बिहीबार, ०३ जेठ २०८१
ताजा लोकप्रिय

तराई मधेशमा आजदेखि विधिवत रुपमा छठपर्व सुरु

बुधबार, १३ कात्तिक २०७६, १९ : ०६
बुधबार, १३ कात्तिक २०७६

पर्सा–तराई मधेशमा आजदेखि छठपर्व विधिवत रुपमा सुरु भएको छ । पाँच दिनसम्म अत्यन्तै निष्ठापूर्वक मनाइने छठको पहिलो दिन आज ब्रतालुले माछा र कोदो बार्ने (नखाने) दिन हो । यो दिनलाई माछमरुवा बार्ने दिन पनि भनिन्छ । परिवार एवम् सन्तानको सुख समृद्धिको कामना गर्दै अत्यन्त श्रद्धापूर्वक मनाइने छठ पर्वको दोश्रो दिन ब्रतालुहरु नुहाएर अरबा अरबाईन भोजन गर्ने गर्दछन् भने तेश्रो दिन साँझ प्रसादको रुपमा चामल, सक्खर र दुध मिलाएर बनाएको खीर ग्रहण ग्रहण गरी खरना गर्दछन् । त्यस्तै चौथो दिन अस्ताउँदो सूर्यलाई अर्घ दिन तयार पारेको पूजा सामग्री घाटमा लगेर पूजा गर्ने गर्छन् भने पाँचौ दिन बिहान उदाउँदो सूर्यको अर्घ दिएपछि छठपर्वको विधिवत समापन हुन्छ ।

यो वर्ष छठ पर्वको मुख्य दिन शनिबार परेको छ । शनिवार अस्ताउँदो र आईतबार उदाउँदो सूर्याको अर्घ दिएर छठ पर्व सम्पन्न हुन्छ । छठ पर्वमा बाँसको ढाकी, डग्री, माटोको कोसिया, कुरबार, हाती लगायतको सामग्रीहरु चढाईन्छ । त्यस्तै प्रसादको रुपमा ठकुवा, भुसुवा, केरा, खाजा, उखु, हल्दी, अदुवा एवम् विविध प्रकारका मिठाई तथा फलफूल सूर्य देवता अर्थात दिनानाथलाई चढाउने गरिन्छ । अर्घ दिने ब्रतालु ४८ घन्टासम्म पानी पनि नखाई उपबास बस्ने गर्दछन् ।

छठ पर्वमा सूर्य भगवान अर्थात दिनानाथलाई अर्घ दिन तयार गरिने परिकारहरु अत्यन्तै नियम निष्ठापूर्वक गर्नुपर्ने भएकाले छठलाई निष्ठा र कठोर पर्वको रुपमा मानिन्छ । तराई मधेशवासी अहिले पूर्णरुपमा छठपर्वको तयारीमा जुटेका छन् । छठपर्वको पूजा सामग्री जोरजाम र किनमेल गर्न यतिबेला बजारमा घुइँचो लाग्ने गरेको छ ।

त्यस्तै आदिदेव सूर्य भगवानलाई अर्घ दिन तराई मधेशको नदी, तलाउ, पोखरी, ईनार लगायतको जलाशयको किनारमा घाटलाई श्रृँगारिने काम भइरहेको छ । खास गरी जनकपुरको धार्मिक तथा ऐतिहासिक पोखरी तलाउ गंगासागर, धनुसागर, अंगराजसर, दशरथ तलाउ लगायतको पोखरीहरुलाई नवदुलही झै सजाएर झकिझकाउ बनाउने कार्य जारी छ । अहिले गाउँघर, सहर बजार, गल्लीमा छठपर्वका नानाथरी सुमधुर गीत गुञ्जिरहेका छन् । वास्तवमा अहिले मिथिलाञ्चल लगायत तराई मधेश नै छठमय बनेको छ ।

अस्ताउँदो र उदाउँदो सूर्यलाई अर्घको रुपमा चढाइएको पूजा सामग्री प्रसादको रुपमा ग्रहण गर्ने चलन छ । छठ पर्वलाई समाजिक सद्भाव एवं एकताको पर्वको रुपमा पनि लिईन्छ । पहिले तराईका बासिन्दाले मात्र मनाउने छठ पर्व हिजोआज पहाडका बासिन्दाले समेत मनाउन थालेका छन् । यसैबीच पर्सा, बारा लगायतका मध्यतराईका जिल्लामा छठ पूजाको अन्तिम तयारी तीव्र रुपमा भइरहेको छ । छठ पर्व मनाउनेहरु पोखरीको डिल र नदीको किनारको सरसफाई गर्दै आ–आफ्ना पूजास्थल सुरक्षित गर्नमा तल्लिन भएर जुटेका छन् । मध्यतराईका जिल्लामा रहेका छठी घाटहरूमा सरसफाई, सजावट र व्यवस्थापनका कामहरू तीव्र रुपमा भइरहेको छ ।

बीरगञ्जको घडीअर्वा, रानीघाट, नगवा, मुर्ली, छपकैया, पिपरा, राम गढवा, परवानीपुर लगायतका क्षेत्रमा छटघाट सजावट र सरसफाईको काम तीव्र रुपमा भइरहेको छ । तराई मधेसमा बस्ने भोजपुरी र मैथिली भाषी हिन्दुको मुख्य पर्वमा पछिल्लो समयमा अन्य समुदायको पनि आकर्षण बढ्दै गएको छ । अहिले वीरगञ्ज लगायत मध्य तराईका गाउँघर, छठिघाट र स्थानीय एफएम रेडियोहरु समेत छठका गीतले गुञ्जायमान छन् भने बजारलाई छठका सामाग्रीहरुले ढाकेको छ । यसैबीच तराई मधेशमा दाजुभाइ तथा दिदीबहिनी बीचको प्रेमको प्रतिकका रुपमा मनाइने सामाचकेवा पर्वको पनि चहलपहल सुरु भएको छ ।

यसपर्वको अवसरमा माटाको कलात्मक मूर्ति बनाएर पूजापाठ गर्ने गरिन्छ । कात्तिक शुक्ल द्वितीया अर्थात् भाइटीकाका दिन मूर्ति बनाउनका लागि माटो ल्याउने र पन्ध्र दिनका अवधिमा मूर्ति तयार गरेर कात्तिक पूर्णिमाको मध्यरातमा यो पर्व सम्पन्न गरिन्छ । माटाका विभिन्न प्रकारका जनावर, चरा र मानव लगायतका मूर्ति बनाइन्छ । ग्रामीण क्षेत्रमा अझै पनि सामाचकेवा पर्वको लोकप्रियता कायम रहेपनि तराईका सहरी क्षेत्रमा भने क्रमिक रुपमा यस पर्वप्रतिको आकर्षणमा कमी आएको महसुस गर्न थालिएको छ ।

यो पर्वमा दिदीबहिनीले पर्वको अवधिभर बेलुकीको समयमा दाजुभाइको प्रशंसाको साथै आशिष दिने खालका सामा गीत गाउने गर्छन् । गीतका माध्यमबाट दिदीबहिनीले आ–आफ्ना दाजुभाइलाई ठूला व्यक्ति बन्ने आशिष एंव शुभकामना दिने चलन रहेको छ ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप