सोमबार, १७ वैशाख २०८१
ताजा लोकप्रिय

बागलुङ बाढी : वास्तविक पीडित नभेटी फर्किए भीआईपीहरु

१५ जना गुमाएका पानीघाटका स्थानीय भन्छन्, ‘सरकारलाई आकाशमा मात्र हेर्न पाइयो’
आइतबार, २१ भदौ २०७७, १२ : ०५
आइतबार, २१ भदौ २०७७

बागलुङ जिल्लाको ढोरपाटन नगरपालिकामा रहेको भुजी खोला*मा आएको बाढीले करिव ७६ घर बगाएको छ ।  बाढीमा परि ३८ जनालाई खोलाले बगाएको तथ्यांक छ । ती मध्ये १५ जनाको शव भेटिएको छ भने अझै २३ बेपत्ता छन् । १५० परिवार बाढीका कारण विस्तापित बन्नुपरेको जिल्ला प्रशासन कार्यालय बागलुङका प्रमुख सुरेश न्यौपानेले बताए । न्यौपानेका अनुसार बाढीले करिव ५०० जना पुरै विस्तापित बनेका छन् भने ढोरपाटन नगरपालिकाका ६, ७, ८ र ९ वडा प्रभावित भएका छन् ।

भुजीखोलामा आएको बाढीसँगै चारवटा वडा सडक र विद्युत सञ्जालबाट सम्पर्कबिच्छेद भएको छ । बागलुङ बुर्तिबाङबाट ढोरपाटन जाने बाटो पुरै नष्ट भएको छ । बाढीले करोडौँको क्षति भएको अनुमान गरिएको छ ।

बस्तीलाई बाढीले बगर बनाएपछि सरकारी स्तरबाट अनुगमन जानेहरुको भीड पनि उस्तै छ । शुक्रबाट बाढीग्रस्त क्षेत्रको अनुगमनमा नेपाल सरकारका गृहमन्त्री रामबहादुर थापा लगायतको टोली बागलुङको ढोरपाटन नगरपालिका वडा नं. ९ मा रहेको मोमला भन्ने ठाउँमा पुगेको थियो । त्यो स्थानबाट मुख्य क्षतिग्रस्त भएको स्थानमा पुग्न करिब तीन घण्टा पैदल हिँड्नुपर्छ । तर गृहमन्त्रीसहितको टोली मोमलामा नै कार्यक्रम गरेर काठामाडौँ फर्किएको छ । स्थलगत अनुगमनमा गएका गृहमन्त्रीलाई नजिकै रहेको एक बस्तीमा लैजान फड्केको व्यवस्था गरिएको थियो । स्थलगत अनुगमनमा गएको टोली मुख्य क्षति भएको स्थानमा नपुगी प्रति मृतक परिवारलाई दुई–दुई लाख दिने आश्वसन दिएर काठमाडौँ फिर्ता भएको हो ।

शनिवार गण्डकी प्रदेशका मुख्यमन्त्री पृथ्वी सुब्बा गुरुङ लगायतको टोली पनि मोमला नै पुगेर एक कार्यक्रम गरी मुख्य क्षति भएको स्थानमा नपुगी मृतकका परिवारलाई एक–एक लाख दिने घोषणा गरेर फर्किएको छ ।

बाढीले सडक बगाएपछि स्थानीयहरु भिरको बाटो लहरा समाउँदै हिँडिरहेको देख्न सकिन्छ । हामी पनि स्थानीयहरुसँगै भिरको बाटो मोमलाबाट पानीघाटतिर लाग्यौँ ।

बगरभरी आफन्त खोज्नेको भीड

भुजी खोलाको बगर छेउमा रहेको पानीघाट बगरमा १५ घर थिए । तर अहिले पानीघाटमा घरभन्दा ठूला ढुङ्गाहरु बाहेक अरु केहि देख्न सकिँदैन । पानीघाट बजारमा खोला किनारामा आफन्त खोज्नेहरुको भीड बाक्लै थियो । आफन्त खोज्न हिँडेकाहरु आफन्त नभेट्दा मलिन अनुहार बोकेर आफन्तले लगाएको कपडा भेट्दा पनि डाँको छाडेर रोइरहेको देख्न सकिन्थ्यो ।

त्यही आफन्त खोज्नेहरुको भीडमा करिब ७० वर्षमा मनबहादुर बुढा पनि थिए । उनी आफ्नो बुहारी खोज्न भुजी खोलाको किनार किनार भौँतारिरहेका थिए । ‘म गोठ बस्छु, यता बाढीले विध्वंश मच्चाएको थाह पाएपछि बिहीबार बिहान आइपुगेको हुँ । बुहारीको सानो पसल थियो । मेरो घर अलि माथि पर्छ । नाती–नातिना र छोरा माथिको घर रहेछन् । उनीहरु ठूलो कालबाट बाँचे । बुहारी यहाँ पसल कुरेर बसेकी थिइन् । उसलाई बाढीले बगाएछ । हराएको पनि तीन दिन पुग्न लागिसक्यो अझैसम्म बुहारी भेटिएको छैन । छोरा घरमा झोक्राएर बसेको छ । नाती–नातिनालाई आमाबारे केही भनेको नै छैन । कसरी भन्ने त्यस्तो कुरा ?,’ आँखाबाट आँशु झार्दै उनले भने ।

सरकारका कोही प्रतिनिधि अहिलेसम्म आफूहरुको खबर बुझ्न नआएको उनले बताए । ‘तर मोमलातिर आएर भाषण गरेर गए भन्ने सुनेको हो । यहाँ त अहिलेसम्म कोही पनि आएको छैन,’ बुढाले भने ।

सोही पानीघाटमा एकै परिवारका आठ जनासहित १५ जनाले ज्यान गुमाएको स्थानीय होमबहादुर बुढाले बताए । होमबहादुर भन्छन् ,‘गाउँले सबै शव खोज्न खोलाखोलामा हिँडेका छन् । जे जत्ति उद्धार र शवको खोजी भएको छ, स्थानीयहरुकै सहयोगमा भएको छ । सरकारी संयन्त्रले त केहि पनि गरेको छैन । खै मन्त्री र मुख्यमन्त्रीहरु आए भन्ने सुनेको हो तर यता आएका छैनन् । हेलिकप्टर त आइरहेको छ । त्यसैमा आएका त होलान् नि यता आउन कठिन हुने भएर तलैबाट फर्के होलान् नि ।’

‘अझ माथि झन् ठूलो क्षति भएको छ । तर त्यसको कुनै हिसाब किताब छैन । सरकारसँग हराएकाहरुको बारेमा पनि केही तथ्याङ्क नै छैन होला । यहीँ पानीघाटमा नै कति हराएका छन्,’ उनले थपे ।

एक लाखको माया गर्दा ज्यान गयो

खोला किनारामा व्यापार गरिरहेका एक युवाको ज्यान पैसाको मायाले लगेको बताउँछन् । बाढी आएको थाहा पाएपछि घरबाहिर आइसकेका फेरि पसलमा रहेको एकलाख झिक्न पसल पुग्दा पसलसहित बगेको स्थानीय बताउँछन् । अर्का युवा जो ढोरपाटन घुम्नजान लागेका थिए । बाढी आएको थाहा पाएपछि मोमला बजारबाट बाहिर निस्किसकेका थिए । पछि उनलाई बाइक बचाउन पर्छ भन्ने लागेर बाइक झिक्न गए अनि उनलाई पनि बाइकसँगै खोलाले बगायो । मरेकाहरु मध्ये धेरै अरुलाई बचाउन लाग्दा बाढीमा परेको स्थानियवासीहरु बचाउँछन् ।

खोलाको पानीको बाहवलाई नहेरी उद्धारमा खटिँदा धेरैको ज्यान गएको छ ।

झमेन्द्रले ज्यानको बाजी राखेर श्रीमती र छोरा बचाए

यता, मस्त निन्द्रामा रहेका झमेन्द्र पुनले बाढी आएको थाह पाएपछि श्रीमती र छोरालाई उठाए । तर बाढीले त्यो समय पनि कुरेन घर हुत्याउन लाग्यो । घरभरी भेल छिर्यो । त्यहि भेलबाट उनले श्रीमती र छोरालाई बचाए । उनी श्रीमती र छोरा बचाउँछु भन्दा आफै घाइते बने । उनी घाउमा सामान्य टालो बाँधेर बसिरहेका थिए । उपचारका लागि बुर्तिबाङसम्म पुग्ने अवस्था नै छैन ।

जब उनले छोरा र श्रीमतीलाई घरबाट घिर्सादै बाहिर निकाले, एक मिनेट पनि नहुँदै उनको घर पनि खोला निल्यो । अहिले पनि उनी लामो श्वास फेर्दै भन्छन् –‘काललाई साह्रै नजिकबाट देखियो ।’

बेपत्ता भनिएकी रिना बिक भेटिएपछि

पानीघाटमा नन्द खोज्दै हिँडेको रिनादेवि बिकले निन्द्राबाट ब्युँझन नसक्दा नन्दले ज्यान गुमाउन परेको बताइन् । रिनाले आफू पनि बिहीबार बिहानमात्र परिवारको सम्पर्कमा पुगेको बताइन् । उनीहरु नभेटिँदासम्म सरकारी आँकडामा ४१ जना हराएको भन्ने सूचना प्रशारीत भइरहेको थियो । रिना बिकलगायत भेटिएपछि हराउनेहरुको सङ्ख्या घटेर ३८ पुगेको छ । रिना बिक नन्द फुस्री बिकलाई खोज्दै खोलाको बगरबगर डुलिरहेकी छिन् ।

सच्याइएको

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

सौगात पोखरेल
सौगात पोखरेल
लेखकबाट थप