
धुर्मुस सुन्तली फाउण्डेसनलाई भरतपुर महानगरले दियो चार करोड

चितवन । धुर्मुस सुन्तली फाउण्डेसनले भरतपुर महानगरपालिका २० मा निर्माण गरिरहेको गौतम बुद्ध अन्तर्राष्ट्रिय क्रिकेट रंगशालाको काम अगाडि बढाउन भरतपुर महानगरले बुधबार धुर्मुस सुन्तली फाउण्डेसनलाई थप चार करोड रुपैयाँ सहयोग गरेको छ । यसअघि महानगरले फाउण्डेसनलाई चार करोड दिइसकेको छ ।
बुधबार महानगर कार्यालयमा मेयर रेनु दाहालले फाउण्डेसनका अध्यक्ष सिताराम कट्टेल धुर्मुसलाई चार करोड रुपैयाँको चेक हस्तान्तरण गरेकी हुन् । महानगर प्रमुख दाहालले महानगरको आन्तरिक स्रोतबाट रंगशाला निर्माण कार्यका लागि धुर्मुस सुन्तली फाउण्डेसनलाई पटकपटक गरी पहिले चार करोड र अहिले थप चार करोड रुपैयाँ दिइएको बताइन् ।
महानगरबाट प्राप्त चेक ग्रहण गर्दै धुर्मुसले रंगशाला निर्माणको कामलाई अगाडि बढाउन यो सहयोगले सहज बनाएको प्रतिक्रिया दिए । उनले स्थानीय सरकार र जनताको सहयोगमा रंगशाला निर्माण कार्यलाई टुंगोमा पु-याइने बताए । रंगशाला निर्माण सहयोगार्थ यसअघि महायज्ञको आयोजना गरिएको थियो ।
चेक हस्तान्तरणको अवसरमा भरतपुर महानगर प्रमुख रेनु दाहालसँगै उपप्रमुख पार्वती शाह, प्रमुख प्रशासकीय अधिकृत प्रेमराज जोशीलगायतको उपस्थिति रहेको थियो । महानगरका प्रमुख प्रशासकीय अधिकृत जोशीले भरतपुर महानगरपालिकाको गौरवको आयोजनाको रुपमा लिइएको रंगशाला निजी क्षेत्रको समेत सहयोगमा निर्माण सम्पन्न गरिने बताए ।

रातोपाटीको अंग्रेजी, हिन्दी र ग्लोबल संस्करणका साथै अनलाइन टिभी पनि सञ्चालित छ । एप्सबाट सिधै समाचार पढ्न एन्ड्रोइडका लागि यहाँ र आइफोनका लागि यहाँ क्लिक गर्नुहोस् । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ ।
रातोपाटी संवाददाता
‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम २०७० जेठ २७ देखि सञ्चालनमा आएको हो ।
तपाईको ईमेल गोप्य राखिनेछ