शनिबार, ०२ साउन २०८३
ताजा लोकप्रिय

प्रेस रिभ्यू : नेपालबाट मास्क उठाएर घर लाँदै चिनियाँ, यसरी फिर्ता हुँदैछन् नेपाली विद्यार्थी

आइतबार, १९ माघ २०७६, ०७ : ३८
आइतबार, १९ माघ २०७६

आज माघ १९ गते आइतबार देशका प्रमुख राष्ट्रिय दैनिकहरुमा नोबल कोरोना भाइरस, सत्तारुढ नेपाल कम्युनिस्ट पार्टी (नेकपा) को केन्द्रीय समिति बैठक लगायत विषयहरुले प्राथमिकता पाएका छन् ।

नेपालस्थित अमेरिकी दूतावासले काठमाडौँमा रहेका केही तिब्बती शरणार्थीलाई यात्रा अनुमितपत्र (ट्राभल डकुमेन्ट) बनाइदिन परराष्ट्र र गृहमन्त्रालयलाई दबाब दिएको कान्तिपुर दैनिकमा समाचार छ । दूतावासले परराष्ट्र हुँद्यै गृहमन्त्रालयलाई पत्र पठाएर र गृहका अधिकारीलाई पटक–पटक भेटेरै ६ जना शरणार्थीलाई अमेरिका लैजानका लागि कागजात बनाइदिन दबाब दिएको हो । दूतावासले गत अगस्टको सुरुमै १९ वर्षीया छेतेन छोजोमसहितका नाममा अनुमतिपत्र जारी गरिदिन परराष्ट्रमार्फत गृहलाई पत्र पठाएको थियो । गृहमन्त्रालयस्थित उच्च स्रोतका अनुसार दूतावासको पत्रमा नाम उल्लेख गरिएकाको राष्ट्रियता तिब्बतियन उल्लेख थियो । गृहले दूतावासको मागअनुसार तिब्बती शरणार्थीका नाममा अनुमति पत्र दिन इन्कार गरेको छ । गृहले नमानेपछि अमेरिकी दूतावासका कन्सुलर माइकल ई. म्युसीले गृहका अधिकारीसँग भेटेर यात्रा अनुमति पत्र जारी गरिदिन दबाब दिएका हुन् । तिब्बतलाई चीनको अभिन्न अङ्गका रुपमा अंगीकार गर्दै आएकाले राष्ट्रियता ‘तिब्बतियन’ भएको कागजातलाई नेपालले कुनै प्रकारको हैसियत प्रदान गर्दैन । यसैले अमेरिकी दूतावासको प्रस्ताव सरकारले कार्यान्वयन गर्न नमानेको हो ।

कोरोना भाइरसको केन्द्रबिन्दु चीनको हुबेई प्रान्तको वुहानसहितका सहरबाट भारत, बंगलादेश, श्रीलंकाले आफ्ना नागरिक फिर्ता लैजान थालेपछि नेपाल सरकारले पनि ल्याउने तयारी गरेको नयाँ पत्रिका दैनिकमा समाचार छ । एयर लिफ्टमार्फत आफ्ना नागरिक फिर्ता गर्न चाहेको चिठी परराष्ट्र मन्त्रालयले १४ माघमा चीनको विदेश मन्त्रालयलाई पठाएकोमा सकारात्मक जवाफ आएपछि उद्धार प्रक्रिया सुरु भएको हो ।  नेपालबाट चीन जाने चार्टर्ड उडानको विस्तृत विवरण पाएपछि अनुमति प्रक्रिया थालिने चीनले जवाफ पठाएको छ । नेपाली जहाज कहिले जाने, नेपालीलाई लिन कतिजनाको मेडिकल टिम जाने, को–को जाने भन्ने विस्तृत विवरण चीनले मागेको छ । नेपालले चिनियाँ सर्तअनुसारको तयारी सुरु गरेको छ । नेपाल एयरलाइन्सको ए ३३० जहाज वुहानको तियान्हे अन्तर्राष्ट्रिय विमानस्थल पठाउन सकिने जानकारी नेपालले चीनलाई दिइसकेको छ । स्वास्थ्यमन्त्री भानुभक्त ढकालका अनुसार हिमालयन एयरलाइन्सको जहाज पनि तयारी अवस्थामा राखिनेछ । चीनको अनुमतिपछि हुबेई प्रान्तमा रहेका र स्वदेश फर्किन इच्छुक सबै नेपालीलाई बसमार्फत वुहान सहर ल्याउने र त्यहाँबाट नेपाली जहाजमा स्वदेश ल्याउने नेपालको तयारी छ । बेइजिङस्थित नेपाली दूतावासले हुबेईमा रहेका र स्वदेश फर्कन चाहने नागरिकलाई फारम भर्न सूचना जारी गरेको छ । फारम भर्न आइतबार बिहान ९ बजेसम्मको समय दिइएको छ । यो सूचना सामाजिक सञ्जाल ‘विच्याट’मार्फत प्रसार गरिएको छ । ‘चीनमा नोबेल कोरोना भाइरसको संक्रमण बढिरहेको सन्दर्भमा नेपाल सरकारले हुबेई प्रान्तमा रहेका नेपालीलाई उद्धार गर्ने निर्णय गरेको छ । विशेष विमान ल्याउने योजनामा गृहकार्य भइरहेको छ, चाँडै नै यसबारे जानकारी दिनेछौँ,’ दूतावासको सूचनामा भनिएको छ ।

नेकपा केन्द्रीय कमिटी बैठकमा सरकारको चर्को आलोचना भएको अन्नपूर्ण पोष्ट दैनिकमा समाचार छ। झन्डै दुईतिहाइसहित नेतृत्व गर्दा पनि जनअपेक्षाअनुसार काम गर्न नसकेकामा शनिबार बोल्ने नेताहरूले असन्तुष्टि जनाएका हुन्। उनीहरूले अध्यक्षद्वयको राजनीतिक प्रतिवेदन, महासचिवको संगठन र विधान संशोधन प्रस्तावबारे समूहगत छलफलको निष्कर्ष सुनाएका थिए। ‘सरकारको समीक्षा गर्न पार्टी दस्तावेज डराएको छ। जति दिल खोलेर आउनुपथ्र्यो, आएन। सरकारको कामलाई हामीले समूहमा दिल खोलेर छलफल गर्यौं। सरकारले जनताको मन छुने काम गर्न सकेन भन्ने निष्कर्ष निकाल्यौं’, समूह ४ का टोली नेता जगन्नाथ खतिवडाले भने, ‘यो हाम्रो सरकार हो कि होइन, शंका लाग्न थाल्यो भनेर साथीहरूले गुनासो गर्नुभएको छ।’ प्रधानमन्त्री केपी ओलीले दुई वर्षमा असाधारण उपलब्धि हासिल गरेको अन्तर्राष्ट्रिय मानक ९सूचकांक०लाई बैठक उद्घाटनमा प्रस्तुत गरेकामा पनि नेताहरूले आलोचना गरे। ओलीले २०७४ फागुन ३ मा सरकारको नेतृत्व सम्हालेका थिए। ‘अन्तर्राष्ट्रिय इन्डेक्समा सरकारको कामलाई ननापौं, जनताको मन–मनको इन्डेक्समा नापौं। जनता खुसी भए बाहिरी इन्डेक्स तल–माथि भए पनि हाम्रो कम्युनिस्ट सरकार निरन्तर चलिरहन्छ’, खतिवडाले भने, ‘जनता रुष्ट भए भने बाहिरी इन्डेक्सले हाम्रो यो धरहराजस्तो सरकारलाई छेक्न सक्दैन।’ समूह ५ का नेता ठाकुर गैरेले सरकारको कामबाट पार्टीपंक्ति र जनता उत्साहित हुन नसकेको बताए। ‘सरकारको कमजोर डेलिभरी छ। यसले जनता र पार्टीपंक्तिलाई अपेक्षित उत्साहित बनाउन सकेन’, उनले आफ्नो समूहका एक नेताको भनाइ उद्धृत गर्दै भने, ‘मन्त्री र सांसदकै बीचमा नोकर र मालिकजस्तो सम्बन्ध छ। सांसद, मन्त्री र जनताको बीचको सम्बन्ध टाढा पुगेको छ। फोन नउठाउने, भेट्न नपाउने, छलफल–बहस नहुने, समस्या राख्नै नपाइने अवस्थाको सरकारबाट जनताले अपेक्षित डेलिभरी पाउन सकेका छैनन्।’

नागरिक दैनिकमा नक्कली प्रमाणपत्रधारीमाथि अख्तियारको नजर भन्ने समाचार छ । अख्तियार दुरुपयोग अनुसन्धान आयोगले नक्कली शैक्षिक प्रमाणपत्र पेस गरेर सरकारी सेवामा प्रवेश गरी सेवासुविधा लिएका र बढुवासमेत भएका ६ कर्मचारीमाथि छुट्टाछुट्टै मुद्दा दायर गरेको छ । आयोगका अनुसार यस्ता प्रकृतिका मुद्दा बिहीबार ५ र शुक्रबार एउटा दायर गरिएको थियो । नक्कली शैक्षिक प्रमाणपत्र लिएको आरोप लगाइएकोमा शिक्षक कर्मचारी लगायत प्राविधिक कर्मचारी समेत छन् । आयोगले भारतस्थित माध्यमिक शिक्षा परिषद् उत्तर प्रदेश इलाहवादको इन्टरमिडिएट परीक्षा उत्तीर्ण प्रमाण पत्र पेस गरी निमावि तहको शिक्षकमा बढुवा भई हाल कालिका मावि बन्दिपुरका शिक्षक श्रीप्रसाद पौडेलको शैक्षिक योग्यताको प्रमाणपत्र नक्कली रहेको आरोपपत्र दायर गरेको छ । त्यस्तै, माध्मिक शिक्षा परिषद् उत्तर प्रदेश बोर्ड अफ हाइस्कूल एन्ड इन्टरमिडिएट एजुकेसन युपी भारतबाट उत्र्तीण गरेको नक्कली शैक्षिक योग्यताको प्रमाणपत्र पेस गरी प्रहरी सहायक निरीक्षकमा बढुवा भइ सरकारी सुविधा तथा लाभ समेत लिएको आरोपमा पूर्वप्रहरी सहायक निरीक्षक धीरेन्द्रकुमार शाहीमाथि मुद्दा दर्ता गरेको छ । यस्तै प्रकृतिका मुद्दा अन्यमाथि दर्ता गरिएको छ ।

सामाजिक सञ्जालबाट गरेको विज्ञापनको भुक्तानी बैंकिङ प्रणालीबाहिर गएर गरे कारबाही भोग्नुपर्ने भएको अन्नपूर्ण पोष्ट दैनिकमा समाचार छ। ‘अनौपचारिक माध्यमबाट विदेशमा भुक्तानी पठाउने र विदेशबाट त्यसरी रकम प्राप्त गर्ने कार्य गैरकानुनी हो’, राष्ट्र बैंकले भनेको छ, ‘त्यसरी कारोबार गरेको पाइएमा कानुनबमोजिम कारबाही हुनेछ।’ राष्ट्र बैंकले शुक्रबार सूचना जारी गर्दै फेसबुक, ट्विटर, युट्युबजस्ता सामाजिक सञ्जालमा विज्ञापन गरेबापत पैसा तिर्दा वा लिँदा बैंकिङ प्रणालीको प्रयोग गर्न भनेको हो। विज्ञापन एजेन्सीहरूका अनुसार गुगल र सामाजिक सञ्जालको विज्ञापनमा वार्षिक डेढ अर्ब रकम बाहिरिने गरेको अनुमान छ। यो अनुमानभन्दा बढी रकम बाहिरिएको हुन सक्ने सूचना–प्रविधिका विज्ञ बताउँछन्। त्यस्तो विज्ञापनमा नेपालीले पैसा खर्चिरहेका छन् भने युट्युबजस्ता इन्टरनेट ‘प्लेटफर्म’मार्फत धेरैले विदेशबाट पैसा आर्जन गरिरहेका छन्। गीत, हास्यव्यंग्यलगायत सामग्री युट्युबमा राखेर नेपालीले ठूलो कमाइ गरिरहेको विवरण सार्वजनिक हुने गरेका छन्। त्यस्तो आम्दानीबाट नेपाली बैंकमा विदेशी मुद्रा जम्मा हुन सकेको छैन। त्यही कारण ‘भुक्तानी र प्राप्ति’ अनौपचारिक माध्यमबाट गरिनुहुन्न भन्ने मान्यतामा विदेशी विज्ञापन बजारलाई कडाइ गर्न लागिएको राष्ट्र बैंकका अधिकारीले बताएका छन्। ‘त्यस्तो किसिमको कारोबारलाई व्यवस्थित गर्न के गर्नुपर्छ ? हामी छलफल गर्न तयार छौं’, राष्ट्र बैंकको विदेशी विनिमय व्यवस्थापन विभाग प्रमुख बमबहादुर मिश्र भन्छन्, ‘हामी वैधानिक पद्धतिको विकास होस् भन्न चाहन्छौं।’ ट्विटर, फेसबुकजस्ता संस्थाले नेपालबाट औपचारिक रूपमा पैसा लैजाने वा ल्याउने वैधानिक बाटो नभए त्यसलाई वैधानिकीकरण गर्नुपर्ने विभाग प्रमुख मिश्र बताउँछन्। यसका लागि राष्ट्र बैंकले विज्ञापन एजेन्सीलाई पनि विदेशी विनिमय कारोबार गर्ने इजाजत दिन लचक हुने संकेत गरेको छ।

चीनको वुहान सहरबाट फैलिएको नोवल कोरोना भाइरसको संक्रमणबाट बच्न नेपाली बजारमा समेत ‘एयर–फिल्टर मास्क’ को माग अत्यधिक बढेको कान्तिपुर दैनिकमा समाचार छ । काठमाडौंका मेडिकल तथा सर्जिकल स्टोरमा मास्क किन्ने चिनियाँ नागरिकको भीड बढ्दो छ । सबैभन्दा सुरक्षित ‘एन–९५ मास्क’ को भने अभाव देखिएको छ । नेपालमा चीनबाट आयात हुने मास्क अहिले भाइरस संक्रमणबाट बच्न चिनियाँ नागरिकले नै किनेर आफ्नो देश लगिरहेका छन् । यसको फाइदा प्रत्यक्ष बिक्रेताभन्दा बढी एजेन्टहरूले लिइरहेको ठमेलका रेस्टुराँ व्यवसायी बुद्धसिंह गुरुङले बताए । ‘एजेन्टले हाम्रो बजारमा स्टक नै सकिने गरी मास्क उठाइरहेका छन्,’ उनले भने, ‘केहीले भने स्थानीय फार्मेसीका लागि मास्क लुकाएर राखेका छन् ।’ उनले दुई सातायता बजारमा मास्कको माग अचाक्लीबढेको बताए । चिनियाँहरूले एन–९५ मास्क खोज्ने गरेका छन् । बिक्रेताहरूका अनुसार एन–९५ मास्क खोज्दै आउने चिनियाँहरूले साधारण पेपर मास्क मात्र छ भन्दा लाँदैनन् । कतिपय चिनियाँले भने साधारण मास्क पनि किन्ने गरेका छन् । त्रिपुरेश्वर, न्यु हिमालयन सर्जिकल हाउसका सञ्चालक युवराज बेलबासेले एन–९५ मास्कको सबै स्टक सकिएको बताए । ‘१० दिनमा २० कार्टुन नर्मल मास्क बेचेँ,’ उनले भने । बेलबासेको सर्जिकल हाउसमा दिनमा सयदेखि डेढ सय हाराहारी चिनियाँ नागरिक मास्क सोध्दै आउने गरेका रहेछन् । उनले आफूसँग १० हजार पिस साधारण मास्क स्टकमा रहे पनि बिक्री गर्न नचाहेको बताए । ‘यहाँकै फार्मेसीका लागि यति स्टक चाहिन्छ,’ उनले भने, ‘अहिले फार्मेसीमा पनि उत्तिकै माग बढेको छ ।’ यसरी मास्कको हाहाकार स्थिति आउला भन्ने अनुमान कसैले गरेको थिएन ।

निर्माणाधीन क्षेत्रीय अन्तर्राष्ट्रिय विमानस्थलमा खटिएका चिनियाँ कामदार चीनमै रोकिएको नागरिक दैनिकमा समाचार छ । चीनमा तीव्र गतिमा फैलिएको कोरानाभाइरस संक्रमणका कारण चिनियाँ नागरिकको आउजाउ रोकिएको छ । विमानस्थल निर्माणका लागि आउने तयारीमा रहेका थप कामदारसमेत आउन नपाएको विमानस्थल आयोजनाले जनाएको छ । आयोजना प्रमुख विनेश मुनकर्मीका अनुसार पोखरामा क्षेत्रीय अन्तर्राष्ट्रिय विमानस्थल बनाउन दुई सय ५० चिनियाँ कामदार खटिएका थिए । तीमध्ये २० जना कामदार नयाँ वर्ष मनाउन स्वदेश फर्केका थिए । चीनमा कोरोना भाइरसको संक्रमण फैलिएसँगै ती कामदार स्वदेशमै रोकिएको मुनकर्मीले बताए । सडक निर्माणका लागि आउनुपर्ने थप १५ कामदार पनि आउन नपाएको उनले बताए । ‘विमानस्थलको काम नै प्रभावित भएको छ छैन । यतिखेल सडक ढलान गर्ने योजना थियो । तर सडकमा खटिने र मेसिन चलाउने १५ जना अतिरिक्त कामदार आउन पाएनन्,’ मुखकर्मीले भने, ‘बिदामा गएका कामदार पनि रोकिएका छन् ।’

सर्लाहीका साहुकार रामबाबु रायले २८ ऋणीबाट मात्रै २० करोड ठगी गरेको प्रहरी अनुसन्धानमा भेटिएको नयाँ पत्रिका दैनिकमा छ । अर्का साहुकार सञ्जय रौनियार फरार रहेकाले डरकै कारण सातजनाको मात्रै उजुरी परेको छ । पक्राउ गरेपछि उजुरी बढ्न सक्ने भन्दै उनीविरुद्धको अनुसन्धान जारी रहने प्रहरीले जनाएको छ ।  तर, २२ दिन लामो अनुसन्धानपछि प्रहरीले दुवैको मुद्दा भने तीन दिनभित्रै अदालतमा दर्ता गर्ने तयारी गरेको छ । ‘साहुकार रायले मात्रै २८ जनासँग २० करोड ठगी गरेको भेटिएको छ । तर, रौनियारविरुद्ध सातजनाको मात्रै उजुरी परेको छ । उनी फरार रहेकाले डराएर उजुरी कम आएको हुन सक्छ, उनको हकमा अझै अनुसन्धान हुन्छ,’ जिल्ला प्रहरी कार्यालयका प्रमुख एसपी विश्वमणि पोखरेलले भने । सोमबारसम्म जिल्ला सरकारी वकिलको कार्यालयमा मुद्दा दर्ता गर्ने तयारी भएको उनले बताए । साहुकारले ऋण दिँदा धितो राखेको ऋणीको जग्गा रजिस्ट्रेसन नै पास गरेर हडपेका छन् । नयाँ पत्रिकामा समाचार प्रकाशित भएपछि २३ पुसमा प्रहरीले सर्लाहीकै हरिपुरबाट रायलाई पक्राउ गरेको थियो । भेष बदलेर मोटरसाइकलमा भाग्दै गरेको अवस्थामा उनी पक्राउ परेका थिए । उनी हिरासतमा छन् । फरार रौनियार विहारको सीतामढीमा लुकेको सूचना प्राप्त भएको एसपी पोखरेलले बताए ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

पत्रपत्रिकाबाट
पत्रपत्रिकाबाट
लेखकबाट थप