आइतबार, ३० वैशाख २०८१
ताजा लोकप्रिय

हाम्रो पार्टी सबैभन्दा बढी महिलामैत्री छ, म महिलावादी होः सभापति देउवा

सोमबार, ०५ असोज २०७७, १७ : २२
सोमबार, ०५ असोज २०७७

काठमाडौं । नेपाली काँग्रेसका सभापति शेरबहादुर देउवाले आफू महिलावादी भएको बताएका छन् ।  उनले भने, ‘म महिलावादी हो । महिला आयोगमा र दलित आयोग मैले बनाएको हो । हाम्रो पार्टीमा आरक्षणका आधारमा सहभागिता हुन्छ ।’ 

नेपालमा महिला समानताको संवैधानिक तथा कानूनी व्यवस्था र समावेशीताको वर्तमान अवस्था सन्दर्भमा आयोजित भर्चुअल मिटिङमा सभापति देउवाले पार्टी सबैभन्दा बढी महिलामैत्री भएको बताए ।  उनले भने, ‘हाम्रो पार्टी सबैभन्दा बढी समावेशी छ । ५१ प्रतिशत महिला हुनुहुन्छ, कत्तिमा ३३ प्रतिशत त भोटर ल्याउनुपर्यो । महिला, दलित, आदिवासी, मधेसी, जनजातिका भोट आफ्नो पक्षमा ल्याउनुपर्यो । अधिकार पनि पाउनुहुन्छ । भोट पनि ल्याउनुपर्यो । पार्टी सभापति र राष्ट्रिपति प्रधानमन्त्री हुन भोट ल्याउनुपर्यो भोट ।’

आफ्नो पार्टी सबैभन्दा बढी महिलामैत्री भएर पनि राष्ट्रिय निर्वाचनमा पार्टीले महिलाको साथ र समर्थन पाउन नसकिरहेको देउवाको भनाइ थियो । सभापति देउवाले देशको जनसंख्याको ५१ प्रतिशत महिला रहेको तथा विगतका निर्वाचनहरुमा पनि पुरुषको तुलनामा महिला मतदाताकै संख्या बढिरहेको भन्दै उनीलाई पार्टीसँग जोड्नुपर्ने बताए ।

‘पार्टीले जित्ने वा हार्ने भन्ने कुराको निर्णय महिलाकै हातमा छ । हामीले चुनावी नतिजा आफ्नो पक्षमा पार्न महिलाको बढीभन्दा बढी मत पाउनुपर्छ,’ देउवाले भने। महिला, आदिवासी, जनजाति, दलित, मधेसी लगायतका समुदायको पार्टी संगठनमा अनिवार्य प्रतिनिधित्वको व्यवस्था भएपछि त्यो अनुसारको भोट पाउन नसकिरहेको गुनासो गरे ।

‘हामीले जति महिलाको उपस्थिति अरु कुनै पार्टीले पनि गरेको छैन। यसका बाबजूद नेपाली काँग्रेसले महिलाको भोट पाउन सकिरहेको छैन। म फेरि पनि भन्छु मत बढाउन पर्यो मत,’ उनले भने। पार्टीका महिला नेता–कार्यकर्ताले महिलालाई आफ्नो पक्षमा ल्याउन पनि उनले आग्रह गरे। नेपालको संविधानले महिलाका लागि देशका महत्वपूर्ण स्थानमा अनिवार्य र उचित प्रतिनिधित्वको व्यवस्था गरेको बताए ।

संविधानको व्यवस्थाअनुसार पार्टीले पनि विधानमा परिमार्जन गर्दै सहमहामन्त्रीदेखि अनिवार्य ३३ प्रतिशत प्रतिनिधित्वको व्यवस्था गरेको बताउँदै भोलिका दिनमा अरु पदमा पनि आउनसक्ने उनले बताए । यसका लागि महिलाहरुले पार्टी संगठनमा महिलाको सदस्यतासँगै चुनावमा महिलाको साथ र समर्थन जुटाउन देउवाले सम्झाए । उनले आफूले सरकारको नेतृत्व गरेकै बेला महिला, दलित, आदिवासी जनजाति लगायतको अधिकारको पक्षमा उभिएर उनीहरुको हक अधिकार संरक्षणका लागि विभिन्न आयोगहरु बनाएको पनि बताए। 

यस्तै केन्द्रीय सदस्य सुजाता कोइरालाले पार्टी नेतृत्वलाई फराकिलो हृदय बनाएर महिलालाई अघि बढाउन आग्रह गरिन् । उनले भनिन्, 'महिलालाई उच्च स्थान दिएर प्रधानमन्त्री, पार्टी सभापतिमा ल्याउनुपर्छ । दिग्गज नेताहरुले ठूलो हृदय राखेर महिलालाई अघि बढाउनुपर्छ ।'

काँग्रेसले एक घर दुई क्रियाशील सदस्य बनाउनुपर्नेमा पनि जोड दिइन् । एक घर दुई क्रियाशील सदस्य बनाउँदा एक महिला अनिवार्य हुनुपर्ने उनको भनाइ थियो ।

त्यस्तै काँग्रेस केन्द्रीय सदस्य एनपी साउदले महिलाको भूमिका बढाउन महिलाको साधारण तथा क्रियाशील सदस्यता संख्या बढाउन जरुरी रहेको बताए । महिलाको नेतृत्व विकाससँगै जिल्ला सभापति, महिला नेतृ शुभेच्छुक संस्था महिला सदस्यताको संख्या बढाउन उद्दा हुनुपर्ने उनको भनाइ छ । 

सक्षम महिला नेतृत्वको सम्भावना बोकेका व्यक्तिहरुको खोजी गर्ने भूमिका महिला विभागले गर्न जरुरी भएको उनले बताए । कार्यक्रममा केन्द्रीय सदस्य डिला संग्रौलाले आगामी महाधिवेशनमा महिलाको सहभागिता बढाउनुपर्नेमा जोड दिइन् । त्यसका लागि महिला आफै पनि अग्रसर हुनुपर्ने उनको भनाइ थियो ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप