बुधबार, ०२ जेठ २०८१
ताजा लोकप्रिय

भारतले घटायो आयकरको सीमा, अब नेपालको भन्दा निकै कम

शनिबार, १८ माघ २०७६, २२ : ००
शनिबार, १८ माघ २०७६

काठमाडौं । भारतले व्यक्तिगत आयमा लाग्ने करमा भारी कटौती गरेको छ । आर्थिक वर्ष २०२०/२१ के बजेट सार्बजनिक गर्दै अर्थमन्त्री निर्मला सीतारमणले करका दरहरु घटाउने प्रस्ताव गरेकी हुन् । 

अहिले ५ लाख रुपैंयासम्म कुनैपनि कर नलाग्ने गरेकोमा त्यसलाई कायमै राखिएको छ । त्यस्तै, ५ लाखदेखि ७ लाख ५० हजार रुपैंयासम्म कमाउनेलाई १० प्रतिशत कर लगाउने प्रस्ताव गरिएको छ । यसअघि यो दर २० प्रतिशत थियो । 

७ लाख ५० हवार रुपैंयादेखि १० लाख रुपैंया कमाउनेले अब १५ प्रतिशत कर तिर्नुपर्छ, यो यसअघि २० प्रतिशत थियो । त्यस्तै १० लाख देखि १२ लाख ५० हजार कमाउनेले २० प्रतिशत र १२ लाख ५० हजार रुपैंयादेखि ५ लाख रुपैंया कमाउनेलाई क्रमशः २० प्रतिशत र २५ प्रतिशत कर लगाउने प्रस्ताव गरिएको छ । यसअघि यो क्रमशः २५ प्रतिशत र ३० प्रतिशत थियो । १५ लाखभन्दा बढीको आम्दानीको लागि ३० प्रतिशत कर लगाइने भएको छ । यो यसअघिको जस्तै ब्यवस्था भए पनि यसमा लाग्ने सरचार्जलाई हटाइएको छ । 

नेपालमा अहिले ४ लाख रुपैंयासम्मको लागि १ प्रतिशत, ४ देखि ५ लाख सम्मको लागि १० प्रतिशत, ५ देखि ७ लाख कमाउनेलाई २० प्रतिशत, ७ लाखदेखि १३ लाखसम्म कमाउनेलाई ३० प्रतिशत तथा सोभन्दा धेरै कामउनेलाई थप ६ प्रतिशत सरचार्ज लगाउने ब्यवस्था छ । भारतले करको दर घटाएसँगै अब नेपालको भन्दा भारतमा आम्दानी गर्नेले कम कर तिर्नुपर्ने अवस्था आएको छ । 

भारतले लाभांशमा लाग्ने करलाई पनि घटाएकोे छ भने उत्पादनमुलक क्षेत्रका कम्पनीहरुका लागि करमा भारी छुट लिने प्रस्ताव गरिएको छ । ‘विवाददेखि विश्वास स्कीम’मार्फत् ४ लाख ८३ हजार कर विवादहरुलाई समाधान गर्न त्यस्ता विवादहरुमा कुनैपनि जरिवाना नलिने घोषणा समेत गरिएको छ । 
 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप