आसाममा नेपाली भाषी पत्रकारिताका चुनौती
गणेश लम्साल
विराटनगर - भारतको नयाँ दिल्लीस्थित जवाहरलाल नेहरु विश्वविद्यालय (जेएनयू) बाट पत्रकारितामा डिग्री लिएका आसामका नेपाली भाषी पत्रकार हुन्– रोहित गौतम । नेपालीभाषी पत्रकार गौतमले गुवाहटीबाटै १० वर्ष नेपाली भाषाको ‘सपरिवार’ मासिक पत्रिका सम्पादन र प्रकाशन गरे । पत्रकारिता नेपालमा मात्र हैन, आसाममा पनि सजिलो छैन । जेनेतेन आफ्नै लगानीमा दस वर्ष पत्रिका प्रकाशन गर्न सफल भएका पत्रकार रोहित सन् २०१६ मा पत्रिका बन्द गरेर पर्यटन व्यवसायलाई जीवन निर्वाहको माध्यम बनाए । सहायक पेसा अपनाए पनि उनले आसामका मूलधारका सञ्चार माध्यममा आसाममा बासोवास गर्ने नेपालीभाषीका आवाज लेख्न छाडेका छैनन् । आसाममा नेपाली भाषी पत्रकारिताको अवस्था र चुनौतीबारे पत्रकार रोहित यस्तो बताउँछन् :
नेपाली भाषीमा अभिरुचिको कमि
आसाममा पत्रिका चलाउन लगानीको समस्या छ, त्योभन्दा धेरै ठूलो समस्या नेपाली पाठकमा अभिरुचिको कमि छ । यहाँका कतिपय नेपालीभाषीले बाह्रखरी पढेका छैनन् । नयाँ पुस्ताले अङ्ग्रेजी र आसामी भाषा राम्रो पढ्न र लेख्न सक्छन तर नेपाली भाषा भने बोल्न मात्र जान्दछन् । पढ्न र लेख्न सक्ने एकदमै थोरै छन् ।’
आसाममा नेपाली भाषाका लागि बाह्रखरी पहिचानकै लागि समस्या छ । नयाँ पुस्ताले परिवारमा नेपाली भाषा बोले पनि विद्यालयमा पढाइ नहुने भएकाले यहाँका बालबालिका र युवाहरुले बाह्रखरी चिनेका छैनन् । सबै पढाइ आसामी र अङ्ग्रेजीमा हुन्छ र बाह्रखरी पढ्न पनि रुचाउँदैनन् । जबसम्म बाह्रखरी सबै आसामका नेपालीहरुले जान्दैनन् तबसम्म देवनागरी लिपि पढ्ने, बुझने र लेख्ने क्षमता हुँदैन र लिपि नसिकीकन आसाममा नेपाली भाषाको पत्रकारिता फराकिलो हुने कुरै भएन ।
आफ्नै लगानीमा सपरिवार मासिकको प्रकाशन
जेएनयूबाट पत्रकारितामा मास्टर्स गरेपछि रोहितले केही वर्ष भारतकै सहारा दैनिकमा सहसम्पादक भएर काम पनि गरे । तर उनलाई सधैँभरि अर्काको भाषाको पत्रिकामा काम गर्न रुचि रहेन र आसाम फर्के । सन् २००६ बाट ८० पृष्ठको मासिक पत्रिका ‘सपरिवार’को प्रकाशन थाले । विभिन्न जिल्लामा करिब १५ लाख जति नेपालीभाषी छन् । तर पनि नेपाली भाषाको पत्रकारिता चुनौतीपूर्ण छ । त्यतिबेला उनी १६ हजारप्रति छाप्थे सपरिवार पत्रिका । आसामका सबै जिल्लामा बितरण गरिन्थ्यो । सबै खाले सामग्रीले भरिएको सपरिवार सबैले मन पनि पराउँथे । जेनेतेन बिज्ञापन पनि आइरहेकै थियो । तर लेख्ने र पढने मान्छेहरु सिमित भएकोले र पत्रकारितामा नयाँ पुस्ताको रुझान नभएकोले पत्रकारिता बिकासमा बाधा पुग्यो । सबै कुरामा आफै खटिनुपर्ने भएकाले उनलाई पत्रिका टिकाउन निक्कै गाह्रो भयो । लेखक सीमित भएकाले स्तरीय सामग्रीहरुको पनि अभाव हुन थाल्यो । यसैले चाहेर पनि पत्रिका टिकाउन सम्भव भएन ।
सन १९९३ देखि नै आसाममा नेपाली पत्रकारिताको सुरुआत
आसाममा सन् १९३६ देखि नेपाली पत्रकारिताको सुरुआत भएको हो । त्यो बेला नेपाली भाषाको ‘गोर्खा सेवक’ मासिक प्रकाशित भएको थियो । नेपाली भाषी डम्बरसिंह गुरुङले सुरु गरको उक्त मासिक ६ वर्षपछि बन्द भयो । सन् १९४६ मा तेजपुरबाट ‘प्रभात’ मासिकको प्रकाशन सुरु भयो । तर १० वर्ष चलेपछि त्यो पनि बन्द भयो । सन् १९७० मा तेजपुरबाटै ‘देशवार्ता’ साप्ताहिकको प्रकाशन सुरुभयो, त्यो चाहिँ अझै चलिरहेको छ । सन् २०१० मा ‘प्रजाशक्ति’ दैनिकको प्रकाशन सुरु भयो र अझै निरन्तर चलिरहेको छ । सन् २००६ मा प्रकाशन सुरु भएको सपरिवार मासिक दश वर्षपछि बन्द भयो । मूलधारबाट निस्किएका र निस्करहेका यी पत्रिका मुख्य भए पनि आसामका विभिन्न जिल्लामा आआफ्नै ढङ्गबाट साहित्यिक पत्रिकाहरू निस्किरहेका छन् ।
नेपाली भाषी दक्ष पत्रकारको अभाव
आसाममा नेपाली भाषी दक्ष पत्रकारको अभाव छ । लेखकको अभाव छ । पत्रकारितातर्फ नयाँ पुस्ताको रुझान नै छैन । यसैले व्यावसायिक रुपले पत्रकारिताका लागि आसाममा चुनौती छन् । हालसम्म आसाममा माध्यमिक शिक्षादेखि मात्र ऐच्छिक विषय नेपाली राखिएको छ । बाह्रखरी आसामी भाषामै पढेका नेपाली भाषीका लागि त्यसले उति महत्व राख्दैन । यसैले प्राथमिक कक्षाबाटै नेपाली भाषा पढ्न व्यवस्था भए मात्र नेपाली भाषीले बाह्रखरी सिक्ने र नेपाली भाषाको विकास हुनसक्छ । यसले नेपाली भाषी पत्रकारिताको पनि विकास हुन सक्छ ।
भर्खरै आसाम सरकारले नेपाली बहुल क्षेत्रमा प्राथमिक तहमा नेपाली स्कुल खोल्न अनुमती दिएको छ । यसैले आसामका विभिन्न ठाउँमा प्राथमिक तहका नेपाली स्कुलहरु सञ्चालन हुन थालेका छन् । तर यसले गति लिन समय लाग्ने र यसलाई विश्वविद्यालय तहसम्मै अनिवार्य गरेर लान सकेमा नेपाली भाषासँगै नेपाली भाषी पत्रकारिताको विकास हुनेमा पत्रकार रोहित आशावादी छन् ।
सम्भावना भने बढ्दो छ
आसाममा अल्पसङ्ख्यकका रुपमा बसोवास गरिरहे पनि धेरै नेपालीहरु उच्च स्तरका ठेकेदार, रियलस्टेट कारोबारी, पर्यटन व्यवसायी, डिलर सञ्चालक, कृषि फर्म र चिया बगान उद्यमीदेखि विभिन्न साना उद्योगहरुका मालिक बनिसकेकाले नेपाली पत्रकारितालाई लगानीको खासै समस्या नहुने रोहित बताउँछन् । आसाममा विश्वविद्यालयका डीनदेखि, विद्यालय, महाविद्यालय र विश्वविद्यालयका शिक्षक बनेका नेपालीको सूची लामो भइसकेको छ । सँगै न्यायलय र प्रहरी प्रशासनको सेवामा पनि नेपालीहरुको सहभागीता बढिरहेको छ । यसैगरी राजनीतितर्फ जनसङ्गठनमा नेपाली भाषीहरुको एकता बढ्दो छ । आसाममा नेपाली भाषी आरपी शर्मा हाल सांसद समेत छन् । आसाममा रहेका नेपाली भाषीहरु प्रवासी हैनन्, रैथाने हुन् । उनीहरु मान सेना भगाउन सन १८२२ तिर उल्लेख्य सङ्ख्यामा आसाम आएका थिए । त्योभन्दा पहिले सन १८१६ तिरैदेखि वैवाहिक सम्बन्धले गर्दा खुला सिमानाको फाइदा लिँदै नेपालीहरु आसाम आएर उद्यम गरेर बस्न थाले । नेपालीहरुले जहिल्यै आसामलाई माया गरे । आसामको धर्तीलाई मलिलो बनाउने काम गरे । उद्यमको विकास गरे । आफूलाई भूमिपुत्र कहलाए । यसैले त सन १९३० मा नेपालीभाषी छविलाल उपाध्याय आसामका पहिलो स्वतन्त्रता सेनानी बने ।
नेपाल सरकारले नेपाली भाषी आसामीलाई प्रवासी भन्न छाड्नुपर्छ
आसाममा बासोवास गर्ने नेपाली भाषीहरु सबै रैथाने हुन् । आसामका सबै नेपाली भाषी भारतीय गोरखा हुन् । उनीहरुको आफ्नै भाषा र संस्कृति छ तर उनीहरु प्रवासी हैनन । आसाममा २० प्रतिशत मात्र अस्थायी नेपाली भाषी छन् । पूर्ण अधिकारका लागि सबै लडिरेका छन् । यसैले नेपाल सरकारले आसामका नेपालीलाई प्रवासी भन्नु हुँदैन । आसाममा आएर राजनीतिक दलहरुले प्रवास समिति बनाउन छाडनुपर्छ । बरु नेपाल सरकारले भारत सरकारलाई आसामका नेपालीभाषी नागरिकहरु तिम्रा भूमिपुत्र हुन्, उनीहरुलाई अधिकारबाट वञ्चित नगर भनिदिनुपर्छ ।
पहिले आसाम भन्नाले नागाल्यान्ड, त्रिपुरा, मणीपुर, मिजोरम र मेघालय पनि पथ्र्यो । तर सन् १९६३ देखी सन् १०७१ सम्म क्रमशः उनीहरु अलग हुँदै गए । हाल आसाममा ब्रह्मपुत्र उपत्यकादेखि र बराक उपत्यकाको भूभागको २८ जिल्लालाई बुझिन्छ । बोडे, राया, मिसिङ, कारबी, टिवा, देउडी, डिभाषा, गोर्खा आदि अनेक जाति र भाषीको बासोवास भएको आसाम राज्यको ग्रामीण क्षेत्रमा नेपाली भाषी गोरखाको बसोवास छ । प्रायः सबै कृषि पेशामा संलग्न छन् । उनीहरुमा सांस्कृतिक समानता छन् ।
तर आसाममा प्रवासीका रुपमा बङ्गलादेसीको बढ्दो आगमनले गलत बुझाइ भएको छ । यसैले यहाँका आदिवासीले विदेशी भगाऊ आन्दोलन सुरु गरे । यसैले स्थानीय आदिवासीको यातनामा नेपाली भाषी पनि परे । प्रवासी भगाउ आन्दोलनमा ८ जना नेपालीहरु सहिद भए । ४० हजार नेपालीहरुले त्रसित भएर भूमि छाड्न बाध्य हुनुपर्यो । तर अहिले त्यो अवस्था छैन
अधिकारका लागि पत्रकारिता
यसरी आसाममा नेपाली भाषीको अवस्था बुझाउँदै थप अधिकार प्राप्तिका लागि उत्प्रिेरित गराउन पनि आसाममा नेपाली भाषी पत्रकारिताको विकास अनिवार्य भएको बताए । तर नयाँ पुस्ताको सहभागीताबिना पत्रकारिता अगाडि बढ्न सक्दैन । तिनीहरुको सहभागिता बढाउन सबै नेपाली भाषीहरुले चासो दिनुपर्छ । बिस्तारै आसाममा पढेलेखेका एलिट वर्गका नेपाली भाषीको उदय हुँदै गएकाले आसाममा नेपाली भाषी व्यावसायिक पत्रकारिता फस्टाउन सक्छ । आसामको मूलधारका पत्रकारिता नेपाली भाषीहरुप्रति उदार नै छन् । गतिविधि प्रकाशनदेखि सहभागीता दिने कुरामा धेरै विभेद छैन । तर आफ्नो भाषा संस्कृतिको जगेर्ना गर्न मात्र नभएर समग्र आसामका गोरखा जातिको पहिचान स्थापित गराउँदै समाजिक र राजनीतिक अधिकार हासिल गर्न नेपाली भाषाको पत्रकारिता नै महत्वपूर्ण हुन्छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
आम उपभोक्ताको हकहितका लागि सरकारलाई जगाउँदै उपभोक्ता जागरण अभियान
-
पूर्वमुख्यमन्त्री शाक्यको आकस्मिक रुपमा ‘एन्जियोप्लाष्टी’ शल्यक्रिया
-
प्रसारण लाइन निर्माण गर्न चितवनतर्फ रुख कटान सुरु
-
अर्जेन्टिनासँगको हारपछि निराश केनले के भने ?
-
के मेस्सीले सकिदिएकै हुन् त ‘सर्वकालीन महान’को बहस ?
-
५ निकायलाई खाली राखेर ५ सचिवलाई राखियो जगेडामा
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण