शनिबार, ०८ वैशाख २०८१
ताजा लोकप्रिय

अब मधेशलाई नेकपाले कसरी हेर्छ ?

शनिबार, ०५ जेठ २०७५, १५ : ५९
शनिबार, ०५ जेठ २०७५

–एसके यादव

काठमाडौं–‘माओवादी केन्द्र र एमालेबीच एकीकरण भएको छ  । त्यो स्वागतयोग्य कुरा हो तर मधेशको मामलामा आगामी दिनमा नेपाल कम्युनिष्ट पार्टी कसरी आगाडी बढ्छ । त्यसपछि मात्र सम्बन्ध कस्तो रहने भन्ने कुरा भर पर्छ ।’

एकीकरणको भोलिपल्ट अर्थात जेठ ४ गते संसदीय दलको कार्यालयमा रातोपाटीसँग कुराकानी गर्दै  राष्ट्रिय जनता पार्टी नेपाल अध्यक्ष मण्डलका सदस्य शरतसिंह भण्डारीले यस्तो प्रतिकृया दिए ।
 उनले अगाडि भने, ‘कुनै पनि दल एकीकृत हुनु खुशीको कुरा हो, त्यसमा कसैले कुनै आपत्ति जनाउनु हुँदैन ।  एकीकरण गरिसकेपछि अरु दलसँग अथवा जनतासँग गर्ने उसको कस्तो व्यवहार हुन्छ त्यो मुख्य कुरा हो ।’

माओवादी केन्द्र र एमाले एकीकृत हुँदा सबभन्दा बढी राजपालाई फाइदा  भएको पनि उनले दाबी गरे । 

उनले भने, ‘ दुई पार्टीबीच एकता हुँदा फाइदा हामीलाई भएको छ। हामी चौथो ठूलो दल थियौं अब तेस्रो दल भएका छौं, हामी त खुशी नै छौं तर आउने दिनमा मधेशको मुद्दाको बारेमा के गर्छ त्यसपछि हाम्रो थप प्रतिकृया आउँछ

।’

त्यही दिन राजपा नेपालको उपलब्ध अध्यक्ष मण्डलको बैठक पनि पार्टीका संयोजक महन्थ ठाकुरको निवास सानो ठिमीमा बसेको थियो । त्यो बैठकमा माओवादी र एमालेबीच एकीकरणका विषयमा पक्कै पनि समिक्षा भएको होला तर भण्डारीले त्यसमा विषयमा केही छलफल नभएको बताए ।

भण्डारीको जस्तै प्रतिक्रिया मधेस केन्द्रीत दलका अन्य नेता र विश्लेषकको रहेको छ । 

किनकी नेकपाले मधेशको बारेमा आफ्नो कस्तो धारणा रहने भन्नेकुरा बाहिर ल्याइसकेको छैन ।  एकीकृत हुनका लागि तयार पारेको दस्तावेज र घोषणापत्रहरुमा पनि मधेशको विषयमा केही कतै उल्लेख गरिएको छैन । 

‘अब मधेशलाई नेकपाले एमालेको नजरले हेर्छ कि माओवादी केन्द्रको नजरले ? त्यो आउने दिनको बहसले प्रष्ट्याउला’,  मधेश मामलाका जानकार एवं पूर्व राजदूत विजयकान्त कर्ण भन्छन्, ‘नेकपाका

लागि परीक्षाको घडी शुरु भएको छ ।  मधेशलाई हेर्न दुई फरक फरक धार मिलेर नेकपा बनेको छ । नेकपामा कुन धार हावी हुन्छ त्यसले मात्र मधेशसँगको सम्बन्धलाई प्रष्ट्याउँछ ।’

तत्कालिन माओवादी केन्द्र मधेशको मुद्दामा शुरुदेखि नै लचिलो थियो  भने  सो पार्टीले  संयुक्त लोकतान्त्रिक मधेशी मोर्चासँग  मिलेर गठबन्धन नै बनाएको थियो ।  त्यो गठबन्धनले लामो समयसम्म आन्दोलन पनि गरेको थियो । 

