ठेकेदारले अटेर गरेपछि ग्राभेलको काम अलपत्र, हिलाम्मे सडकमा यात्रुलाई सकस
जुम्ला – कर्णाली राजमार्गको नाग्म–गमगढी सडक वर्षाका कारण हिलाम्मे भएको छ । सडकमा यातायातका साधनमात्रै होइन पैदलयात्रुले समेत सकस खेप्दै आएका छन् । जनताको सास्तीमा सरकार भने मूकदर्शक भएको छ ।
सडक स्तरोन्नतिका लागि हरेक वर्ष करोडौँ बजेट विनियोजन हुने तर कामै नभएर फ्रिज हुने गरेको सिञ्जा गाउँपालिका अध्यक्ष देवलसिंह रावलले बताए । उनले भने, “यो सडक प्रदेश र सङ्घीय सरकारले निर्माण गर्ने भनिएकाले स्थानीय तहले बजेट विनियोजन गर्न मिल्दैन, बजेट खर्च गरेको खण्डमा बेरुजु हुन्छ ।”
त्यस्तै हिमा गाउँपालिकाका अध्यक्ष रजबहादुर शाहीको भनाइ पनि उस्तै छ । “गाउँपालिका अघिको जुगाड खण्ड सधैँ हिलाम्मे हुन्छ । ग्राभेलका लागि सधैँ ठेकेदार पक्षसँग भनेका हुन्छौँ, बन्दैन । यसले गर्दा हामी जनप्रतिनिधिले सधैँ गाली खाने गरेका छौँ । यसमा स्थानीय सरकारले बजेट खर्च गर्न मिल्दैन । अघिल्लो वर्ष हिलो पन्छाउनका लागि न्यून रकम खर्च गर्दा महालेखा नियन्त्रक कार्यालयले बेरुजु देखायो ।” सङ्घीय सरकारअन्तर्गत सडक ग्राभेलका लागि बोलपत्र आह्वान भएको तीन वर्ष बित्न लाग्दा पनि ग्राभेल हुनसकेको छैन ।
ठेकेदारले अटेर गरेपछि ग्राभेलको काम अलपत्र
नाग्म–गमगढी सडकखण्डको नाग्मबाट आचार्य लिहीसम्मको १९ किलोमिटर ग्राभेल गर्ने भनिए पनि करिब नौ किलोमिटर मात्रै ग्राभेल हुँदा सडकयात्रा कष्टकर बनेको छ । नाग्मबाट बड्कीसम्मको १३ किलोमिटर सडक रु सात करोड ९० लाख ९५ हजार १७७ मा थोदुङ कन्स्ट्रक्शनले ग्राभेल गर्ने जिम्मा पाएको थियो । सम्झौताअनुसार निर्माण कम्पनीले दशैँअघि नै काम सम्पन्न गर्नुपर्ने थियो । बड्कीबाट आचार्यलिहीसम्मको साढे चार किलोमिटरको काम भने सम्पन्न भइसकेको छ ।
नाग्म–गमगढी राजमार्गको सिञ्जा सडकखण्डअन्तर्गत अधिकांश स्थानमा अत्यधिक हिलो र खाल्डाखुल्डीले गाडी फस्ने भएकाले अधिकांश गाडी जानै मान्दैनन् । यसले गर्दा यात्रुले थप समस्या भोग्दै आउनुपरेको स्थानीय डिल्ली तिवारीले बताए । उनका अनुसार सिञ्जा क्षेत्रमा दिनभरमा तीन किलोमिटरसमेत गाडी गुड्न सक्दैनन् । यातायात समस्याकै कारण माथिल्लो सिञ्जा र मुगुका यात्रुहरू बीचबाटोमै बास बस्न बाध्य छन् । नाग्म–गमगढी राजमार्गको तल्लो क्षेत्रमा पनि समयमै मापदण्डानुसारको ग्राभेल नहुँदा यात्रुलाई सास्ती भएको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
आजदेखि ४०५ स्थानीय तहमा जग्गाको कित्ताकाट रोकियो
-
आजदेखि ८ बैंकले घटाए ब्याजदर, कुन बैंकले कति दिन्छन् ? (सूचीसहित)
-
यस्तो छ आजदेखि कार्यान्वयन भएको सरकारको नयाँ कर नीति
-
पहिरो पन्छाइएपछि पृथ्वी राजमार्ग सञ्चालनमा
-
निजी अस्पतालमा उपचार गर्न जाँदा आजदेखि ३ प्रतिशत महँगो
-
विश्वका उत्कृष्ट ५ 'अन-टाइम पर्फर्मेन्स' विमान कम्पनीको सूचीमा एअर इन्डिया
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण