शुक्रबार, १४ वैशाख २०८१
ताजा लोकप्रिय

बालुवाटारको निष्कर्ष : माधव नेपाल बाहेकको ‘एकता’

बुधबार, १९ जेठ २०७८, ०९ : ५८
बुधबार, १९ जेठ २०७८

नेकपा एमालेले पार्टी एकता बचाउन अन्तिमसम्म प्रयास जारी राख्ने र त्यसका लागि लचकता अपनाउने निर्णय गरेको छ । तर, त्यो प्रयास र लचकताले पनि २०७५ जेठ २ अघिको अवस्थामै पार्टी फर्केला भन्ने कुरामा चाहिँ नेताहरु अझै विश्वस्त देखिएका छैनन् ।

दुबै पक्षका एमाले नेताहरुको प्रतिक्रियाबाट पनि अब एमालेमा एकता भइहाले पनि माधव नेपाल बाहेकको एकता हुने भन्ने सम्भावना छ ।

‘अन्तिमसम्म पनि एकताका लागि लचक हुने भन्ने त छ, तर अब एकता भए पनि माधव नेपालसमेत केही नेताहरुचाहिँ आउने सम्भावना देखिँदैन’ अध्यक्ष ओली निकट एक नेताले रातोपाटीसँग भने, ‘हाम्रोतर्फको निश्कर्ष लगभग यही हो ।’

त्यसो त पार्टी एकता जोगाउन भन्दै दुवै पक्षका दोस्रो तहका नेताहरुले वार्ता र सम्वादलाई जारी राखेका छन् । अब केही दिन त्यस्ता संवाद सघन बनाउने उनीहरुको तयारी छ ।

यसअघि पनि दोस्रो तहका नेताहरुबीच निरन्तरवार्ता र सम्वाद हुँदै आएको थियो । सोमबारमात्रै उनीहरुबीच लामै छलफल भएको थियो । जसका कारण एमालेको औपचारिक विभाजन टरिनसके पनि पछाडि भने अवश्य धकेलिएको छ ।

पार्टीको विवाद समाधान गर्न जेठ पहिलो साता गठित एमालेको १० सदस्यीय कार्यदल हाल निश्कृय भैसकेको छ । कार्यदलमा रहेमध्येका माधव नेपाल पक्षका एक नेता भीम रावललाई पार्टीबाट निश्कासन गरेपछि उक्त कार्यदल निश्कृय बन्न पुगेको हो ।

त्यसयता पनि ओली र नेपाल पक्षका अरु केही नेताहरु अनौपचारिक रुपमा पार्टी विभाजन रोक्ने प्रयासस्वरुप छलफलमा बसिरहेका छन् । तर, ती छलफल र पहलकदमीबाट पनि ठोस उपलब्धि भने हासिल हुन सकेको छैन । तथापि विभाजित बनेका सबै नेताहरु नआए पनि धेरै नेता–कार्यकतालाई समेट्ने प्रयास दुवै पक्षले जारी राखेका छन् ।

राजनीतिक र सांगठनिक रुपमा दुई ध्रुवमा गैसकेको एमालेले विभाजनको कानुनी मान्यता नपाएसम्म दुवै पक्षले अर्को पक्षमा लागेका नेता–कार्यकर्ता तान्ने प्रयास तीव्र पार्ने देखिएको छ । त्यसका लागि ओली पक्षले केही नेतालाई कारवाहीको घोषणा गरेपनि केही समयका लागि होल्ड गरेबाटै पनि नेता फकाउने प्रयासको पुष्टि गरेको छ ।  तर, ओली पक्षले माधव नेपालसँग अब एकता असम्भव भएको निश्कर्ष नै निकालेको छ ।

पटक–पटक स्थगित भएर मंगलबार बसेको स्थायी समिति बैठकमा पनि माधव नेपाल बाहेकको एकतामै बल गर्नुपर्नेमा नेताहरुको जोड रहेको थियो ।

बैठकपछि सञ्चारकर्मीलाई प्रतिक्रिया दिने क्रममा प्रवक्तासमेत रहेका प्रदीप ज्ञवालीले पनि सोही कुराको संकेत गरे । ‘शेरबहादुर देउवालाई प्रधानमन्त्री बनाउने र आफ्नो पार्टीको उम्मेदवारलाई हराउने कुरालाई गर्वका साथ केही साथीहरुले महिमा मण्डन गरिरहनुभएको छ । ती साथीहरु फर्किनुभयो भने राम्रै हो, तर पार्टी एकताको प्रयास र त्यो कुराबीच कहीँ कतै पनि तालमेल मिल्दैन’, प्रवक्ता ज्ञवालीले भने, ‘तर हाम्रो तर्फबाट कोशिश जारी रहन्छ ।’

नेता ज्ञवालीको यो भनाइको आशयबाट नेकपा एमालेको एकता कायम भइहाले पनि त्यसमा माधव नेपालसहितका केही कारवाहीमा परेका नेताहरु एकतामा अटाउँदैनन् भन्ने स्पष्टै बुझिन्छ । 

गत जेठ ८ गते बसेको एमाले बैठकले बरिष्ठ नेता माधवकुमार नेपालसहित ११ जनालाई पार्टी सदस्यसमेत नरहने गरी निष्कासन गरेको थियो भने घनश्याम भुसालसहित थप १२ जनालाई सोही दिन स्पष्टीकरण सोधेको थियो ।

२४ घण्टे अल्टिमेटमसहित सोधिएको स्पष्टीकरणको कुनै नेताले पनि जवाफ पठाएका छैनन् । तर, उनीहरुमाथि एक साता बित्दासमेत कारवाही नगरेर एमालेको ओलीपक्षले पर्ख र हेरको नीतिसँगै दुई सन्देश दिएको छ ।

पहिलो सन्देश पार्टी एकताप्रति लचिलो देखाउने । दोस्रो– गल्ति महसुस गरेर माधव पक्षमा लागेका कोही फर्कन चाहेमा उसलाई पार्टीमा स–सम्मान स्थान दिने ।

१२ जना नेताको स्पष्टीकरणका सन्र्दभमा सोधेको प्रश्नमा प्रवक्ता ज्ञवाली भन्छन्, ‘आज त्यसबारे छलफलको एजेण्डा नै थिएन । हामी छलफल पनि गरिरहेका छाैं । सकेसम्म एकतालाई जोगाउन सकियोस्, धेरैभन्दा धेरै साथीहरु मूलधारमा अडिनुस् भन्ने नै प्रयास छ ।’

यस्तै, ओली पक्षले यसअघि नेता माधवकुमार नेपाल र अध्यक्ष केपी ओलीबीचको सम्वादपछि गठित १० सदस्यीय कार्यदल पनि भंग भैसकेको जनाएको छ । प्रवक्ता ज्ञवालीले कार्यदल अस्तित्वमा नरहेको स्वीकार गरे । त्यसको विकल्पमा अन्य हिसाबबाट छलफल चलाउने एमालेको भनाइ छ ।

कार्यदलमा माधव नेपाल पक्षको संयोजक रहेका भीम रावल पार्टीको साधारण सदस्यबाटै निष्कासित भइसकेका छन् । यसबीचमा दुवै पक्षबीच भएका वार्तामा भीम रावल बाहेकका नेताहरु बस्ने गरेका छन् । जसलाई नेताहरुले अन्य हिसाबबाट छलफल भएको बताउने गरेका छन् ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

फणीन्द्र नेपाल
फणीन्द्र नेपाल

 फणीन्द्र नेपाल  राजनीति र समसामयिक विषयमा कलम चलाउँछन् ।

लेखकबाट थप