शुक्रबार, ०१ साउन २०८३
ताजा लोकप्रिय

कोरोना विरुद्दको प्रतिकार्यमा सक्षम हुनेछौँः मुख्यमन्त्री शाही

सोमबार, ०१ वैशाख २०७७, १२ : २०
सोमबार, ०१ वैशाख २०७७

सुर्खेत । कर्णाली प्रदेशका मुख्यमन्त्री महेन्द्रबहादुर शाहीले कोभिड–१९ विरुद्धको प्रतिकार्यमा सक्षम हुने विश्वास व्यक्त गरेका छन् । नयाँ वर्ष २०७७ को अवसरमा शुभकामना सन्देश दिँदै उनले विकास र समृद्धिको अभियानमा अगाडि बढ्दै गर्दा अप्रत्याशितरूपमा कोरोना भाइरसले निम्त्याएको सङ्कटको कुनै पनि हालतमा सामना गरिने उल्लेख गरे ।

‘विश्व मानवजातिका विरुद्ध खडा भएको यो सङ्कटले हामीलाई विकास र समृद्धिको अभियानबाट विचलित बनाउने छैन, बरु यो सङ्कटको सामना गर्न हामी सक्षम हुनेछौँ’, शुभकामना सन्देशमा उल्लेख छ । प्रदेश सरकार सम्पूर्ण साधन, स्रोत तथा संयन्त्रको परिचालनसहित सङ्कट निवारण गर्न लागि परेकाले कोही पनि नागरिक त्रसित एवं निराश नहुन मुख्यमन्त्री शाहीले आग्रह गरेका छन् । महामारीको रोकथामका लागि नेपाल सरकार, प्रदेश सरकार र स्थानीय तहले गरेका प्रयासलाई सबैले आआफ्नो तर्फबाट सहयोग गर्न उनले आग्रह गरेका छन् ।

मुख्यमन्त्री शाहीले सबै बाधा, अवरोध र चुनौतीलाई पन्छाउँदै विकास र समृद्धिको अभियान सफल बनाई समतामूलक, समृद्ध र समाजवादी देश निर्माण गर्न सफल हुने विश्वाससहित नयाँ वर्षको अवसरमा स्वदेश तथा विदेशमा रहेका दाजुभाइ, दिदीबहिनीमा सुख, शान्ति, सुस्वास्थ्य, समृद्धि र दीर्घायुको कामना गरेका छन् ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रासस
रासस

राष्ट्रिय समाचार समिति नेपालकाे  सरकारी समाचार संस्था हाे ।

लेखकबाट थप