मङ्गलबार, ०८ जेठ २०८१
ताजा लोकप्रिय

एमालेको मधेश मिसन : फलामका च्यूरा चपाउनु सरह

बुधबार, २१ भदौ २०७४, १३ : २८
बुधबार, २१ भदौ २०७४

काठमाडौं– संघारमा आइसकेको २ नम्बर प्रदेशको स्थानीय तहको निर्वाचनले सवैजसो दलहरुलाई मधेसमोह जगाएको छ । त्यसमा पनि यसअघिका स्थानीय निर्वाचनमा धेरै तह जितेको एमाले मधेसविरोधी पार्टीका रुपमा अन्य दलले प्रचार गरेपछि त्यो प्रचार भ्रम हो भन्ने पुष्टि गर्न पनि मधेश मिसनमा बढि नै केन्द्रीत छ । नेकपा एमालेका सचिव तथा प्रचार विभाग प्रमुख योगेश भट्राईले भने ‘दुई नं प्रदेशको निर्वाचन माटोलाई माया गर्ने र नगर्ने बिचको हो । त्यसकारण यो निर्वाचन पनि एमालेले ५० प्रतिशत भन्दा बढी जित्छ ।’ 
एमालेलाई अन्य प्रदेशमा जस्तो दुई नं प्रदेशमा चुनाव जित्न सहज भने छैन । १५ गते र १६ गते पार्टी कार्यलयमा मधेशका अगुवा कार्यकर्तालाई पार्टी अध्यक्ष केपी ओलीले एमाले पार्टी मधेश विरोधी नभएको बताए । १६ गतेको सम्बोधनमा त उनले ‘एमाले नेताहरुको बोली र सुन तौलने काम एउटै हो’ समेत भने । 
ओलीले यसरी स्पष्टिकरण दिनु भनेको अरु दलले चलाएको हल्ला चिर्नु नै हो । उसो त ओलीकोे स्पष्टिकरणको अभियान देशभर स्थानीय तहको निर्वाचन हुने पक्का भएबाटै हो ।

यो हो समस्या
२०७२ असोज ३ गते तीन ठूला दलहरुले संविधान जारी गरे । तर मधेशबादी पार्टी त्यसको विपक्षमा देखिए । देशभरी दिपावली मनाउदा मधेशले मनाएन । त्यो भन्दा पहिला नै मधेशीहरुले नाकाबन्दी सुरु गरेका थिए । संविधान जारी भएपछि माओवादी केन्द्रका अध्यक्ष प्रचण्डको पहलमा एमाले अध्यक्ष ओली प्रधानमन्त्री भए । मधेशमा आन्दोलनरत मधेशी दलहरु वार्ताका लागि कहिले सिंहदरबार त कहिले बालुवाटार गए । प्रधानमन्त्री ओलीले बालुवाटारको वार्तामा समथर भूमि जति मधेश हुने भए विहार र यूपि पनि समथर छ त्यहि जानुहोस् भन्ने शव्दले तत्कालिन वार्ता भाँडिएको राजपाका युवा नेता मनिस सुमन सम्झन्छन् । उनी भन्छन् ‘एमालेका नेताहरुले मधेशी जनताको सम्मान त गर्न जानेन नै गालिगलोज गर्न पनि छाडेन । ’ ओलीलेले २०७२ असोज १७ गते अर्को अभिव्यक्ति दिए माखे साङ्लो । मधेशीले पूर्वपश्चिम राजमार्गमा मानवसाङ्लो बनाएर प्रर्दशन गरेपछि यसलाई ओलीले माखेसाङ्लोको संज्ञा दिएका थिए । 
त्यहि क्रममा मधेशमा आन्दोलनका क्रममा झण्डै ५४ जनाभन्दा बढीको मृत्यु भयो । त्यसमा पनि ओलीले ‘दुई चारवटा आँप झरेर केहि हुदैन’ भन्ने छुद्र बचन सार्वजनिक गरे । 
ओलीको बोलीमा लोली बनाउदै त्यसवेला नेता शंकर पोख्रेलले त ट्वीट नै डिलिट गर्नु परेको थियो । पोखरेलले लेखेका थिए –जस्ता काला मान्छे, त्यस्तै कालो दिवस मनाउदै छन् । जसको देशभरी ओलोचना भएको थियो । ओली र पोखरेललेमात्रै होइन, वरिष्ठ नेता झलनाथ खनालले पनि ‘आफुले लगाउने धोती जस्तै प्रदेश मागेको’ भन्ने अभिव्यक्ति दिएका थिए । 
स्पष्टिकरण दिँदै व्यस्त
यहि र यस्तै अभिव्यक्तिका कारण आज एमालेका अध्यक्ष ओली र नेताहरु आज स्पष्टिकरण दिँदै हिँड्न बाध्य भएका छन् । एमालेका नेताहरुले अहिले जति स्पष्टिकरण दिएपनि दुई नं प्रदेशका जनताले भने आफूमाथि एमाले नेताहरुले गरेका टिप्पणी नभुल्ने र यसले निर्वाचनमा एमालेलाई ठूलो नोक्सान हुने बताउँछन् मधेस मामलाका जानकार दिपेन्द्र झा । झा भन्छन्‘जनताहरुले यस्ता टिप्पणीहरु भूल्न समय लाग्छ । तर तत्काल भूलेका छैनन । आँप झरेको ,युपि विहार जाउ जस्ता गैर जिम्मेवारपूर्ण अभिव्यक्ति न मधेशका जनताले भूलेका छन् । नत यो निर्वाचनमा अन्य राजनीतिक दलहरु भूल्न दिने नै छन् ।’
तर, नेता भट्टराई भने समाजिक सदभाव,वर्गीय असमानताका विरुद्ध, जमिनदारी प्रथाका विरुद्ध एमाले काम गर्ने बताउँछन् । रोचक पक्ष त केछ भने अध्यक्ष ओली आफुलाई अहिले मधेशको पक्षधर बताउँछन् । तर, उनको मुखबाट मधेश भन्ने शब्द सुनिदैन । उनी अहिलेपनि दुई नं प्रदेशलाई तराई नै भन्छन् । 
ओली अहिलेसम्म तराई अथवा मधेशमा प्रचार प्रसारमा पनि गएका छैनन । देशभरी साना ठूला कार्यक्रममा सहभागी हुने ओली मधेश अथवा तराइमा भने जादैनन । उनी अहिलेपनि आफुलाई मधेश जाँदा असुरक्षित महशुस गर्ने एमालेका एक पत्रकार भन्छन् । 


 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

कृष्ण गिरी
कृष्ण गिरी

कृष्ण गिरी रातोपाटीका लागि राजनीति क्षेत्रको रिपोर्टिङ गर्छन् ।

लेखकबाट थप