बिहीबार, ०७ साउन २०८३
ताजा लोकप्रिय
२४ घन्टाका ताजा अपडेट
राताेपाटी ब्रिफिङ

१० बजे १० समाचार : विभाजनको बाटोमा कांग्रेस, सहकार्यको प्रयासमा ओली-प्रचण्ड

बुधबार, ०६ साउन २०८३, २२ : ००
बुधबार, ०६ साउन २०८३

आज २०८३ साउन ६ गते बुधबार । आज दिनभरका मुख्य १० घटनाक्रम रातोपाटी डटकमको नियमित प्रस्तुति ‘१० बजे १० समाचार’मा प्रस्तुत गरेका छौँ–

  • इतर समूहको एकै स्वर

नेपाली कांग्रेसको संस्थापनइतर (निवर्तमान सभापति शेरबहादुर देउवा र नेता डा. शेखर कोइराला) समूहका नेताहरूले विशेष महाधिवेशनबाट सभापति चयन भएका गगन थापाको एकलौटी कार्यशैली नसच्चिए पार्टी विभाजनको बाटोमा जाने चेतावनी दिएका छन् । 

 नेपाली कांग्रेसका संस्थापक तथा नेपालका पहिलो जननिर्वाचित प्रधानमन्त्री विश्वेश्वरप्रसाद (बीपी) कोइरालाको स्मृति दिवस हो साउन ६ गते । घाँटीको क्यान्सरका कारण २०३९ साउन ६ गते उनको निधन भएको थियो ।

  • फेरि सहकार्यको प्रयास

वाम गठबन्धन भत्किएको २४ महिनापछि नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओली र नेपाली कम्युनिस्ट पार्टीका संयोजक पुष्पकमल दाहाल ‘प्रचण्ड’ फेरि नजिकिएका छन् । प्रदेशमा नेपाली कांग्रेस र एमालेको सत्ता गठबन्धन सङ्कटमा परेको बेला ओली र प्रचण्ड नजिकिएका हुन् ।

  • विध्वंसको धक्का

सर्वोच्च अदालतले २०८१ साउन १ गतेदेखि न्यायपालिकाको पाँचौं पञ्चवर्षीय रणनीतिक योजना लागु गर्दै मुद्दा फर्स्योटलाई प्राथमिकतामा राखेको थियो । तर, २०८२ भदौ २४ को विध्वंसका क्रममा अदालतमा भएको आगजनीका कारण उक्त रणनीतिक योजना प्रभावित भएको छ । 

  • एमआरपीमा समस्या

विदेशबाट आयात हुने वस्तुमा भन्सार बिन्दुमै अनिवार्य रूपमा अधिकतम खुद्रा मूल्य (एमआरपी) तोक्नुपर्ने नियम कार्यान्वयनबाट सरकार पछि हटेको छ । साउन १ गतेदेखि कडाइका साथ लागू गर्ने भनिएको उक्त व्यवस्थालाई बेवास्ता गर्दै सरकारले पुनः व्यापारीहरूको ‘स्वघोषणा’लाई नै मान्यता दिएको छ । 

  • कसरी हुँदैछ पुनर्निर्माण ?

 जेनजी आन्दोलनका क्रममा आगलागीमा परेका मुलुकका प्रमुख प्रशासकीय संरचना तथा विशिष्ट पदाधिकारीका निवासहरूको पुनर्निर्माणको कार्य विभिन्न चरणमा भइरहेका छन् । 

  • सुकुमबासीका पीडा

सरकारले खोला किनारबाट उठीबास लगाएपछि सुकुमबासीहरूको यतिबेला बेहाल छ । एक्कासि थातथलो छाडेका उनीहरूलाई सरकारले न पुनर्स्थापना गर्न सकेको छ न त कतै दिगो व्यवस्थापन नै । 

  • मन्त्रिपरिषद् बैठक

मन्त्रिपरिषद् बैठकले विभिन्न ६ वटा निर्णय गरेको छ । शिक्षामन्त्री तथा सरकारका प्रवक्ता सस्मित पोखरेलले बुधबरा बसेको बैठकले नियुक्ति, शुल्क छुट र छानबिन समिति गठन सहितका ६ वटा निर्णय गरेको जानकारी दिए । 

  •  कूटनीतिमाथि विपक्षीको प्रश्न

राष्ट्रिय स्वतन्त्र पार्टीका नेता वालेन्द्र (बालेन) शाह नेतृत्वको सरकारले अन्तर्राष्ट्रिय सम्बन्ध असन्तुलित बनाएको भन्दै विपक्षी दलले आपत्ति जनाउन थालेका छन् । यो सरकारले परम्परादेखि छिमेकीसँग रहँदै आएको सम्बन्ध बिगारेको, अन्य अन्तर्राष्ट्रिय सम्बन्धमा असर पार्ने खालको काम गरेको उनीहरूको आरोप छ ।

  • कार्गो रेल

भारतको बथनाहादेखि विराटनगरको एकीकृत भन्सार जाँच चौकी (आइसीपी), बुधनगरसम्म सोमबार कार्गो रेलको आगमनले कोशी प्रदेशको व्यापारिक वृत्तमा उत्साह सञ्चार गरेको छ । यस उत्साहसँगै एउटा प्रश्न पनि उब्जिएको छ– के यो कार्गो रेल सेवा नियमित रूपमा सञ्चालन होला ?

  • कोशी प्रदेश १०औँ मुख्यमन्त्री ?

सुदूरपश्चिम, कर्णालीपछि बाग्मतीको प्रदेश सरकारमा एमाले–कांग्रेसका मन्त्रीहरूले धमाधम राजीनामा दिएपछि अन्ततः ती दुई दलको गठबन्धन टुटेको छ । एमाले र कांग्रेसको गठबन्धन भत्किएपछि दुई वामपन्थी दल एमाले र नेपाली कम्युनिस्ट पार्टी (नेकपा)बिच नयाँ गठबन्धनको तयारी भएको नेताहरू बताउँछन् । 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप