इन्सपेक्टर लिएर अनुगमनमा गएको विभागको टोली नै कुटिएपछि...

रौतहट । रौतहटमा औषधि पसल अनुगमन गर्न गएका औषधि व्यवस्था विभागको क्षेत्रीय कार्यालय वीरगञ्जका कर्मचारीमाथि स्थानीयले आक्रमण गरेका छन् ।
नेपाल–भारतीय सीमासँग जोडिएको जिल्लाको राजपुर नगरपालिका–४ मा रहेका औषधि पसलहरू अनुगमन गर्न गएका विभागका कर्मचारीमाथि स्थानीयवासी जाइलागेका हुन् ।
विभागमा दर्ता नगरी औषधि पसल चलाएको, प्रतिबन्धित औषधिसमेत बिक्री गरेको सूचना पाएर विभागका टोली सोमबार त्यसतर्फ अनुगमनमा गएको थियो ।
तर, टोलीलाई ठुलो हुल बाँधेर आएका महिला तथा पुरुषले लखेटी लखेटी कुटपिट गरे । उक्त भिडियो सामाजिक सञ्जाल फेसबुकमा भाइरलझैँ छ ।
स्थानीयको कुटाइबाट फार्मेसी निरीक्षक ओम प्रकाश जयसवाल र फार्मेसी अधिकृत अमर शर्मा घाइते भएका औषधि व्यवस्था विभाग क्षेत्रीय कार्यालय वीरगञ्जका प्रमुख शम्भु साहले बताए ।
घाइते जयसवाल र शर्माको प्रादेशिक अस्पताल गौरमा सामान्य उपचारपछि सोमबारै डिस्चार्ज भएका र अहिले अवस्था सामान्य रहेको छ ।
विभागका कर्मचारीसँगै जिल्ला प्रशासन कार्यालय रौतहटका खरिदार उमेशप्रसाद र जिल्ला प्रहरी कार्यालय रौतहटका इन्स्पेक्टर रुद्रराज कँडेलसहितको टोली अनुगमनमा गएको थियो ।
स्थानीयको आक्रमणका कारण इन्सपेक्टर कँडेलको मोबाइल फुटेको प्रमुख साहले बताए । उक्त भीडले औषधि व्यवस्था विभागका कर्मचारीको कागजातसमेत खोसेको प्रहरीले जनाएको छ ।
विभागमाथि उल्टै आरोप
राजपुर गाउँका शेख नेक महम्मदले हार्डवेयर पसलको बोर्ड राखेर वर्षौँदेखि औषधि पसल सञ्चालन गर्दै आएका उजुरी परेको थियो । विभागको टोलीले उनै महम्मदको पसल अनुगमनलाई मुख्य टार्गेट बनाएर अनुगमन गर्न गएको थियो ।
स्रोतका अनुसार औषधि पसल सञ्चालक महम्मदको परिवारमा विवाद उत्पन्न भएको थियो । त्यही रिसिबीका कारण उनको परिवारभित्रबाटै विभागको वीरगञ्जस्थित कार्यालयमा उजुरी परेको थियो ।
यता विभागका कर्मचारीले कार्यक्षेत्रअन्तर्गत पर्ने प्रायः ठुला मेडिकल व्यवसायीसँग लामो समयदेखि सेटिङमा मोटो रकम असुल्दै आएको आरोप छ ।
नाम उल्लेख नगर्ने सर्तमा स्थानीय एकजनाले भने, ‘उनीहरूले ठुला औषधि पसलेसँग मासिक रूपमा रकम उठाउँदै आएका छन्, ठुला ठुला मेडिकल स्टोरहरूमा कहिल्यै छापा मार्दैनन् ।’
स–साना पसलहरूमा पनि अनुगमनमा नाममा रकम असुली धन्दा चलाउँदा यस्तो अवस्था सिर्जना भएको उनको भनाइ थियो ।
उनले थपे, ‘कुनै ठुलो मेडिकल स्टोरविरुद्ध कसैले उजुरी गरे उनीहरू (विभागका कर्मचारी) अनुगमनमा त जान्छन्, तर जानुअघि खबर गर्छन् ।’
ती मेडिकल सञ्चालकले बताएअनुसार विभागका कर्मचारी आउँदा ठुला फार्मेसीहरूले कागजात तथा औषधिहरू दुरुस्त बनाउने गरेका छन् । उनका अनुसार विभागले साना मेडिकल व्यवसाय मात्र टार्गेट गर्ने गरेको छ ।
केही समयअघि रौतहटको कटहरिया बजारमा पनि यस्तै घटना भएको थियो । त्यहाँस्थित एउटा औषधि पसलमा विभागका कर्मचारी अनुगमनमा जाँदा झडपको स्थिति बनेको थियो ।
औषधि व्यवस्था विभाग क्षेत्रीय कार्यालय वीरगञ्जको कार्यक्षेत्रअन्तर्गत पर्सा, बारा, रौतहट, सर्लाहीलगायतका जिल्ला छन् ।
अनुगमनमा सहभागी विभागका क्षेत्रीय कार्यालय वीरगञ्जका सूचना अधिकारी ओम जैसवालले गृह मन्त्रालयमार्फत आएको उजुरीका आधारमा राजापुरस्थित औषधि पसल अनुगमनमा गएको बताए ।
स्थानीय महिलाले गाउँमा सेवा दिँदै आएको मेडिकल बन्द गर्न दिन्नौं भन्दै अनुगमन टोलीमाथि हातपात गरेका उनले स्वीकार गरे ।
विगतमा विभागका कर्मचारीले मेडिकल व्यवसायीसँग सेटिङ गरेको हो भन्ने रातोपाटीको प्रश्नमा जैसवालले भने, ‘त्यो थाहा भए, तर अहिले त्यो आरोप गलत हो ।’
यसबारे रौतहटका प्रमुख जिल्ला अधिकारी विनोद कुमार खड्काले अनुसन्धान भइरहेको बताएका छन् ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
बाँध निर्माणमा ढिलाई भएपछि सात वडा विपद संकटग्रस्त क्षेत्र घोषणा
-
१० बजे १० समाचार : अन्तत: विश्व बने विजेता, सरकारमाथिको संकट टर्यो
-
तीन सय ९५ जनाले गरे सगरमाथा आरोहण
-
पुछारका दुई टोलीको भिडन्त : चेन्नईद्वारा १ सय ८८ रनको लक्ष्य प्रस्तुत
-
स्रोत नखुलेको २५ लाख सहित साँगाबाट दुई जना पक्राउ
-
शैक्षिक संस्था आसपासमा सुर्तीजन्य पदार्थ र मदिरा बिक्री वितरणमा रोक लगाउन माग