मङ्गलबार, ०८ जेठ २०८१
ताजा लोकप्रिय

चुनावको मुखैमा युवा संघमा विवाद, तीन समूह तीनतिर

आइतबार, १८ भदौ २०७४, १२ : ४८
आइतबार, १८ भदौ २०७४

काठमाडौं–नेकपा एमालेको जनवर्गीय संगठन युवा संघमा विवाद उत्पन्न भएको छ ।  दुई नम्बर प्रदेशको चुनावको मिति नजिकिँदै गएको अवस्थामा  संघमा विवाद उत्पन्न भएको हो । 

महाधिवेशनको तयारीमा रहेको युवासंघमा आ–आफ्नो समुहबाट अध्यक्ष बनाउने आन्तरिक तयारी सुरु भएपछि विवाद उत्पन्न भएको हो । हाल आएर  संस्थापन पक्ष समेत दुई खेमामा विभाजित भएको बताइएको छ । 
संस्थापन पक्षमा नै देखिएको विवादका कारण गत भदौ १६ र १७ गते बोलाएको केन्द्रीय कमिटीको बैठक स्थगित गरिएको थियो । 
केन्द्रीय कमिटिको बैठक स्थगित भएपछि शुक्रबार संस्थापन पक्षका अध्यक्ष राजीव पहारी समूहले  युवासंघको केन्द्रीय कार्यलयमा नै बैठक राख्यो । त्यो बैठकमा चन्द्र लामा, हस्त शाही लगायतको सहभागीता थियो । तर अध्यक्ष पहारीले भने, ‘बैठक नभएर काठमाडौमा उपलब्ध भएका साथीहरुसँग सामान्य छलफल गरेको हुँ । त्यहाँ सबै साथीहरु आउनु भएको छ । कोहि छिटो आउनु भयो कोहि ७–८ बजे आउनु भयो ।’
यता उपाध्यक्ष रमेश पौडेल र महासचिव किरण पौडेलको समूहले पनि सोहि दिन काठमाडौंको ग्लोवल कलेजमा भेला राख्यो । सो भेलामा महेश बस्नेत, निरु देवि पाल,  गोविन्द थापासहित  पर्शुराम बस्नेत, वचन सिंहलगायत थिए । 
यस्तै दिलकुमारी पन्तको समूहको भेला पनि  बानेश्वरको होटल अर्यालमा भयो । अर्यालमा नरेश शाही, हस्त शाही, मन्जु यादव, क्रान्ति बुर्लाकोटी लगायतका नेताहरु सहभागी भएको पन्त पक्ष एक सचिवले बताए । 

आरोप–प्रत्यारोप सुरु 
पार्टीको निर्देशनअनुसार  दुई नं प्रदेशको चुनावका कारण १६  र  १७ गतेको केन्द्रीय कमिटीको बैठक स्थगित गरेको अध्यक्ष पहारीले बताए । तर आन्तरिक रुपमा भने पहारीले पार्टीसंग मिलेर असोज २२ र २३ गतेलाई तोकेको महाधिवेशनको मिति सार्न खोजेको असन्तुष्ट पक्षको आरोप छ  ।
पन्त समुहका सचिव नरेश शाही भन्छन्, ‘चुनावलाई बहाना बनाएर युवासंघमा पुनः महाधिवेशन नगर्ने चलखेल सुरु भएको होकी भन्ने आशंका उत्पन्न भएको छ । त्यसकारण छिटो भन्दा छिटो बैठक बोलाएर समस्याको समाधान निकाल्नु पर्छ । होइन भने समस्या घट्नुको सट्टा बढ्छ ।’
युवासंघको २०६९ फागुनमा बुटवलमा महाधिवेशन भएको थियो । तर त्यसपछि अहिलेसम्म महाधिवेशन भएको छैन । युवा संघका नेता फुर्वा तामाङ भन्छन् ‘नेताहरुले आ–आफ्ना खल्तीका मान्छेलाई नेतृत्वमा ल्याउनको लागि महाधिवेशन नगर्ने चलन बसालेका छन् । चुनिएर आएर युवासंघको नेता हुनुपर्छ । नेताले नियुक्ति गरेपछि नेताको बफादार भए पुग्छ । नेताहरुलाई संगठनप्रति पार्टीप्रति निष्ठावान कार्यकर्ता होइन आफु प्रति बफादार भए पुग्छ ।’

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

कृष्ण गिरी
कृष्ण गिरी

कृष्ण गिरी रातोपाटीका लागि राजनीति क्षेत्रको रिपोर्टिङ गर्छन् ।

लेखकबाट थप