त्यति मात्र होइन, संविधान त्रुटीपूर्ण रहेको स्वीकार गर्दै तत्कालिन माओवादी केन्द्रले संशोधनका लागि पनि सघाएको थियो । संसदमा संशोधन प्रस्ताव पनि पेस भएको थियो । तर एमालेले सहयोग नगरेपछि प्रस्ताव अस्वीकृत हुन पुगेको थियो । मधेशको नजरमा माओवादी र एमाले दुई फरक फरक दल हुन् ।  ती दुवै दल एकीकृत भएपछि उसको मधेसलाई हेर्ने नजरबारे बहस सतहमा आएको हो ।  

पूर्वराजदूत कर्ण भन्छन्, ‘माओवादी केन्द्रले मधेशलाई सघाएकै थियो । मधेशका विषयमा बेलाबेलामा बोल्ने गथ्र्यो  । तर एमालेले विरोध गरिरहेको थियो । अब दुई पार्टी एकअर्कामा बिलिन भएपछि मधेशसँग तत्कालिन एमालेको जस्तै व्यवहार पनि हुन सक्छ  ।’

अब मधेसी दलहरुले  केन्द्रीय राजनीतिमा आफ्नो शक्ति देखाउने बेला भएको बताउँदै कर्णले भने, ‘ जबसम्म मधेशवादी दलहरु आफ्नो खुट्टामा उभिन सक्ने हँदैनन् ।  तबसम्म काँग्रेस र नेकपासँग अपेक्षा गर्न नै बेकार हो ।’

उनले एमाले र माओवादीबीचको एकीकरणले मधेशलाई कुनै फाइदा नहुने समेत दाबी गरे । 

संघीय समाजवादी फोरम नेपाल र राजपा नेपालले वर्तमान नेकपा नेतृत्वको सरकारलाई विश्वासको मत दिएको छ ।  सरकारमा सहभागिताको लागि कुरा पनि भइरहेको छ । तर, ती दुई दलले संविधान संशोधनको विषयलाई लिएर अडान लिएपछि सरकारमा सहभागी हुने कुरा सेलाएको छ । 

वरिष्ठ अभिवक्ता सुरेन्द्र महतोले एमाले र माओवादी केन्द्रबीच एकीकरण हुँदैमा त्यसले मधेशमा खासै असर नपार्ने बताए ।  उनले  ठूलो दलको नाताले मधेशलाई वाइपास गरेर हिँड्न समेत उनीहरुलाई गाह्रो हुने उनको तर्क छ । 

संविधान संशोधन कुनै पनि हालतमा हुन नदिने भनिरहेको एमाले पार्टी अहिले केही लचिलो भएको बताउँदै उनले मधेशको विषयमा तत्कालिन एमालेले थुप्रै रणनीतिहरुमा परिवर्तन गरेको बताए । 
सोहि कारण आउने दिनमा तत्कालिन माओवादीसँग मिलेर संविधान संशोधनको विषयमा सकारात्मक पहल लिन सकिने महतोका विश्लेषण छ । 

त्यो भनाई पत्रकार चन्द्रकिशोरको पनि रहेको छ । मोफसलबाट मधेशबारेमा निरन्तर कलम चलाउने चन्द्रकिशोर भन्छन्, ‘ दुई पार्टीको एकीकरणपछि मधेशको सवैधानिक अधिकारमा कुनै फरक पर्छ जस्तो मलाई लाग्दैन। बरु मधेशमा विकास समृद्धिका कुरा हुन्छ । विकास निर्माणका कामहरु हुन्छन् तर संवैधानिक अधिकारमा कुनै फेरबेदल हुँदैन ।’

यसबारे थप खुलस्त पार्दै उनी अगाडि थप्छन्,  ‘माआवादी केन्द्र र एमालेबीच एकीकरण भएर ठूलो ‘एमाले’ बनेको छ । राष्ट्रप्रतिको सोच, मधेशप्रतिको सोच, र राष्ट्रियताप्रतिको सोच तत्कादिन एमालेको जस्तै हुन्छ  ।’

उनले  एकीकरण भएपछि बनेको नेकपाले मधेशको विषयमा तत्कालै केही गर्ला जस्तो आफूलाई नलागेको पनि बताए ।     
 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी
रातोपाटी

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम । 

लेखकबाट थप