बालबालिकालाई सधैँका लागि प्रचुर मात्रामा तरकारी खाने बानी कसरी बसाल्ने ?
सारांश
- बालबालिकालाई प्रशस्त फलफूल र तरकारी समावेश भएको विविध आहार खान आवश्यक छ, जसले उनीहरूको स्वस्थ विकास, सोच्ने क्षमता, ध्यानकेन्द्रित गर्ने शक्ति, व्यवहार तथा विद्यालयको पढाइसमेत प्रभावित पार्छ ।
- वैज्ञानिकहरूले बालबालिकाको खाने बानी सुधार्न घरमै सजिलै अपनाउन सकिने केही प्रभावकारी उपायहरू पत्ता लगाएका छन्, जसमा बारम्बार तरकारीसँग परिचित गराउने, तरकारी पहिले खान दिने, स्वस्थ खानेकुराको मात्रा बढाउने, तरकारीलाई आकर्षक देखिने बनाउने, परिवारसँगै बसेर खाना खाने र खानालाई रमाइलो बनाउने जस्ता अभ्यासहरू समावेश छन् ।
- सानै उमेरदेखि विभिन्न तरकारी बारम्बार खुवाउने प्रयासले बालबालिकामा तरकारीप्रतिको रुचि बढाउन ठुलो भूमिका खेल्छ र प्रि-स्कुल उमेर तरकारी मन पराउने बानी विकास गराउने सबैभन्दा उपयुक्त समय हो ।
दैनिक खानेकुरासँग सम्बन्धित साना परिवर्तनहरूले बालबालिकाले भविष्यमा के खाने भन्ने कुरामा दीर्घकालीन प्रभाव पार्न सक्छ ।
बालबालिकालाई पर्याप्त मात्रामा तरकारी खुवाउनु धेरै अभिभावकका लागि चुनौतीपूर्ण विषय हो । अभिभावकहरूबीच हुने अनलाइन छलफल र फोरमहरूमा प्रायः यस्ता प्रश्नहरू देखिन्छन्, ‘मेरो बच्चाले सेतो वा फिका रङका खानेकुरा मात्रै खान्छ, के यो सामान्य हो ?’
यसको एउटा मुख्य कारण के हो भने बच्चाहरूमा मिठो स्वादप्रतिको रुचि जन्मदेखि नै विकास हुन थाल्छ । आमाको दूधमा पनि प्राकृतिक चिनी हुने भएकाले त्यसको स्वाद मीठो हुन्छ । त्यसपछि बच्चाले ठोस खाना खान थालेपछि ब्रोकाउलीको एउटा टुक्रा वा पालुङ्गोको एक चम्चा खान लगाउनु निकै कठिन हुन सक्छ ।
तर स्वस्थ विकासका लागि बालबालिकाले प्रशस्त फलफूल र तरकारी समावेश भएको विविध आहार खान आवश्यक हुन्छ । असन्तुलित खानपानले उनीहरूको सोच्ने क्षमता, ध्यानकेन्द्रित गर्ने शक्ति, व्यवहार तथा विद्यालयको पढाइसमेत प्रभावित हुन सक्छ ।
बालबालिकामा बढ्दो मोटोपनले दीर्घकालीन स्वास्थ्य समस्या मात्र होइन, शैक्षिक उपलब्धिलाई समेत असर पार्ने अनुसन्धानहरूले देखाएका छन् । सुखद पक्ष के हो भने वैज्ञानिकहरूले बालबालिकाको खाने बानी सुधार्ने नयाँ उपायहरू खोजिरहेका छन् । अनुसन्धानले घरमै सजिलै अपनाउन सकिने केही प्रभावकारी उपायहरू पनि पत्ता लगाएको छ ।
१. बारम्बार तरकारीसँग परिचित गराउनुहोस्
बेलायतको लिड्स विश्वविद्यालयकी बायोसाइकोलोजी प्राध्यापक मेरियन हेदरिङ्टनका अनुसार सानै उमेरदेखि विभिन्न प्रकारका तरकारी बारम्बार खुवाउने प्रयासले बालबालिकामा तरकारीप्रतिको रुचि बढाउन ठुलो भूमिका खेल्छ ।
उनका अनुसार प्रि–स्कुल (विद्यालय जानुअघिको) उमेर तरकारी मन पराउने बानी विकास गराउने सबैभन्दा उपयुक्त समय हो । उनी भन्छिन्, ‘यदि पाँच वर्षको उमेर पुग्दासम्म बच्चालाई विभिन्न तरकारीसँग परिचित गराइएन भने त्यसपछि यो काम निकै कठिन हुन्छ । असम्भव त होइन, तर धेरै मेहनत गर्नुपर्छ ।’
विभिन्न अध्ययनले देखाएका छन् कि कुनै नयाँ खानेकुरा बच्चाले स्वीकार गर्नुअघि त्यसलाई धेरै पटक देख्न र खानुपर्ने हुन्छ ।

यद्यपि कति पटक दिनुपर्छ भन्ने विषयमा अनुसन्धानहरू एकमत छैनन् । कतिपय अध्ययनले पाँच पटक पर्याप्त हुने देखाएका छन् भने केहीले १५ पटकसम्म प्रयास गर्नुपर्ने बताउँछन् । यसको कारण प्रत्येक बच्चाको स्वभाव फरक हुनु हो ।
एक वर्षभन्दा कम उमेरका बालबालिकाले नयाँ खानेकुरा स्वीकार गर्न कम पटक प्रयास नै पर्याप्त हुन सक्छ । तर तीनदेखि चार वर्ष उमेरका बालबालिकामा नयाँ खानेकुरा खान हिच्किचाउने (फुड नियोफोबिया) प्रवृत्ति बढी देखिने भएकाले उनीहरूलाई अझ धेरै प्रयास गर्नुपर्ने हुन सक्छ ।
यो प्रक्रिया जन्मिनुअघि नै सुरु हुन्छ
अनुसन्धानले देखाएको छ कि गर्भवती आमाले खाने खानेकुराको स्वाद एम्नियोटिक फ्लुइड (गर्भजल) मार्फत गर्भमा रहेको शिशुसम्म पुग्न सक्छ ।
यसले बच्चाको भविष्यको स्वाद र खाने रुचिमा समेत प्रभाव पार्न सक्छ ।
२. तरकारी पहिले खान दिनुहोस्
बालबालिकालाई ‘यो स्वास्थ्यका लागि राम्रो हो’ भनेर मात्रै तरकारी खान लगाउने प्रयास उल्टै असफल हुन सक्छ । अनुसन्धानका अनुसार बच्चाहरूले ‘स्वादिलो’ भनेर चिनाइएको खानेकुरा ‘स्वास्थ्यकर’ भनिएको खानेकुराभन्दा बढी रोज्ने गर्छन् । त्यसैले तरकारी खाना सुरु गर्नेबित्तिकै, बच्चा सबैभन्दा बढी भोकाएको बेला दिनु प्रभावकारी हुन सक्छ ।
हेदरिङ्टन भन्छिन्, ‘बच्चाले आफूलाई सबैभन्दा मन पर्ने खानेकुरा पहिला खान्छ । त्यसपछि पालुङ्गो वा केराउ खाने बेलासम्म उसलाई भोक नै लाग्दैन ।’ त्यसैले धेरै क्यालोरी भएका अन्य परिकारसँग प्रतिस्पर्धा हुन नदिन सुरुमा तरकारी दिनु उपयुक्त हुन्छ ।

अमेरिकाको पेन्सिल्भेनिया स्टेट विश्वविद्यालयकी पोषण विज्ञान प्राध्यापक बार्बरा रोल्सका अनुसार यसरी तरकारीबाट खाना सुरु गर्दा बच्चाले अत्यधिक खाना खाने सम्भावना पनि कम हुन्छ ।
यद्यपि पश्चिमी मुलुकहरूमा बिहानको खानामा तरकारी खाने चलन कम छ, तर वैज्ञानिकहरूका अनुसार बिहान पनि तरकारी खान सकिन्छ ।
उदाहरणका लागि, अमलेटमा पालुङ्गो र च्याउ मिसाउन, वा ब्रेकफास्ट मफिनमा सागसब्जी राख्न सकिन्छ ।
