बुधबार, ०२ जेठ २०८१
ताजा लोकप्रिय

स्वास्थ्य मन्त्रालयलाई ४ करोड ५३ लाख बराबरको मेडिकल सामग्री हस्तान्तरण, १६ वटा संस्थाले गरे सहयोग

बुधबार, २४ वैशाख २०७७, १८ : ४०
बुधबार, २४ वैशाख २०७७

काठमाडौं– अन्तर्राष्ट्रिय गैरसरकारी संस्था संघ (एआइएन) ले कोरोना (कोभिड–१९) महामारी नियन्त्रणका लागि महिला, बालबालिका तथा जेष्ठ नागरिक मन्त्रालयसँगको समन्वय तथा समाज कल्याण परिषद्को सहयोगमा स्वास्थ्य तथा जनसंख्या मन्त्रालयलाई एकमुष्ट रुपमा मेडिकल सामग्री हस्तान्तरण गरेको छ ।

एआइएनको पहलमा १६ वटा संस्थाले संयुक्त रुपमा खरिद गरेको ती मेडिकल सामग्री झण्डै ४ करोड ५३ लाख नेपाली रुपैयाँ बराबरको रहेको छ । कोभिड–१९ को पूर्व तयारी र प्रतिकार्यका लागि समग्रमा अगैससबाट कम्तिमा २ अर्बको विनियोजन गरिने पनि जनाएको छ । 

अघिल्लो महिना एआइएनले आफ्ना सदस्य संस्थालाई कोभिड–१९ को पूर्वतयारी र प्रतिकार्यमा सहयोग प्रदानका लागि संयुक्त खरिद गरी योगदान गर्न आग्रह गरेको थियो । त्यसअनुरुप एक्सन एड, आडरा डेभलप्मेन्ट, केयर नेपाल, फेयरमेड, गुड नेभर्स इन्टरनेशनल नेपाल, आइएनएफ नेपाल, आइपास नेपाल, लुथरन वर्ल्ड फेडेरेसन, माउन्टेन चाइल्ड, वानहार्ट वर्ल्ड, अक्सफाम, प्लान इन्टरनेशनल, प्राक्टिकल एक्सन, युएमएन, वाटर एडसहित गैसस न्याय हेल्थ नेपालले यसका लागि आर्थिक सहयोग प्रदान गरेका हुन् । 

हस्तान्तरण गरिएको सामग्रीमा पर्सनल प्रोटेक्टिभ इक्विप्मेन्ट .(पीपीइ) सेट, सेफ डेलिभरी किट, इन्फ्रारेड थर्मोमिटर, वाटर एण्ड एयर प्रुफ एप्रोन, सर्जिकल स्टेरिल ग्लोब्स, युटिलिटी ग्लोब्स, केएन९५ मास्क र सर्जिकल मास्क, सर्जिकल गगल्स तथा खासगरी कोरोना भाइरस नियन्त्रणका लागि पहिलो पंक्तिमा खटिएका स्वास्थ्यकर्मीलाई आवश्यक पर्ने स्वास्थ्य, स्यानिटाइजर र किटनाशक वस्तु लगायत छन् ।

स्वास्थ्य मन्त्रालयलाई प्रदान गरिएको उक्त संयुक्त सहायताका अलावा कोभिड–१९ को पूर्वतयारी र प्रतिकार्यका लागि एआइएनमा आवद्ध १ सय २९ मध्ये ६५ वटा संस्थाले सक्रिय रुपमा काम गरिरहेका छन् । यी संस्थाहरुले अहिलेसम्म कोभिड–१९ को रोकथाम र प्रतिकार्य तथा जीविकोपार्जन र आर्थिक उत्थानशीलता निर्माणका लागि कम्तिमा २ अर्ब रुपैया सहयोग गरेका छन् । 

मेडिकल सामग्रीहरु स्वास्थ्य तथा जनसंख्या मन्त्रालयको परिसरमा आज महिला, बालबालिका तथा जेष्ठ नागरिक मन्त्री पार्वत गुरुङ, समाज कल्याण परिषद्का कार्यवाहक सदस्य सचिव शिवकुमार बस्नेत तथा एआइएनका अध्यक्ष अच्युतकुमार लुइटेलको उपस्थितिमा माननीय स्वास्थ्य तथा जनसंख्या मन्त्री भानुभक्त ढकाललाई हस्तान्तरण गरिएको थियो । 

विश्व स्वास्थ्य संगठन र नेपाल सरकारको निर्देशिकामा तोकिएको मापदण्ड अनुसार भौतिक दूरी कार्य गर्दै आयोजना गरिएको हस्तान्तरण कार्यक्रममा सरकारी निकायका प्रतिनिधि, एआइएनका सदस्य तथा सञ्चारमाध्यमको उपस्थिति थियो । 

सो अवसरमा मन्त्री पार्वत गुरुङले कोभिड–१९को प्रतिकार्यका लागि समयमै राहत उपलव्ध गराएको र अहिलेको सामूहिक पहलका लागि एआइएनलाई धन्यवाद दिए ।

कोरोना भाइरसको महामारीको सामना गर्दा गैरसरकारी निकायसँग सहज र प्रभावकारी समन्वय गर्न तथा यो क्षेत्रलाई अनुकूल वातावरण बनाउन प्रतिवद्ध रहेको मन्त्री गुरुङले बताए ।

त्यसैगरी मन्त्री ढकालले एआइएनको पहलका लागि आभार प्रकट गर्दै मेडिकल सामग्रीहरुको खरिद चुनौतीपूर्ण भएको अहिलेको संकटको समयमा गैरसरकारी संस्थाहरुको सहयोग साँच्चिकै प्रशंसा योग्य रहेको बताए ।

एआइएनका अध्यक्ष अच्युतकुमार लुइँटेलले कोभिड–१९ रोकथाम, नियन्त्रण तथा दीर्घकालिन पुनर्लाभ र मुलुकको उत्थानशीलता निर्माणका लागि सरकार, विकास साझेदार र नागरिक संघसंस्थाले काँध मिलाई आपसमा सवल ढंगमा काम गर्नुपर्ने समय भएको बताइए ।

त्यसैगरी, एआइएनकी उपाध्यक्ष लोरावूनेन वर्गले अहिलेको कठिन समयमा गैरसरकारी संस्थालाई महिला, बालबालिका र जेष्ठ नागरिक मन्त्रालय, समाज कल्याण परिषद स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले गरेको सहयोग प्रति खुशी व्यक्त गरे ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप