शनिबार, ०८ वैशाख २०८१
ताजा लोकप्रिय

सरकारको नाममा रहेको काठमाडौँको मस्जिदको जग्गा कसरी पुग्यो व्यक्तिको नाममा ?

मैतिदेवी मन्दिरको जग्गा व्यक्तिको नाममा पार्नेको आँखा मस्जिदमा पनि ! (भिडियो)
शनिबार, १५ कात्तिक २०७७, १२ : ५०
शनिबार, १५ कात्तिक २०७७

काठमाडौँको मुटु सुन्धारामा रहेको मुसाफिर मादिनी मस्जिदमा गत साता बिहानै डोजर लगेर तोडफोड गरियो । मस्जिदमा सुतेका महिला बालबालिका आत्तिदै उठे । दसैँको मध्य समय अर्थात् अष्टमीका दिन सारा नेपालीहरु घर–घरमा ब्यस्त भएको र सरकारी कार्यालयहरु पनि बन्द भएको मौका पारेर डोजर चलाइएपछि यस घटनालाई मुस्लिम समुदायले आफूमाथिको अन्यायको रुपमा लिएका छन् ।

डोजर आक्रमणबाट मस्जिदको अगाडिको भागमा क्षति पु-याइएको थियो । घटनापछि एकजुट भएका मुस्लिम समुदायले अहिले  मस्जिदको भत्काएको अगाडिको भागको धमाधम निर्माण थालेका छन् । काठमाडौं महानगरपालिका वडा नम्बर २२ का वडाध्यक्ष चीनकाजी महर्जन समेत भूमाफियासँग मिलेर मस्जिद भत्काउन आएको मुसाफिर मादिनी मस्जिद व्यवस्थापन समितिका सचिव नजिबुल्लाह अन्सारीले आरोप लगाए ।

उनले भने–‘केटाकेटी महिला सबै सुतिरहेका बेला एक्कासी बिहानै डोजर लगाएर भत्काउने प्रयास गरियो । प्रहरी र स्थानीय मिलेर उनीहरुलाई भगाउन सफल भयौँ ।’

गत बिहीबार साँझ पनि वडाध्यक्ष चीनकाजी मर्हजन सहितको एक समूह काम रोक्न आएको उनले बताए । सचिव अन्सारीले भने, ‘सबैभन्दा पहिला त हामीले धार्मिक सद्भाव कामय गर्ने हो । हामी सबै मिलेर भूमाफियालाई देश निकाला गर्न आवश्यकता छ । भूमाफियाले यसरी चलखेल गरिरहे हामीले हाम्रो सम्पदा बचाउन सक्दैनौँ ।’

जग्गाको लालपूर्जामा आफ्नो नाम भएका जुजुकाजी मर्हजन र रत्नकाजी महर्जनले चौँथो पटक मस्जिदमा हमला गरेको उनले बताए । पटक–पटक हमला भएपछि मस्जिदको अगाडिको भाग अहिले आरसिसी पिलर र ढलान गरेर पक्की बनाउन थालिएको छ ।

अन्सारीले भने–‘यदी फेरी उनीहरु मस्जिदमा हमला गर्न आए भने यो भत्काउन उनीहरुलाई केही समय लागोस् र त्यतिबेला सम्म हामी आफ्नो सामानको सुरक्षा गर्न यहाँ आइपुगौँ भन्ने हिसाबले पक्की बनाउन लागिरहेका छौँ ।’

मुस्लिम समुदाय सो मस्जिद तीन चार सय वर्ष पहिलेदेखि सरकारले बस्नका लागि दिएको बताउँछन् । शताब्दी अघिदेखि काठमाडौँ बाहिरबाट व्यापारका लागि आएका मुसलमानहरुका लागि धर्मशालाका रुपमा रहेको सो मस्जिदमा हरेक दिन नमाज पढ्ने काम भइरहेको छ ।

पुनर्निर्माणका क्रममा उनीहरुले मस्जिद भत्काएको अगाडिको जगबाट श्री ३ चन्द्रशमशेर लेखिएको इँटा समेत फेला पारेका छन् । राणा प्रधानमन्त्रीले आधिकारिक रुपमा सो स्थान मुसलमान समुदायका लागि दिइएको लिखत आफूहरुसँग रहेको उनीहरुको दावी छ । झन्डै २ सय वर्षअघि सरकारले १३ हजार रुपैयाँ दिएर मर्मत संभार खर्च गरेको रसिद पनि सुरिक्षत रहेको उनले बताए ।

सरकारको नाममा रहेको जग्गा कसरी पुग्यो व्यक्तिको नाममा ?

सुन्धारास्थित धरहराको ठीक पछाडि ६ आना ३ दाम  क्षेत्रफलमा रहेको मस्जिदको जग्गा पहिले नेपाल सरकारको नाममा भएपनि पछि चलखेल गरेर व्यक्तिमा नाममा लगिएको मुसाफिर मादिनी मस्जिदका व्यवस्थापन समितिका अध्यक्ष राज मोहम्मद अन्सारीले बताए ।

अध्यक्ष अन्सारीले तत्कालीन राणा शासनका बेला मुस्लिमहरुलाई बसोबासका लागि सो जग्गा लिखित रुपमा दिएको कागजजात पनि सुरक्षीत रहेको रातोपाटीलाई बताए । सोही आधारमा सो स्थानमा मुस्लिम समुदाय बस्दै आएको र दैनीक ५ पहर नमाज पढ्ने गरिएको जानकारी दिए ।

तर अहिले सो जग्गा जुजुकाजी महर्जन र रत्नकाजी महर्जनको नाममा रहेको छ । वि.सं. २००१ सालदेखि सरकारको नाममा रहेको सो जग्गा पहिलोपटक २०५२ सालमा व्यक्तिको नाममा आएको थियो ।

२०३७ साल, २०३९ सालमा २०४३ सालमा नापी विभागबाट सर्भे आउँदा जग्गाधनी नेपाल सरकार लेखेको र भोगचलन भने मुस्लिम समुदायले गरिरहेको कागजात रहेको अध्यक्ष अन्सारीले बताए । 

उनले भने–‘२०५२ सालसम्म श्री ५ को सरकार जग्गाधनी श्रेस्ता कायम भएको पाइन्छ । त्यसपछि केही मूमाफियाहरुले सो जग्गामा आँखा गाडेर आफ्नो नाममा लगेका थिए । २०५३ सालदेखि हालसम्म यो जग्गामा चलखेल भइरहेको छ ।’

व्यक्तिको नाममा मस्जिदको जग्गा गएपछि नेपाल सरकारका विभिन्न निकाय, अख्तियार दुरुपयोग अनुसन्धान आयोगमा निवेदन दिइएको थियो । त्यसपछि छानविन भयो । अख्तियार दुरुपयोग अनुसन्धान आयोगको निर्देशनपछि २०६५ सालमा श्री ५ को सरकारबाट नेपाल सरकारको नाममा सो जग्गा आएको थियो ।

मस्जिदका अध्यक्ष अन्सारीले भने–‘२०६९ सालमा सर्वोच्च अदालतलाई गुमराहमा पारी केही भूमाफियाले फेरि मस्जिदको जग्गा आफ्नो नाममा ल्याएर पूर्जा निकालेका थिए । तिनै भूमाफियाले मैतिदेवीमा रहेको मन्दिरको जग्गा पनि आफ्नो नाममा ल्याएका थिए ।’

२०५२ सालमा नरेन्द्रविक्रम राणाको नाममा देखिएको सो जग्गा पछि सावित्री तिमिल्सिना र भेषराज न्यौपानेको नाममा थियो । उनीहरुबाट बिक्री भएर २०६१ सालमा जुजुकाजी महर्जन र रत्नकाजी महर्जनको नाममा सो जग्गा आएको थियो ।

जग्गा विवाद भएपछि मस्जिदका तर्फबाट अख्तियार दुरुपयोग अनुसन्धान आयोगमा उजुरी गरिएको थियो । २०६५ सालमा अख्तियारले सो जग्गा सरकारको नाममा कायम गर्न मालपोत कार्यालयलाई निर्देशन समेत दिएको थियो ।

अख्तियारको सो निर्देशन विरुद्ध जुजुकाजी र रत्नकाजी महर्जन सर्वोच्चमा रिट दायर पछि २०६९ असारमा सर्वोच्चले सो जग्गा व्यक्तिकै नाममा कायम हुने फैसला गरेको थियो । सो फैसला पछि फेरि मुसाफिर मादिनी मस्जिदका तर्फबाट जिल्ला अदालत काठमाडौँ तथा सर्वोच्च अदालतमा मुद्दा दायर भएको छ । अदालतमा मुद्दा विचाराधिन रहेको अवस्थामा आफ्नो आस्थाको केन्द्रमा आक्रमण गरेको भन्दै मुस्लिम समुदायले बिरोध गरेका छन् ।

