अरुण जेट्ली क्रिकेट स्टेडियम भरतको राजधानी सहर नयाँ दिल्लीको बहादुर शाह जाफर मार्गमा रहेको छ । यो क्रिकेट स्टेडियमको सञ्चालन तथा व्यवस्थापन दिल्ली क्रिकेट संघले गर्दै आएको छ । यो भारतको दोस्रो सबैभन्दा पुरानो क्रिकेट रंगशाला हो ।
यो क्रिकेट स्टेडियमको स्थापना सन् १८८३ मा भएको थियो । तर, सुरुवाती समयमा यो रंगशालालाई अन्य प्रयोजनका लागि बढी प्रयोग गरिन्थ्यो । यो रंगशालाको पहिलेको नाम भने ‘फिरोज शाह कोट्ला स्टेडियम’ हो । यो क्रिकेट स्टेडियममा हालसम्म टेस्ट, एकदिवसीय र टी—२० गरी तीनवटै ढाँचाको प्रतियोगिता आयोजना गरिएको छ । दिल्ली जिल्ला क्रिकेट संघले सन् २०१७ मा यो स्टेडियमका विभिन्न भागलाई आफ्ना चर्चित पूर्वखेलाडीहरुको नाममा समर्पित गरेको छ ।
स्टेडियमको कुनै भागको नाम भारतीय टोलीका पूर्वकप्तान विसनसिंह बेदीको नामबार, कुनै भागको नाम भारतीय टोलीका पूर्वअलराउन्डर मोहिन्द्र अमरनाथको नामबाट र कुनै भागको नाम भारतीय टोलीका पूर्वओपनर गौतम गम्भीरको नामबाट राखिएको छ । आफ्ना पूर्वखेलाडीहरुप्रति सम्मान व्यक्त गर्ने क्रममा यो स्टेडियममा घरेलु टोलीले प्रयोग गर्ने ड्रेसिङ रुमको नाम रमन लाम्बाको नाममा राखिएको छ । भ्रमणकारी टोलीले प्रयोग गर्ने ड्रेसिङ रुमको नाम भने प्रकाश भण्डारीको नाममा राखिएको छ । सन् २०१९ को सेप्टेम्बर १२ मा यो स्टेडियमको नाम परिवर्तन गरी ‘फिरोज शाह कोट्ला स्टेडियम’ बाट ‘अरुण जेट्ली स्टेडियम’ राखिएको हो । पूर्ववित्तमन्त्री अरुण जेट्ली दिल्ली जिल्ला क्रिकेट संघका पूर्वअध्यक्ष पनि हुन् । सन् २०१९ को अगस्त २४ मा उनको निधन भएपछि यो रंगशालाको नाम उनको नाममा राखिएको हो ।
आफू दिल्ली जिल्ला क्रिकेट संघको अध्यक्ष हुँदा यो रंगशालामा भौतिक पूर्वाधार विस्तार गर्न जेट्लीले निकै ठुलो भूमिका निर्वाह गरेका थिए । यसका अतिरिक्त विराट कोहली, बीरेन्द्र सेहवाग, गौतम गम्भीर, आशिष नेहराजस्ता प्रभावशाली खेलाडीहरू तयार पार्न पनि जेट्लीले महत्त्वपूर्ण भूमिका निर्वाह गरेका थिए । यो रंगशालाको दर्शक क्षमता ४१ हजार आठ सय ४२ रहेको छ । यो स्टेडियमको नाम परिवर्तन गर्दा निकै ठुलो विवाद पनि भएको थियो । थुप्रै पूर्वक्रिकेटरहरुले उक्त कार्यको विरोध गरेका थिए । यो स्टेडियममा सन् १९४८ को नोभम्बरमा पहिलो टेस्ट खेलिएको थियो । उक्त टेस्ट भारत र वेस्ट इन्डिजबीच खेलिएको थियो । यसैगरी पहिलो एकदिवसीय अन्तर्राष्ट्रिय क्रिकेट भने सन् १९८२ को सेप्टेम्बर १५ मा खेलिएको थियो । उक्त खेल भारत र श्रीलङ्काबिच भएको थियो । सन् २०२२ को अक्टोबर ११ देखि भने यो स्टेडियममा एकदिवसीय खेल खेलिएको छैन ।
यो स्टेडियममा सन् २०१६ को मार्च २३ मा पहिलो टी—२० अन्तर्राष्ट्रिय प्रतियोगिता खेलिएको थियो । उक्त खेलमा अफगानिस्तान र इङ्ल्यान्डबीच भएको थियो । आगामी विश्वकपमा यो स्टेडियममा पाँचवटा खेल खेलाइने भएको छ । इन्डियन प्रिमियर लिग क्लब देल्ही क्यापिटल्सले यो स्टेडियमलाई आफ्नो घरेलु मैदानका रूपमा प्रयोग गर्दै आएको छ । सन् २०१७ मा भारत र श्रीलङ्काबिच टेस्ट क्रिकेट भइरहँदा अत्यधिक प्रदूषणका कारण केही समय खेल प्रभावित हुन पुगेको थियो । त्यतिबेला श्रीलङ्काली खेलाडीहरूले मास्क लगाएर बाँकी खेल खेलेपछि त्यो घटना विश्वभर चर्चित बन्न पुगेको थियो ।
भारतले सन् १९८७, सन् १९९६ र सन् २०११ मा एकदिवसीय विश्वकप आयोजना गर्दा केही खेलहरू यो स्टेडियममा पनि खेलाइएको थियो । यो स्टेडियममा एकदिवसीय क्रिकेटमा हालसम्म दुई पटक मात्र तीन सयभन्दा बढी रन बनेको छ । एकदिवसीय अन्तर्राष्ट्रिय क्रिकेटमा यो रंगशालामा बनेको उच्च स्कोर आठ विकेट गुमाएर तीन सय ३० रन हो । सन् २०११ को विश्वकपमा नेदरल्यान्ड्सविरुद्ध वेस्ट इन्डिजले उक्त रन बनाएको थियो । यो स्टेडियममा हालसम्म आठजना ब्याट्सम्यानले मात्र शतक बनाउन सकेका छन् । शतक बनाउने खेलाडी श्रीलङ्काका रोय डायस (नेपाली टोलीका पूर्वप्रशिक्षक), भारतका सचिन तेन्दुल्कर, अस्ट्रेलियाका रिकी पोन्टिङ, इङ्ल्यान्डका निक नाइट, दक्षिण अफ्रिकाका एबी डे भिलियर्स, भारतका विराट कोहली, न्युजिल्यान्डका केन विलियम्सन र अस्ट्रेलियाका उसमान ख्वाजा हुन् । यो स्टेडियममा वेस्ट इन्डिजका भीम रिचर्डसले सन् १९८९ मा ६ विकेट लिएका थिए ।
दिल्ली क्यापिटल
मुम्बई इण्डियन्स
दिल्ली क्यापिटल
गुजरात टाइटन्स
दिल्ली क्यापिटल
पञ्जाब किङ्स
दिल्ली क्यापिटल
रोयल च्यालेन्जर्स बैंग्लुरु
दिल्ली क्यापिटल
चेन्नई सुपर किङ्स
दिल्ली क्यापिटल
कोलकत्ता नाइट राइडर्स
दिल्ली क्यापिटल
राजस्थान रोयल्स