शुक्रबार, ०८ साउन २०८३
ताजा लोकप्रिय

ट्राफिक व्यवस्थापनमा ‘पहिला म’ होइन ‘पहिला तपाईं’ भन्ने संस्कार आवश्यक: राजेश हमाल

‘सडक विस्तार मात्र समाधान होइन, चुस्त व्यवस्थापन मुख्य कुरा हो’
शुक्रबार, ०८ साउन २०८३, ११ : ५३
शुक्रबार, ०८ साउन २०८३

सारांश

  • अभिनेता राजेश हमालले ट्राफिक व्यवस्थापनलाई प्रभावकारी बनाउन नागरिकको उत्तरदायित्व र ट्राफिक प्रहरीको कर्तव्यबिच बलियो समन्वय हुनुपर्नेमा जोड दिएका छन्।
  • उनले सवारी साधनको सङ्ख्यामा अत्यधिक वृद्धि भए पनि सोही अनुपातमा भौतिक पूर्वाधारको विकास हुन नसकेको प्रति चासो व्यक्त गर्दै समयसापेक्ष पूर्वाधार निर्माण र आधुनिक प्रविधिको प्रयोग गर्न सके सडक व्यवस्थापन अझ बढी व्यवस्थित हुने बताए।
  • हमालले सडकमा देखिने अत्यधिक हतारो र छाडा प्रवृत्तिको चर्चा गर्दै सवारी चालक र पैदल यात्रीको मनोविज्ञानमा परिवर्तन आउनु जरुरी रहेको र 'पहिला म' नभई 'पहिला तिमी' भन्ने संस्कार आवश्यक रहेको बताए।

काठमाडौं। अभिनेता राजेश हमालले ट्राफिक व्यवस्थापनलाई प्रभावकारी बनाउन नागरिकको उत्तरदायित्व र ट्राफिक प्रहरीको कर्तव्यबिच बलियो समन्वय हुनुपर्नेमा जोड दिएका छन्। 

शुक्रबार मेट्रो ट्राफिक एफएमको १४ औँ वार्षिकोत्सवका अवसरमा आयोजित कार्यक्रममा बोल्दै उनले सडक व्यवस्थापन प्रहरीको मात्र नभई आम नागरिकको पनि साझा जिम्मेवारी भएको बताएका हुन्।

समयसँगै सवारी साधनको सङ्ख्यामा अत्यधिक वृद्धि भए पनि सोही अनुपातमा भौतिक पूर्वाधारको विकास हुन नसकेको प्रति हमालले चासो व्यक्त गरे। समयसापेक्ष पूर्वाधार निर्माण र आधुनिक प्रविधिको प्रयोग गर्न सके सडक व्यवस्थापन अझ बढी व्यवस्थित हुने उनको भनाइ छ।

कार्यक्रममा बोल्दै हमालले भने, ‘समयसँगै सवारीसाधनको चाप अत्यधिक बढेको छ। तर त्यसअनुसार सडक तथा अन्य पूर्वाधार निर्माण हुन नसक्दा व्यवस्थापनमा चुनौती देखिएको छ।’

सडकमा देखिने अत्यधिक हतारो र ‘छाडा’ प्रवृत्तिको चर्चा गर्दै उनले सवारी चालक र पैदल यात्रीको मनोविज्ञानमा परिवर्तन आउनु जरुरी रहेको बताए। सबैले एकैपटक हतार गर्दा सडक झन् भद्रगोल हुने र जाम बढ्ने यथार्थलाई बुझेर ‘पहिला म’ नभई ‘पहिला तिमी’ भन्ने संस्कार जरुरी रहेको उनको तर्क थियो।

नागरिक र प्रहरीको भूमिकाबारे स्पष्ट पार्दै हमालले भने, ‘ट्राफिक प्रहरीहरूले आफ्नो जिम्मेवारी कुशलतापूर्वक निर्वाह गरिरहनुभएकोमा म उहाँहरूको प्रशंसा गर्न चाहन्छु। तर ट्राफिक व्यवस्थापन सफल बनाउन प्रहरीको प्रयास मात्र पर्याप्त हुँदैन, प्रत्येक नागरिकले पनि आफ्नो जिम्मेवारी र उत्तरदायित्व बहन गर्नुपर्छ।’

सडक विस्तार मात्रै समस्याको समाधान नभएको उल्लेख गर्दै हमालले चुस्त व्यवस्थापनलाई प्राथमिकता दिनुपर्ने धारणा राखे। कतिपय विकसित मुलुकमा नेपालको भन्दा साँघुरा सडक भए पनि प्रभावकारी व्यवस्थापनका कारण सवारी आवागमन सहज रहेको उदाहरण दिँदै उनले काठमाडौंको सन्दर्भमा म्यानेजमेन्ट दुरुस्त बनाउन सुझाव दिए।

सडकको चौडाइ र व्यवस्थापनबारे हमालले अगाडि थपे, ‘सडक व्यवस्थापनका लागि सडक चौडा बनाउनु मात्र समाधान होइन। विश्वका धेरै देशमा नेपालभन्दा साँघुरा सडकमा पनि सवारीसाधन व्यवस्थित रूपमा सञ्चालन भइरहेका छन्। यसको मुख्य कारण प्रभावकारी व्यवस्थापन हो।’

ट्राफिक नियमको पालना गर्नु सबैको हितमा रहेको बताउँदै उनले यसलाई ‘विन–विन सिचुएसन’ (दुवै पक्षको जित) का रूपमा व्याख्या गरे। नियम पालना गर्दा नागरिक र प्रहरी दुवैको समय बचत हुने र सुरक्षा सुनिश्चित हुने हमालको भनाइ छ। समाजका हरेक तह र तप्काले हातेमालो गरेर मात्र काठमाडौंका साथै देशभरको ट्राफिक व्यवस्थापनलाई सही दिशा दिन सकिने भन्दै उनले सबै सरोकारवालालाई जिम्मेवार र मर्यादित हुन आग्रह गरे।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप