शुक्रबार, १६ चैत २०८०
ताजा लोकप्रिय

सहिदको सम्झना : तिमी थियौ र त हामी रह्यौँ

बिहीबार, १६ माघ २०७६, ०९ : ३६
बिहीबार, १६ माघ २०७६

तिमी थियौ र त हामी रह्यौँ

तिमीले प्रतिरोध ग-यौँ मानवताका वैरीहरुसँग

हाँसी हाँसी गोली थाप्यौ छातीमा खुसीसँग

र हाम्रा लागि सहादत दिएर गयौ

 र त हामी स्वतन्त्र भयौँ र स्वतन्त्र देशका नागरिक भयौँ

तिम्रो सपनामा स्वतन्त्र देश थियो र निर्भीक नागरिक थियौँ

तिम्रो सपना पूरा गर्न तर हामीले सकेनौँ किन भन्ने ?

तर तिम्रो स्वाभिमानको इच्छामृत्युको भने हामीले कदर गर्न सकेनौँ

माफ गर सहिदहरु, हामी त अक्षम्य अपराधी हौँ

जसले अझै देशका लागि सहादत गर्नेहरुको नाम

भन्न सकेका छैनौँ

सहिदको अपमान गर्न पनि बाँकी राखेका छैनौँ

सहिदहरु पनि कोटामा निर्धारण गर्न थालेका छौँ

अनि सहिदको मूल्य एउटा तोकेका छौँ थैलीमा

बाँड्छौँ लगेर घरघरमा अनि सहिद दिवस मनाएर

वर्षमा एक पटक सहिदहरुको नाममा

केही मूर्तिहरुलाई

घेरबारभित्र राखेका छौँ र त्यहीँ माला लगाएर

औपचारिकता पूरा गरेका हुन्छौँ

सहिद दिवस मनाएर प्रत्येक वर्ष 

यस पटक पनि मेरो क्यालेन्डरमा सहिद दिवस आएको छ सखारै बिहान

कागले बिहानै भन्यो आज सम्झ है सहिदलाई

बरु वर्षभर बिर्स र अपमान गर उनीहरुलाई

हो नि त तर

म त सधैँ तिम्रो सम्मान नै गर्छु किनभने मलाई थाहा छ तिम्रो सहादतको अर्थ

यदि तिमी सहिद नभएको भए म कहाँ यसरी स्वतन्त्र हुन्थेँ र ?

त्यसैले म पनि आजको दिन– सहिद दिवसका नाममा के अर्पण गरूँ होला

मसँग के पो छ र मात्र दुई थोपा आँसुको श्रद्धा अर्पण गर्छु

यो देशको स्वतन्त्रताका लागि जोसँग पनि लड्न सक्ने

क्षमताको आशीर्वाद चाहन्छु

तिमी पितृ भएर पनि नेपालको मायाले यतै कतै वरिपरि हुनुपर्छ

त्यसैले आजको दिन गरिने श्रद्धालाई यथोचित माया सम्मान सम्झनुपर्छ

तिम्रो सहादतलाई सलाम गर्दै

नेपालप्रति गद्दारी गर्ने कुबुद्धि मेरो कहिल्यै नआओस्

नेपालीको अपमान गर्ने कुचेष्टा मबाट कहिल्यै नहोस्

यही आशीर्वाद दिएर

आफ्नो सहादतको गरिमा राख सहिदहरु

तिमीहरु मेरो मुटुमा छौ र मेरो रगत त्यहीँबाट प्रवाहित हुन्छ

अनि मेरो मुटुबाट पनि नमन छ सहिदहरुलाई

हातका औँला जोडेर पनि नमन छ सहिदहरुलाई

तिमी बाँचेका छौ हाम्रा धड्कनसँगै र त यो नेपाल स्वतन्त्र छ अझै

नेपाल छ र त तिमीलाई सम्झन पाएका छौँ अझै

सहिद तिमी कहाँ पो गएका छौ र अझै

नेपालको प्रत्येक कणमा तिमी जीवित छौ अझै

तिम्रो  जय नेपाल नै

मेरो जय नेपाल भएको छ , सहिदहरु जय नेपाल ।

जय नेपालको श्रद्धा शब्द तिमीहरुलाई जय नेपाल ।।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

हरिविनोद अधिकारी
हरिविनोद अधिकारी
लेखकबाट थप