष बनाइएको छ । 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप