बिहीबार, २५ असार २०८३
ताजा लोकप्रिय

करणले कंगनासँग काम गर्ने इच्छा देखाए, बहिनी रंगोलीले भनिन्, ‘उनीबाट टाढै बस, यसैमा कल्याण छ’

बिहीबार, १६ माघ २०७६, ०८ : ०४
बिहीबार, १६ माघ २०७६

बलिउड फिल्म निर्माता करण जोहरले हालै एक अन्तर्वार्तामा कंगना रनोटसँग पद्मश्री पाउनु उनको लागि सम्मानको कुरा भएको बताए । त्यतिबेला उनले भविष्यमा उनीसँग कंगनाको लायकको कुनै फिल्म भए त्यसमा उनलाई साइन गर्नका लागि फोन गर्ने पनि बताए । करणको यो बयानमा कंगनाकी बहिनी तथा म्यानेजर रंगोली चन्देलले उनलाई तथानाम भनेकी छिन् । रंगोलीले एकपछि अर्को गर्दै तीनवटा ट्वीट गरेर करण जोहरमाथि कटाक्ष गरेकी छिन् ।

पहिलो ट्वीटमा जोहरको बयानको मजाक उडाउँदै रंगोलीले लेखिन्, ‘करण जोहरले यसरी भनिरहेका छन् कि कंगना फोन गर्ने बित्तिकै आउनेछिन् । भाइसाहेब, तपाईं र मैले चाहँदा के हुन्छ ? कंगनालाई त स्क्रिप्ट चाहिन्छ । कहिले हुन्छ तपाईंसँग उनी लायकको स्क्रिप्ट ?’

दुई ट्वीटमा उडाइन् ‘ए दिल हे मुश्किल’ को मजाक

त्यसपछिको दुईवटा ट्वीटमा रंगोलीले करण जोहरको अनुष्का शर्मा र रणबीर कपुर स्टारर फिल्म ‘ए दिल हे मुश्किल’ को मजाक उडाएकी छिन् । उनले लेखेकी छिन्, ‘कंगनाले अन्तिम पटक करण जोहरको ‘ए दिल हे मुश्किल’ हेरेकी थिइन् । उनी रिसले रातो भइन् । मलाई भनिरहेकी थिइन् कि क्यान्सर रोगीको किमोथेरापी चलिरहेको छ, तर पनि पछि लाग्ने युवकले जबर्जस्ती गर्दै उनलाई भनिरहेको छ, ‘अब त मेरो भइदेउ, अब त तिमीलाई क्यान्सर लागेको छ ।’’

रंगोलीले थपिन्, ‘फिल्म (ए दिल हे मुश्किल) हेरेपछि कंगना लामो समयसम्म आहत भइन् । करण जोहरजी यदि यस्तै स्क्रिप्ट लिएर आउनुहुन्छ भने तपाईंलाई भगवान नै बचाउन सक्नुहुन्छ । कंगनाबाट टाढै रहनुहोस् । सबैको कल्याण यसैमा छ ।’

यस्तो थियो करण जोहरको पूरा बयानः

करण जोहरले अन्तर्वार्तामा भनेका थिए, ‘मेरो र कंगनाबीचको तिक्तता र तनावबारे धेरै कुरा भनिएको छ । तर हामी हरेक सार्वजनिक कार्यक्रममा एक–अर्कालाई सम्मानपूर्वक भेट्छौं र बधाई दिन्छौं । फिल्म निर्माताको रुपमा म कंगनाको क्षमता, कलाकारिता र उनले जे पनि हासिल गरेकी छिन्, त्यसको सम्मान गर्छु । उनी यस्ती अभिनेत्री हुन्् जसले आफूलाई प्रमाणित गरेकी छिन् । एकता कपुर र अदनान सामीबाहेक कंगनासँग पद्मश्री पाउनु मेरो लागि सम्मानको कुरा हो ।’

कंगनासँग काम गर्ने बारे उनले भनेका थिए, ‘भोलिका दिनमा यदि कंगनाको आवश्यकता पर्ने फिल्म मसँग भए म फोन उठाउनेछु र उनलाई कल गर्नेछु । कुनै पनि समस्या छ, सोसल मिडियामा जे पनि भनिएका छन् त्यो मेरा लागि नगण्य छन् । म फिल्म निर्माता हुँ र उनी एक कलाकार । कुनै पनि व्यक्तिगत पूर्वाग्रहले सम्बन्धमा बाधा पुर्याउनु हुँदैन । म यसैमा विश्वास राख्छु र सधैं यसमा अडिग रहनेछु ।’

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

एजेन्सी
एजेन्सी
लेखकबाट थप