शनिबार, ०८ वैशाख २०८१
ताजा लोकप्रिय

भाजपाको जनाधार खस्किनुका पाँच कारण

मुख्यमन्त्री नै पराजित
मङ्गलबार, ०८ पुस २०७६, ११ : २३
मङ्गलबार, ०८ पुस २०७६

नयाँ दिल्ली । भारतको झारखण्डमा भएको विधानसभा निर्वाचनमा केही अपत्यारिला तथ्यहरु प्रकाशमा आएका छन् । सन् २०१४ मा भारतीय जनता पार्टी (भाजपा) ले जुन राज्यमा जितको सिलसिला सुरु गरेको थियो, तिनै राज्यमा उसले सन् २०१९ को विधानसभा निर्वाचनमा आफ्नो सत्ता गुमाएको छ । सहयोगी दलहरुलाई पाखा लगाएर आफ्नो सीट बढाउने उसको राजनीतिक क्रम पनि अन्त्य हुँदै गएको छ ।

यो वर्ष भाजपाले लोकसभा निर्वाचनमा मात्र ठूलो जित हासिल गरेको छ । विगत दुई वर्षको इतिहास हेर्ने हो भने उसले ७ ठूला राज्यमा आफ्नो सत्ता गुमाइसकेको छ ।

झारखण्डमा लोकप्रियता घट्यो

लोकसभा निर्वाचनमा भाजपाले झारखण्डबाट आफ्नो कुल सदस्यको तुलनामा ५० लाख भन्दा बढी मत हासिल गरेको थियो । लोकसभा निर्वाचनमा भाजपाले सदस्यता अभियान अन्तर्गत झारखण्डमा २६ लाख ८२ हजार २५९ सदस्य बनाएको थियो । जबकि उक्त सदस्य संख्याको तुलनामा करिब ५० लाख अधिक मत उसले हासिल गरेको थियो । तर विधानसभा निर्वाचनमा भाजपाले कुल सदस्यको तुलनामा १५ लाख मात्र अतिरिक्त मत हासिल गरेको छ । यसले राज्यमा भाजपाको लोकप्रियता घटेको पुष्टि गर्दछ ।

सफलता दर ३५ प्रतिशत

प्रधानमन्त्री नरेन्द्र मोदी र गृहमन्त्री अमित शाहले झारखण्ड विधानसभा निर्वाचनमा कुल १८ सभालाई सम्बोधन गरे । दुवैले ९–९ सभामा प्रमुख वक्ताका रुपमा सम्बोधन गरेका थिए । उनीहरुले झारखण्डको ८१ मध्ये ६० सिटलाई आफ्नो सभामार्फत समेटेका थिए । तर ती ६० सिटमध्ये ४० सिटमा भाजपाले पराजय व्यहोरेको छ । अर्थात् मोदी र शाहको चुनावी सभाको सफलता दर ३५ प्रतिशतमात्र देखियो । तर विपक्षी दल कांग्रेसबाट गान्धी परिवारले उनीहरुभन्दा तीन गुना कम चुनावी सभा आयोजना गरे पनि चुनावी सभाको सफलता दर ३३ प्रतिशत देखिएको छ । राहुल गान्धी र प्रियंका गान्धीले झारखण्डमा ६ वटा चुनावी सभामा सहभागिता जनाएका थिए । कुल २४ सिटलाई समेटेको उनीहरुको चुनावी सभाले ८ सिटमा जित हासिल गर्न मद्दत गरेको देखिन्छ ।

मुख्यमन्त्री नै पराजित

जमशेदपुर पूर्वको सिटबाट मुख्यमन्त्री रघुवर दास आफ्नै पूर्व सहयोगी सरयु रायसँग १५ हजारभन्दा बढी मतले पराजित भए । सन् १९९५ देखि लगातार जित हासिल गर्दै आएका उनी आफैँ मुख्यमन्त्री भएको अवस्थामा पराजित हुनु पनि अनौठो नै मानिएको छ ।

भारखण्डमा भाजपा पराजित हुनुका ५ कारण

१. सन् २०१९ मे महिनामा अर्थात् ७ महिना अघि लोकसभा निर्वाचनको नतिजा आउँदा भाजपाले झारखण्डमा ५१ प्रतिशत मत हासिल गर्दै ५४ विधानसभा क्षेत्रमा अग्रता लिएको थियो । तीमध्ये ३५ सिटमा भाजपाले ५० हजारभन्दा अधिक मतको अग्रता लिएको थियो । भाजपाले राज्यका १४ मध्ये ११ लोकसभा सिटमा जित हासिल गरेको थियो । तर विधानसभा निर्वाचनमा भाजपाले ३३ प्रतिशतमात्र मत हासिल गरेको छ ।

२. मुख्यमन्त्रीको अलोकप्रियता

भाजपाबाट मुख्यमन्त्री बनेका रघुवर दासको लोकप्रियता घट्नु पनि भाजपा पराजित हुनुको मुख्य कारण हो । झारखण्डका जनताले रघुवर दासकै नेतृत्वमा रहेको राज्य सरकारको काम कारवाहीलाई मुल्यांकन गरेर मत दिएका हुन् ।

जमशेदपुर पूर्वका ८६ अवैध बस्तीलाई नियमित बनाउने सन्दर्भ विवादमा तानिएपछि मुख्यमन्त्री रघुवर दास नेतृत्वको सरकार आलोचित भएको हो । सन् १९९५ देखि लगातार विधानसभा निर्वाचनमा जित हासिल गर्दै आएका रघुवर दास स्वयं नै यो निर्वाचनमा पराजित भए ।

३. आदिवासीको असन्तुष्टि

जल, जंगल र जमिनको सवालमा आदिवासीहरु रघुवर दास नेतृत्वको सरकारसँग असन्तुष्ट थिए । राज्यमा उद्योगका लागि भूमि बैङ्क बनाउन लागिएको थियो । आदिवासीहरु उक्त जमिनलाई आफ्नो मान्दै आएका थिए ।

परिणामस्वरुप अनुसूचित जनजातिका लागि सुरक्षित २८ सिटमध्ये २० वटामा विपक्षी गठबन्धनले जित हासिल गरेको छ । भाजपालाई ती २५ मध्ये ५ सिटमा प्रत्यक्ष नोक्सान भएको छ । जबकि यिनै चुनावी सिटबाट भाजपाले अघिल्ला निर्वाचनमा आफ्नो प्रभाव बढाउने गरेको थियो ।

४. सहयोगी घटक बाहिरिनु

विपक्षीहरु एकजुट भएर झारखण्डमा चुनावी मोर्चामा होमिएको समयमा भाजपाले भने सहयोगी गठबन्धनको साथ गुमाउनु परेको थियो । झारखण्ड मुक्ति मोर्चा, कांग्रेस र राष्ट्रिय जनता दलले सिट बाँडफाँड गरेर चुनावी अभियान सुरु गर्दा भाजपा र अल झारखण्ड स्टूडेट्न्स युनियन (आजसू)बीचको सहकार्य टुटिसकेको थियो । आजसू विगत पाँच वर्षदेखि भाजपाका साथ सत्तामा थियो । सिट बाँडफाँडमा सहमति जुट्न नसकेपछि गठबन्धन टुटेको थियो । परिणामस्वरुप राज्यमा भाजपाले आफ्नो साख जोगाउन सकेन ।

५. विपक्षी आक्रामक

भाजपाका शीर्ष नेताहरु शानदार शैलीमा चुनावी प्रचारमा जुटेका थिए । तर विपक्षी गठबन्धनले त्यसको ठिक विपरीत गुरिल्ला शैलीमा आक्रामक चुनावी कार्यक्रम गरिरहेका थिए । उनीहरुले ठूलो सभा आयोजना गरेनन् । सुदूर क्षेत्रमा पुगेर उनीहरु छुट्टाछुट्टै किसिमले चुनावी प्रचार गरिरहेका हुन्थे, यदाकदामात्र विपक्षी गठबन्धनले मञ्च साझा गरेका थिए । 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

एजेन्सी
एजेन्सी
लेखकबाट थप