बुधबार, ०२ जेठ २०८१
ताजा लोकप्रिय

रसुवागढी नाका सञ्चालनको तयारी, चिनियाँ सवारी साधनले नै मितेरी पुलसम्म मालसामान उपलब्ध गराउने

बिहीबार, ११ असार २०७७, १८ : ०८
बिहीबार, ११ असार २०७७

कोभिड –१९ का कारण  रसुवागढी नाकाबाट बन्द व्यापारिक कारोवार पुनःसञ्चालनमा ल्याउन सीमा क्षेत्रका अधिकारी सहमत भएका छन् ।
 नेपाल र  चीन दुई देशका अधिकारीबीच बुधबार अपराह्न रसुवागढीस्थित मितेरी पुलमा सम्पन्न वार्तामा स्वास्थ्य परीक्षण, सीमा क्षेत्रमा विशेष सुरक्षा, क्वारेन्टिन जस्ता व्यवस्थापनबाट कारोवार अगाडि बढाउने सहमति भएको हो । 
 दुवै देशका नागरिक आवतजावतमा भने यथावत् रोक लगाई अब चिनियाँ सवारी साधनले नै मितेरी पुलसम्म मालसामान उपलब्ध गराउने सहमति भएको रसुवाका प्रमुख जिल्ला अधिकारी हरिप्रसाद पन्तले जानकारी दिए ।

चीनबाट आयात गरिने मालवस्तु दैनिक रूपमा १५ कन्टेनरसम्म रसुवागढीको मितेरीपुलमा ल्याइने छ ।  नेपाली कन्टेरमा सामान लाद्न कोभिड –१९ नियन्त्रण नीतिको मापदण्ड पूरा गरेका कामदार मात्र पठाउन चिनियाँ अधिकारीले आग्रह गरेको बताइएको छ ।  एकदिनमा १५–१५ कामदार, चालक र  कन्टेनर मात्र मितेरी पुलको सीमामा  पठाउन ती अधिकारीले आग्रह गरेको रसुवा भन्सार कार्यालय टिमुरेका प्रमुख भन्सार अधिकृत पुण्यविक्रम खड्काले जानकारी दिए ।
  केरूङबाट नेपाली कन्टेनरले सामग्री ल्याउने गरेकामा चीनको वुहानमा कोरोना भाइरसको संक्रमण बढेसँंगै  गत माघ १५ गतेदेखि बन्द भएको  थियो ।  कोरोना नियन्त्रण नभएसम्म नेपाली ट्रक तथा कन्टेनर केरूङ जान नपाउने जनाइएको छ । 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रासस
रासस

राष्ट्रिय समाचार समिति नेपालकाे  सरकारी समाचार संस्था हाे ।

लेखकबाट थप