शुक्रबार, २८ वैशाख २०८१
ताजा लोकप्रिय

काठमाडौंमा ईंटाभट्टा पीडित आन्दोलित

मङ्गलबार, ०१ पुस २०७६, १६ : २२
मङ्गलबार, ०१ पुस २०७६

काठमाडौँ । काठमाडौं उपत्यकाभित्रका दुई स्थानीय तहका बासिन्दा सम्मिलित ईंटाभट्टा पीडित मूल संघर्ष समितिले आन्दोलन घोषणा गरेको छ । चन्द्रागिरि नगरपालिका र कीर्तिपुर नगरपालिकाका बासिन्दाहरुको भेलाद्वारा गठित संघर्ष समितिले नगरपालिकाद्वारा नै बन्द गर्ने भनेर निर्णय भइसकेका कतिपय ईंटा भट्टा अझै सञ्चालन भइरहेको भन्दै आन्दोलन थालेको हो ।

ईंटा भट्टा पीडित मुल संघर्ष समितिका संयोजक मुकुन्दप्रसाद घिमिरेका अनुसार काठमाडौँ जिल्लाका प्रमुख जिल्ला अधिकारीको कार्यकक्षमा चन्द्रागिरि र कीर्तिपुर नगरपालिकाका मेयर लगायतका पदाधिकारीहरु, ईंटाभट्टा पीडित स्थानीय बासिन्दा र ईंटाभट्टा सञ्चालकहरुसमेत सम्मिलित छलफलमा जनप्रतिनिधिले नै ईंटा भट्टा बन्द गराउने प्रतिवद्धता जनाएका थिए । तर चन्द्रागिरि नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत युवराज पौडेलले ईंटाभट्टा सञ्चालकलाई साथ लिएर प्रमुख जिल्ला अधिकारीसमक्ष ईंटाभट्टा सञ्चालनको पक्षमा लबिङ भएको आरोप उनले लगाए ।

प्रमुख जिल्ला अधिकारीले ईंटाभट्टा हटाउने सन्दर्भमा घरेलु तथा साना उद्योग कार्यालयका प्रमुख रामचन्द्र अधिकारीको संयोजकत्वमा समिति गठन गरी १५ दिनभित्र सुझाव पेश गर्न निर्देशन दिएको संघर्ष समितिका संयोजक घिमिरेको भनाइ छ । तर उक्त समितिले निर्धारित कार्यसूचीमा छलफल नै नगरी समय लम्ब्याउँदै गएको र नगरपालिकाकै जनप्रतिनिधिसमेतले नगर कार्यपालिका र नगरसभाको निर्णयविपरित भूमिकामा आफूलाई केन्द्रित गर्न थालेपछि आफूहरु छलफलबाट बाहिरिएर संघर्षमा उत्रनुपरेको उनले बताए ।

‘नगरपालिकाबाट भएको निर्णय कार्यान्वयन गर्न नगरपालिका स्वयं लाग्नुपर्नेमा नगरपालिकाको ईंटाभट्टा बन्द गर्ने निर्णय कार्यान्वयन गर्न÷गराउन हामी स्थानीय बासिन्दाहरु आन्दोलनमा लाग्नुपरेको अवस्था चन्द्रागिरि नगरपालिकाका लागि, चन्द्रागिरि नगरपालिकाको नगरसभा र कार्यपालिकाका लागि समेत लज्जाको विषय हो,’ संघर्ष समितिका संयोजक घिमिरेद्वारा मंगलबार जारी विज्ञप्तिमा भनिएको छ ।

२०७२ सालमै सर्वदलीय बैठकले चन्द्रागिरि नगरपालिकाभित्रका सम्पूर्ण ईंटाभट्टा बन्द गराउने निर्णय गरी नगरपालिकाका तत्कालिन कार्यकारी प्रमुखले ईंटाभट्टा सञ्चालक, जिल्ला प्रशासन कार्यालय, घरेलु तथा साना उद्योग कार्यालय काठमाडौँ लगायतलाई पत्राचारसमेत गरिसकेको संघर्ष समितिको भनाइ छ ।

स्थानीय तहको निर्वाचनपछि पनि २०७५ साउन १० गते चन्द्रागिरि नगरपालिकाको नगरपरिषद बैठकले आर्थिक वर्ष २०७५÷०७६ देखि ईंटाभट्टा सञ्चालन बन्द गर्ने निर्णय गरेको तथा २०७६ असार ३० गते बसेको नगर कार्यपालिकाको बैठकले २०७६ साउन १ गतेदेखि नै नगर क्षेत्रका ईंटाभट्टा बन्द गराउने निर्णय गरी पत्राचारसमेत भइसकेको अवस्थामा हालसम्म पनि ईंटाभट्टा बन्द नगरिएको संघर्ष समितिको आरोप छ ।  तस्बिरः सुवास श्रेष्ठ/रातोपाटी 


  

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप