बुधबार, ०२ जेठ २०८१
ताजा लोकप्रिय

उपत्यकाको ट्राफिक जाम कम गर्न एकीकृत कार्ययोजना तयार

मङ्गलबार, १८ कात्तिक २०७७, १८ : ५६
मङ्गलबार, १८ कात्तिक २०७७

काठमाडौं । काठमाडौं उपत्यकाको ट्राफिक जाम कम गर्न र सवारी दुर्घटना न्यूनीकरणका लागि ट्राफिक व्यवस्थापन सम्बन्धि एकीकृत कार्ययोजना २०७७ तयार भएको छ ।  ट्राफिक प्रहरी महाशाखा प्रमुख भीम ढकाल संयोजक रहेको समितिले एकीकृत कार्ययोजना तयार गरी आज गृहमन्त्री रामबहादुर थापालाई बुझाएको हो । उपत्यकाको सवारी जाम कम गर्न तत्काल सडक विस्तार गर्नुपर्ने, फराकिलो बनाउनुपर्ने, सडक किनारमा रहेका वर्कसप तथा कलकारखानालाई स्थानान्तरण गर्नुपर्ने लगायतका सुझाव कार्ययोजनामा समेटिएका छन् ।

तत्काल गौरीघाट प्रहरी बिटको पर्खाल भत्काइ सडक पराकिलो पार्नुपर्ने, जडिबुटी पुल र राधे राधे पुलको बाँकी काम तत्काल सम्पन्न गर्नुपर्ने, जडीबुटी सुर्यविनायकसम्म सर्भिस लेनको बाँकी ट्रयाक खोल्ने र मर्मत संभार गर्ने लगायतका काम गरी सर्भिस लेन सञ्चालन गर्नुपर्ने र कोटेश्वर चोकदेखि जडिबुटी पुलसम्म दुबै तर्फको सर्भिस लेन छिटो खोल्नुपर्ने विषय कार्ययोजनामा समेटिएका छन् ।

यस्तै दिर्घकालिन रुपमा उपत्यकाका अन्य साँधुरा, सवारी चाप हुने सडक र साँघुरा चोक जक्सनहरुको अध्ययन गरी विस्तार गर्नुपर्ने, चक्रपथ सडकको बाँकी खण्ड विस्तारका लागि योजना बनाइ सम्पन्न गर्नुपर्ने योजना पनि कार्ययोजनामा समेटिएका महाशाखा प्रमुख ढकालले बताए । यस्तै बाहिरी चक्रपथको अवधारणालाई कार्यान्वयन गर्नुपर्ने, नाढुंगा सिस्नेखोला टनेल, टोखा छहरे टनेल योजना समयमै सम्पन्न गर्नुपर्ने योजना पनि समेटिएको छ ।
यसैगरी विभिन्न ठाउँमा सठक कालोपत्रे गर्नुपर्ने आवश्यकता पनि समितिले औल्याएको छ ।

पकनाजोल-क्षेत्रपाटी सडक, ग्वार्को-मंगलबजार सडक, गौशाला-चाबहिल-बौद्ध, मंगलबजार–सुन्धारा, जोरपाटी-सुन्दरीजल र लगनखेल-प्रयाग पोखरी सडक कालोपत्रे गर्नुपर्ने सुझाव समितिले दिएको छ । यस्तै जोरपाटी-साँखु, हात्तीवन-गोदावरी, कमलविनायक-नगरकोट, इमाडोल सिद्धिपुर-लुभु , सानो ठिमी-बाख्रा बजार र नख्खु दोबाटो-बागडोल सर्भिस लेन पनि कालोपत्रे गर्नुपर्ने छ । समितिले सडक किनारामा स्थापना भएका पेट्रोल पम्प र वर्कसपहरु पनि स्थानान्तरण गर्नुपर्ने सुझाव दिएको छ ।

यसैगरी माईतीघर-तिनकुने, सूर्यविनायक-कोटेश्वर-कलंकी सडकलार्य नमूना सडकका रुपमा विस्तार गरी पूर्ण सडक पूर्वाधार र आधुनिक प्रविधियुक्त सडकको रुपमा विस्तार गर्ने र प्रत्येक स्थानीयतहले तीनवटा सडकलाई नमुना सडकको रुपमा विकास गर्नुपर्न गरी कार्ययोजना निर्माण भएको छ ।

दिर्घकालिन रुपमा उपत्यकाका सडक फराकिला बनाएर नमुना सडकका रुपमा विकास गर्ने, प्रत्येक वडामा कम्तिमा एउटा सडकलाई नमुना सडकको रुपमा विकास गर्ने र सरकारी स्तरबाट नै ट्राफिक विद्यालय सञ्चालन गरी ट्राफिक र सडक नियम सम्बन्धि प्रशिक्षण दिनुपर्ने सुझाव पनि कार्ययोजनामा समेटिएको छ ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप