बिहीबार, २७ वैशाख २०८१
ताजा लोकप्रिय

काेरोना भाइरस र रकम भुक्तानीबारे प्रदेशसभामा चर्चाचर्की

शुक्रबार, ३० फागुन २०७६, २० : ३९
शुक्रबार, ३० फागुन २०७६

शुक्रबार प्रदेश नम्बर २ को प्रदेशसभामा दुई कुराले निकै चर्चा पायो । एक काेरोना त्रासको कारण सत्तापक्षदेखि प्रतिपक्षीसम्मका अधिकांश सांसदले मुखमा मास्क लगाएको र अर्को उपभोक्ता समितिको रकम भुक्तानीको सवालले मुख्यरुपमा प्रवेश पाएको हो ।

करिब दुई महिना दुई सातापछि बसेको प्रदेशसभाको बैठकमा मुख्यमन्त्री लालबाबु राउतदेखि प्रमुख प्रतिपक्षी दल नेकपा र नेपाली कांग्रेस लगायतका अधिकांश सांसदहरुले मास्क लगाएका थिए । यस्तै भौतिक पूर्वाधार विकासमन्त्री जितेन्द्र सोनलसहित प्रदेश सांसदहरु भरत साह, सरस्वती चौधरी, अशिया देवी थरुनी लगायतका सांसदहरुले मास्क लगाएर प्रदेशसभा बैठकमा उपस्थित भएका थिए ।

सांसदहरुले कोरोनाको त्रास बढ्दै गएको बेला कोरोनाबाट बच्नका लागि कस्तो पूर्व तयारी भइरहेको छ र उपभोक्ता समितिको भुक्तानी कहिले हुने भन्नेबारे मुख्यमन्त्रीसँग सांसदहरुले जवाफ माग गरेका थिए ।

मुख्यमन्त्री राउतले उपभोक्ता समितिको भुक्तानी नभए आफै धर्नामा बस्न तयार रहेको जवाफ फर्काए । प्रदेश सांसदहरुले उपभोक्ताको रकम भुक्तानी हुन नसक्नुमा प्रदेश सरकार जिम्मेवार रहेको आरोप लगाएपछि मुख्यमन्त्री राउतले सो जवाब दिँदै आफै धर्नामा बस्न तयार रहेको स्पष्ट पारे ।

मुख्यमन्त्री राउतले प्रदेश भरीमा उपभोक्ता समितिहरुले गरेको कामको भुक्तानीका लागि आफूले ईमान्दारीपूर्वक प्रयास गरिरहेको समेत बताए ।

 उनले भने, ‘सदनमा प्रदेशसभामा प्रदेश सरकार माथि नै प्रश्न उठेकोले आउनुस् जनकपुरधामको कुन चोकमा बसेर धर्ना दिनुपर्छ, आफु त्यही तपाईहरुसँगै धर्नामा बस्छौँ, को ईमान्दार छ वा छैन सबै प्रष्टिन्छ ।’

उनले प्रदेशसभा, मन्त्रिपरिषदबाट भुक्तानीका लागि निर्णय भए पनि भुक्तानी हुन नसक्नुमा प्रदेश सरकार दोषी नरहेको दावा गरे । मुख्यमन्त्री राउतले, ‘मन्त्रीपरिषदले निर्णय गर्ने हो, भुक्तानी होइन,’ अगाडी भने मन्त्रीले चेकमा साइन गर्ने होइन नि, साइन त सचिवले नै गर्ने हो, मन्त्रीले निर्देशन मात्रै दिने हो’ भने ।

मुख्यमन्त्री राउतले कर्मचारीमाथि आरोप लगाउँदै भने, ‘कर्मचारीको असहयोगकै कारण भुक्तानी अहिले सम्म हुन नसकेको हो ।’ उनले संघीयता रुचाउन नचाह्नेहरु प्रदेश सरकारलाई असफल पार्न लागि परेको आरोप पनि लगाए ।

यस प्रदेशसभा बैठकमा प्रदेश सांसद उपेन्द्र महतो प्रदेश सरकारविरुद्ध आक्रामक रुपमा प्रस्तुत भए । उनले प्रदेश सरकारको मन्त्रिपरिषदका सदस्यहरुकै कारण प्रदेश भेन्टिलेटरमा पुगिसकेको आरोप लगाएका थिए ।

त्यस्तै अर्को प्रसंगमा उनले पूरै विश्व कोरोना भाइरसबाट त्रसित रहेको समयमा प्रदेश नम्बर २ मा पेमेन्ट नामक भाइरसबाट त्रसित रहेको आरोप लगाए । महतोले भने, ‘विश्वभरी फैली रहेको कोरोनाबाट १ लाख व्यक्ति प्रभावित छन्, तर हाम्रो प्रदेश सरकारले फैलाएको पेमेन्ट भाइरसबाट ३ लाखभन्दा बढी व्यक्ति प्रत्यक्ष प्रभावित रहेका छन् ।’

कोरोनो भाइरसको त्रास

बैठकको विशेष समयमा सम्बोधन गरेका अधिकांश प्रदेश सांसदहरुले पनि कोरोना भाइरस संक्रमण र यसबाट भइरहेको त्रासबारे वैठक केन्द्रित  थिए। बैठकमा प्रदेशसभा सांसदहरुले कोरोना संक्रमणबाट जोगिन प्रदेश सरकारले हालसम्म कुनै तयारी नगरेको आरोप समेत लगाए ।

प्रमुख प्रतिपक्षी नेकपाका प्रमुख सचेतक सुन्दरलाल विश्वकर्माले विश्वभर तिव्ररुपमा फैलिरहेको कोरोना संक्रमणबाट जोगिन प्रदेश सरकारले गरेको पूर्व तयारीबारे जानकारी गराउन माग गरे । कोरोनाबाट जोगिन प्रदेश सरकारले गम्भीरता नदेखाउनु लज्जास्पद रहेको भन्दै उनले चिन्तासमेत व्यक्त गरे ।

प्रतिपक्षी दल काँग्रेसका राजेश्वर प्रसाद साह, सत्तारुढ समाजवादी पार्टीका पारस कुमार साह लगायतका प्रदेश सांसदहरुले कोरोना रोगबारे सतर्कता तथा सचेतना जगाउन प्रदेशको सबै पालिकाहरुमा सरकारको तर्फबाट प्राविधिक सहितको चिकित्सक टोली परिचालन गर्न माग गरे ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप