सोमबार, ०७ जेठ २०८१
ताजा लोकप्रिय

आठराई विमानस्थल तीन वर्षभित्रै सञ्चालनमा आउछ : मन्त्री भट्टराई

बिहीबार, ०७ कात्तिक २०७६, २१ : ०२
बिहीबार, ०७ कात्तिक २०७६

तेह्रथुम – संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री योगेशकुमार भट्टराईले ४१ वर्ष अघिदेखि प्रक्रिया अगाडि बढेर अड्किएको आठराई विमानस्थल निर्माणले गति लिने बताएका छन्छ । हवाईमैदानको स्थलगत अध्ययनका लागि आज चुहानडाँडा आउनुभएका मन्त्री भट्टराईले विमानस्थल निर्माणको आवश्यक प्रक्रिया अगाडि बढिसकेको बताए ।

यो आर्थिक वर्षभित्र विस्तृत अध्ययन प्रतिवेदन, वातावरणीय प्रभाव मूल्याङ्कन र बोलपत्र आह्वानको कार्य हुने भएकाले विमानस्थल बन्ने मन्त्री भट्टराईले बताए । अरू विमानस्थलभन्दा पनि विभिन्न कारणले चुहानडाँडा विमानस्थल प्राथमिकतामा रहेको उनको भनाइ थियो । 

पाँचथर, ताप्लेजुङ र तेह्रथुमको केन्द्रमा भएकाले सो  विमानस्थल निर्माण हुनु महत्वपूर्ण रहेको मन्त्री भट्टराईले बताए । आठराई गाउँपालिका–६ चुहानडाँडामा रहेको थुम्कीडाँडामा विमानस्थल बनाउने चर्चा २०३२ सालदेखि नै चलेको हो । यसअघि पाँच पटक सम्भाव्यता अध्ययन गरिएको छ । विमानस्थल निर्माणका लागि २०३२, २०३५, २०६९ र २०७१ सालमा सम्भाव्यता तथा सर्वेक्षण गरिएको थियो ।  

सम्भाव्यता तथा सर्वेक्षण अध्ययनका आधारमा उपयुक्त ठहरिइ २०७३ मा विस्तृत सर्वेक्षण भई लागत स्टिमेटसमेत भएको भक्तराज स्मृति आठराई थुम्की विमानस्थल सरोकार समितिका अध्यक्ष तथा प्रदेशसभा सदस्य  तेजमान कन्दङवाले बताए । 

विमानस्थल निर्माणका लागि तत्कालीन प्रधानमन्त्री डा बाबुराम भट्टराई, सुशील कोइराला र वर्तमान प्रधानमन्त्री केपी शर्मा ओलीसमक्ष अनुरोध गरिएको उनले बताए । विमानस्थलका लागि पटकपटक अध्ययन र प्रतिनिधिमण्डल सरकारसमक्ष पुगे पनि कार्यान्वयनमा आउन नसकेको स्थानीयवासी रामबहादुर लिम्बूले बताए । 

आठराई क्षेत्रको आवश्यकता र समृद्धिसँग जोडिएको विमानस्थलको जग्गा मुआब्जाका लागि रु दुई करोड ५० लाख लाग्ने भक्तराज स्मृति आठराई थुम्की विमानस्थल सरोकार समितिका सचिव रामचन्द्र थपलियाले बताए । दुई सय ७१ रोपनीमा फैलिएको सो ठाउँमा १० स्थानीयवासीको जग्गा छ ।

मन्त्री भट्टराईसँगै नागरिक उड्डयन प्राधिकरणका महानिर्देशक राजन पोख्रेल र प्राविधिकसहितको टोली आठराई आएको हो । 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रासस
रासस

राष्ट्रिय समाचार समिति नेपालकाे  सरकारी समाचार संस्था हाे ।

लेखकबाट थप