बुधबार, १९ वैशाख २०८१
ताजा लोकप्रिय
२४ घन्टाका ताजा अपडेट

पेरुमा संकट गहिरियोः संसद विघटन, संसदद्वारा राष्ट्रपति निलम्बित

मङ्गलबार, १४ असोज २०७६, १४ : २३
मङ्गलबार, १४ असोज २०७६

लिमा– पेरुका राष्ट्रपति मार्टिन भिजकाराले सोमबार संसद विघटन गरी ताजा निर्वाचनका लागि आह्वान गरेका छन् । पेरुमा लामो समयदेखि जारी संस्थागत संकटकै बीच राष्ट्रपतिले संसद भङ्गको घोषणा गरेका हुन् ।

राष्ट्रपति भिजकाराले संसदले भ्रष्टाचार रोक्न ल्याइएका सुधारका कार्यमा अवरोध गरेको तथा सर्वोच्च अदालतमा नियुक्त हुने न्यायाधीशको छनौटको विधि परिवर्तन गर्न नचाहेको भन्दै संसदको आलोचना गरिरहेका थिए । 

यी दुई विषयलाई लिएर राष्ट्रपति र संसदबीच लामो समयदेखि विवाद र असमझदारी रहेको छ । टेलिभिजनबाट राष्ट्रका नाममा सम्बोधन गरेको केहीपछि नै संसदले राष्ट्रपतिलाई नै एक वर्षका लागि निलम्बित गर्नेगरी मतदान गरेको थियो । राष्ट्रपतिमा ‘नैतिक अक्षमता’ रहेको भन्दै संसदले उपराष्ट्रपति मर्सिडेज आराओजलाई कार्यवाहक राष्ट्रप्रमुखमा मनोनयन गरेको छ ।

संसदका सभामुख पेड्रो ओलेचाले संसदको बैठक शुक्रबारका लागि डाकिएको र त्यसले राष्ट्रपति भिजकारालाई पदबाट हटाउने जानकारी दिए । ‘हामी अहिले सत्ताविद्रोहको अवस्थामा छौं,’ विपक्षी सांसद जोर्ज डेल कास्टिल्लोले भने । ‘मुलुकको सशस्त्र फौज र प्रहरी राजनीतिकर्मीहरुको यस खेलबाट टाढै रहने मेरो विश्वास छ ।’

यो घटना पनि पेरुमा वर्षौंदेखि जारी राजनीतिक विवादकै एक शृङ्खलाका रुपमा देखिएको विश्लेषकहरुले टिप्पणी गरेका छन् । राष्ट्रपतिमा निर्वाचित भएदेखि नै भिजकाराले संसदसँग पटकपटक संघर्ष गर्नुपरेको थियो । संसदमा केइकी फुजिमोरी नेतृत्वको पपुलर फोर्स पार्टी बहुमतमा रहेको छ । केइकी फुजिमोरी आफैं पनि भ्रष्टाचारको आरोपमा जेलमा रहेका छन् । –एएफपी/photo: REUTERS

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

एजेन्सी
एजेन्सी
लेखकबाट थप