मस्जिदका अध्यक्ष अन्सारीले धर्म गुरुले नमाज पाठ गरिरहेको बेला आएर डोजर चलाएर पीडा दिएको बताए । उनले भूमाफियाहरुलाई कडाभन्दा कडा कारवाहीको माग गरे ।

सो घटनापछि प्रधानमन्त्रीको कार्यालय, गृह मन्त्रालय, मुस्लिम आयोग, जिल्ला प्रहरी कार्यालयमा फेरी उजुरी दिइएको उनले बताए । उनले भने–‘प्रशासनको सहयोगका कारण उनीहरुले सबै भत्काउन पाएनन्, नत्र मान्छे मार्ने र यो सबै भत्काउने उनीहरुको उद्देश्य थियो ।’

उनले भने, ‘मलाई अचम्म लाग्छ किन भूमाफियाले मन्दिर र मस्जिदको मात्रै जग्गा ताक्छन् ? उनीहरुसँग पैसा भएपछि ७७ जिल्लामै उनीहरुले जग्गा किनबेच गर्न सक्छन् नि । किन मन्दिर र मस्जिदमा आँखा गाडेको हो ?’

महर्जनद्वयको नाममा जग्गाधनी लालपूर्जा भएपनि धेरै अगाडिदेखि नेपाल सरकारको जग्गा र भोगचलन मस्जिदको बत्ति, पानी सबैको बिल मस्जिदको नामबाट तिर्दै आएको उनले बताए ।

श्रमदानमा यसरी हुँदैछ मस्जिद पुनर्निर्माण

मस्जिद तोडफोडपछि अहिले काठमाडौँमा रहेका मुस्लिम समुदाय मिलेर चन्दा उठाएर निर्माण सामग्री खरिद गर्दै जनश्रमदानबाट पुनर्निर्माणमा जुटेका छन् । मुसाफिर मादिनी मस्जिद व्यवस्थापन समितिका सचिव नजिबुल्लाह अन्सारीले भने–‘कसैले ५ सय रुपैयाँ हालेर इँटा ल्याएका छन्, कसैले हजार रुपैयाँ हालेर सिमेन्ट ल्याएका छन् । हामी आफैले श्रमदान गरेर काम गरिरहेका छौँ । यसमा न कुनै ठेकेदार छ न कुनै मिस्स्री छ न कुनै निकाय छ । हामी आफ्नै बुद्धि बिवेकले मिलेर यो काम गरिरहेका छौँ । पुनर्निर्माण त गर्नुप-यो । पहिले जुन अवस्थामा थियो हामी त्यही अवस्थामा पु-याएर छाड्छौँ ।’

अहिले पुनर्निर्माण गरिरहेका बेला पनि भूमाफियाको समूह आएर निर्माण कार्यमा अवरोध गरिरहेको उनले बताए । उनले भने–‘यो बीचमा कुनै व्यक्ति, कुनै निकाय वा संस्था रोक्न आएमा हामी झगडा त गर्न सक्दैनौं तर यो मस्जिद रक्षाका लागि ज्यान दिन तयार छौँ । हामी जिउँदो रहुन्जेलसम्म यसको एउटा इँटा, काठ नष्ट हुन दिदैनौँ, यो हाम्रो प्राण हो र यसको संरक्षण हाम्रो कर्तव्य पनि हो ।’

अहिले निर्माण कार्यमा २५ जना हाराहारी काममा खटिएका छन् । १ हप्ताभित्र मस्जिललाई पहिलेकै अवस्थामा पु-याउने अन्सारीले बताए । उनले भने–‘भूमाफियाले आफ्नो पैसाको दम्भमा आएर गुण्डागर्दीको भरमा धार्मिक स्थल, पाटी, पौवा, मठ, मन्दिर कब्जा गर्दै लालपूर्जा निकाल्दै यो मेरो हो भनेर गरिबलाई घचेट्दै निकाल्दै गर्नु कतिको उचित हो ?’

सो मस्जिदमा शुक्रबारका दिन विशेष नमाज पढिन्छ । इदका दिन पनि नमाज पढ्ने गरिएको छ ।

हेर्नुहोस् भिडियो :

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

शम्भु दंगाल
शम्भु दंगाल

शम्भु दंगाल संसदीय मामिला, पुनर्निर्माण र समसामायिक विषयमा रिपोर्टिङ गर्छन् ।

लेखकबाट थप