सन् २०२३ मा बेलायतका आठ वटा बाल हेरचाह केन्द्रमा गरिएको अध्ययनले देखायो कि जब बिहानको खानामा तरकारी दिइन्थ्यो, ६० प्रतिशतभन्दा बढी अवसरमा बालबालिकाले त्यसलाई खाएका थिए ।
३. स्वस्थ खानेकुराको मात्रा बढाउनुहोस्
यदि बिहान वा खाना सुरु गर्नुअघि तरकारी दिन सम्भव छैन भने अर्को उपाय भनेको थालमा राखिने परिकारको अनुपात परिवर्तन गर्नु हो । अर्थात्, धेरै क्यालोरी भएका खानेकुराको मात्रा घटाएर तरकारीको मात्रा बढाउने ।
यसका लागि, तरकारीलाई साइड डिसका रूपमा बढी राख्न सकिन्छ । वा गाजर, जुकिनीजस्ता तरकारी किसेर सस वा अन्य परिकारमा मिसाउन सकिन्छ ।
अनुसन्धानले देखाएको छ कि मानिसहरूले प्रायः खानेकुराको मात्रा (ख्यगिmभ) उस्तै खाने गर्छन् । त्यसैले मासु कम र तरकारी बढी राख्दा उनीहरूले स्वाभाविक रूपमा बढी तरकारी खान्छन् ।
एउटा अध्ययनअनुसार बालबालिकाको थालमा फलफूल र तरकारीको मात्रा ५० प्रतिशतले बढाउँदा उनीहरूले खाने मात्रा पनि उल्लेखनीय रूपमा बढेको पाइयो ।
४. तरकारीलाई आकर्षक देखिने बनाउनुहोस्
बालबालिकाले खानेकुरा कसरी देख्छन् भन्ने कुराले पनि उनीहरूले त्यो खाने कि नखाने भन्ने निर्णयमा ठुलो प्रभाव पार्छ । हामीले खानेकुरा खानुअघि सबैभन्दा पहिले आँखाले मूल्याङ्कन गर्छौं । धेरै विकल्प हुँदा बालबालिकाले आफूलाई सबैभन्दा परिचित र आकर्षक देखिने खानेकुरा रोज्ने गर्छन् । त्यसैले तरकारी कसरी प्रस्तुत गरिन्छ भन्ने कुराले पनि उनीहरूलाई बढी तरकारी खान प्रेरित गर्न सक्छ ।
एउटा अध्ययनमा अनुसन्धानकर्ताहरूले नयाँ खानेकुरालाई कलात्मक ढंगले सजाएर थालमा राख्दा बालबालिकाले त्यसलाई खान बढी रुचि देखाएको पत्ता लगाए ।
अन्य अनुसन्धानले पनि देखाएको छ कि तरकारी र फलफूललाई पुतली, फूल वा टेडी बियरजस्ता रमाइला आकारमा काटेर प्रस्तुत गर्दा बालबालिकाले त्यसलाई बढी रुचिका साथ खाने गर्छन् ।

अर्थात्, स्वस्थ खानेकुरालाई रमाइलो र आकर्षक बनाउँदा त्यसको स्वीकार्यता पनि बढ्छ । अनुसन्धानले अर्को महत्त्वपूर्ण कुरा पनि देखाएको छ कि यदि स्वस्थ खानेकुरा सजिलै देखिने र सजिलै लिन सकिने स्थानमा राखियो भने बालबालिकाले त्यसलाई बढी खान्छन् ।
१० देखि १३ वर्ष उमेरका बालबालिकामाथि गरिएको अध्ययनमा एउटै कन्टेनरभित्र विभिन्न प्रकारका तरकारी छुट्टाछुट्टै सानो परिमाणमा राख्दा उनीहरूले धेरै तरकारी रोजेका र खाएका थिए । त्यसको विपरीत, एउटै तरकारीलाई फरक–फरक प्लेटमा राख्दा उनीहरूको रुचि कम देखिएको थियो ।
त्यस्तै, प्रि–स्कुल उमेरका बालबालिकालाई विभिन्न भागमा विभाजन गरिएको थालमा खाना दिँदा उनीहरूले ३६ प्रतिशत बढी तरकारी खाएको अनुसन्धानले देखाएको छ ।
५. परिवारसँगै बसेर खाना खानुहोस्
अभिभावकले खाने खानेकुराले बालबालिकाको खानपानमा अत्यन्त ठुलो प्रभाव पार्छ । यदि अभिभावकले बारम्बार अस्वस्थकर खाजा खान्छन् भने बच्चाहरूले पनि त्यही व्यवहार सिक्ने सम्भावना धेरै हुन्छ । त्यसैगरी, अभिभावकले फास्टफुड धेरै खाने वा बिहानको खाना नखाने बानी भए बच्चामा पनि त्यही बानी विकास हुने सम्भावना उच्च हुन्छ ।
न्युजिल्यान्डमा विद्यालयका बालबालिकामाथि गरिएको एउटा अध्ययनले स्वस्थ आहार खाने अभिभावकका बच्चाहरूले केक, चकलेट तथा अन्य अस्वस्थकर स्न्याक्स कम खाने गरेको देखाएको छ ।
यस्तै, नियमित रूपमा स्वस्थ खानेकुरा खाएर उदाहरण प्रस्तुत गर्ने अभिभावकका बालबालिकाले फलफूल र तरकारी अझ बढी मन पराउने गरेको अनुसन्धानले पुष्टि गरेको छ ।
सँगै खाना खानुका फाइदा
सातामा कम्तीमा तीन पटक परिवारसँगै बसेर खाना खाने बालबालिकामा धेरै सकारात्मक प्रभाव देखिएको छ । अनुसन्धानअनुसार यस्ता बालबालिकामा शरीरको तौल बढी सन्तुलित हुन्छ । खानपानको बानी स्वस्थ हुन्छ । फलफूल तथा तरकारी खाने सम्भावना बढ्छ ।
यदि अभिभावक पनि स्वस्थ आहार खान्छन् भने त्यसको प्रभाव झन् बलियो हुन्छ । दीर्घकालीन अर्को अध्ययनले नियमित रूपमा परिवारसँग बसेर खाना खाने बालबालिकामा शारीरिक तन्दुरुस्ती राम्रो हुने, चिनी मिसिएका सफ्ट ड्रिंक कम पिउने, तथा समग्र जीवनशैली स्वस्थ हुने देखाएको छ ।
यसरी अभिभावक आफैंले स्वस्थ खाने बानी अपनाउनु बालबालिकालाई तरकारी तथा अन्य पौष्टिक खानेकुरा मन पराउने सबैभन्दा प्रभावकारी उपायमध्ये एक मानिन्छ ।
६. खानालाई रमाइलो बनाउनुहोस्
बालबालिकाले के खाने भन्ने कुरा केवल भोक वा स्वादमा मात्र निर्भर हुँदैन । उनीहरूको खानेकुरासँगको सम्बन्ध पनि उत्तिकै महत्त्वपूर्ण हुन्छ । अनुसन्धानकर्ताहरूका अनुसार बालबालिकालाई कुनै निश्चित खानेकुरा खान जबरजस्ती गर्नु उल्टै हानिकारक हुन सक्छ । यसले उनीहरूको खानाप्रतिको रुचि घटाउने मात्र होइन, दीर्घकालमा अस्वस्थकर खानपानको बानी पनि विकास गराउन सक्छ ।
त्यसैगरी, तरकारी खाएपछि चकलेट, मिठाई वा बढी चिनी र बोसो भएको खानेकुरा पुरस्कारस्वरूप दिनु पनि उपयुक्त उपाय होइन । यसले बच्चाको मनमा मिठाई नै अझ मूल्यवान् खानेकुरा हो भन्ने धारणा बस्न सक्छ, जसले भविष्यमा त्यस्ता खानेकुराप्रतिको आकर्षण अझ बढाउँछ ।
खेल्दै–खेल्दै खानासँग परिचित गराउनुहोस्
बरु वैज्ञानिकहरू भन्छन्, बालबालिकालाई खानेकुरासँग खेल्न दिनुहोस् । एउटा अध्ययनमा अनुसन्धानकर्ताहरूले बालबालिकालाई बिट, चना र पाक चोइजस्ता अपरिचित तरकारी र सामग्रीहरू छुन, सुँघ्न र नजिकबाट हेर्न प्रोत्साहित गरेका थिए ।
तर उनीहरूलाई ती खानेकुरा खानुपर्ने कुनै दबाब दिइएन । परिणाम निकै रोचक थियो । यसरी स्वतन्त्र रूपमा खानेकुरासँग घुलमिल भएका बालबालिकाहरू पछि ती अपरिचित खानेकुरा चाख्न र खान धेरै इच्छुक भएका थिए ।
यसले नयाँ खानेकुराप्रतिको डर वा हिच्किचाहट कम गर्न मद्दत गरेको अनुसन्धानले देखायो ।
बालबालिकालाई खाना पकाउन सहभागी गराउनुहोस्
अर्को प्रभावकारी उपाय भनेको बालबालिकालाई खाना पकाउने प्रक्रियामा सहभागी गराउनु हो । अनुसन्धानका अनुसार खाना बनाउन सघाएका बालबालिकाले आफूले पहिले नखाएका वा अपरिचित खानेकुरा पनि चाख्ने सम्भावना उल्लेखनीय रूपमा बढ्छ ।
यस अध्ययनमा सहकार्य गरेका सेफ जोसेफ युसुफ भन्छन्, ‘मुख्य कुरा भनेको बालबालिकाले खानेकुरालाई कसरी अनुभव गर्छन् भन्ने परिवर्तन गर्नु हो ।’
उनका अनुसार खाने कामलाई खेलजस्तै बनाउने र इन्द्रियमार्फत अनुभव गर्ने गतिविधि बालबालिकाका लागि निकै प्रभावकारी हुन्छ । उनी थप्छन्, ‘जब कुनै दबाब हुँदैन, वातावरण सहज र रमाइलो हुन्छ, तब बालबालिका खानेकुरासँग खेल्न, त्यसको स्वाद लिन र नयाँ–नयाँ कुरा प्रयोग गर्न धेरै इच्छुक हुन्छन् ।’
दीर्घकालीन स्वस्थ बानीको आधार
विशेषज्ञहरूका अनुसार बालबालिकामा सानैदेखि स्वस्थ खानपानको बानी बसाल्नु भनेको उनीहरूलाई कुनै एक दिन धेरै तरकारी खान बाध्य बनाउनु होइन । बरु, बारम्बार नयाँ तरकारीसँग परिचित गराउने, खाना सुरु गर्नुअघि तरकारी दिने, थालमा तरकारीको मात्रा बढाउने, तरकारीलाई आकर्षक ढंगले प्रस्तुत गर्ने, परिवारसँगै बसेर खाना खाने र खानेकुरालाई रमाइलो अनुभव बनाउनेजस्ता साना–साना अभ्यासहरूले उनीहरूको खानपानमा जीवनभर रहने सकारात्मक प्रभाव पार्न सक्छ ।
सायद यी उपायहरू अपनाउन सके तपाईंको बच्चाले सेतो वा फिका रङका खानेकुरा मात्र होइन, विभिन्न रङका फलफूल र तरकारी पनि खुसीसाथ खान सुरु गर्नेछ ।
लेखिकाः मेलिसा होगेनबुम बीबीसीकी वरिष्ठ स्वास्थ्य संवाददाता हुन् । उनले स्वास्थ्य, पोषण र दीर्घायु जीवनशैलीसम्बन्धी विषयमा नियमित लेखन गर्दै आएकी छन् ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
जाँचबुझ समितिले गर्यो संसदीय मर्यादा उल्लङ्घन भएको ठहर
-
लर्ड्समा पहिलो पटक महिला टेस्ट क्रिकेट, इङ्गल्यान्डले भारतको सामना गर्ने
-
एमाले कार्यदलको बैठकमा ओली पनि सहभागी
-
युएईका व्यपारमन्त्री थानी र परराष्ट्रमन्त्री खनालबिच भेटवार्ता
-
सरकारका सय दिनका उपलब्धिबारे संसद्लाई जानकारी
-
स्टोक्सको संन्यास घोषणाको भिडियो सार्वजनिक गरेपछि ईसीबी विवादमा, आईसीसीद्वारा नियम मिचेको आरोप
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण