बिहीबार, ०३ जेठ २०८१
ताजा लोकप्रिय

पूर्वकोषाध्यक्ष देबेन्द्रबहादुर प्रधानले रेडक्रसलाई फर्काए २१ लाख ५७ हजार

‘रेडक्रस जस्तो परोपकारी संस्थाको पैसा खानु हुँदैन भन्ने लागेर फिर्ता गरेको हुँ’
बिहीबार, २० कात्तिक २०७७, २० : ४७
बिहीबार, २० कात्तिक २०७७

काठमाडौं । जिल्ला प्रशासन कार्यालयको निर्देशन र वर्तमान केन्द्रीय समितिकोपटक–पटकको ताकेतालाई उपेक्षा गरी अदालत जाने धम्की दिइरहेका नेपाल रेडक्रस सोसाइटीका पुर्व पदाधिकारीमध्ये कोषाध्यक्ष देबेन्द्रबहादुर प्रधानले आज २१ लाख ५७ हजार नौ सय ७० रुपैयाँ सोसाइटीको खातामा जम्मा गरि दिएका छन् ।

प्रधानले स्ट्याण्डर्ड चार्टड बैंक लि. मा रहेको नेपाल रेडक्रस सोसाइटीको खाता नं. १७–०००३७९४–०१ मा रकम जम्मा गरेका हुन् । नेपाल रेडक्रस सोसाइटीको पूर्व केन्द्रीय कार्य समितिका अध्यक्ष संजीव थापा, उपाध्यक्ष अजित शर्मा, महामन्त्री देवरत्न धाख्वा, सहमहामन्त्री हरी न्यौपाने, कोषाध्यक्ष प्रधान र पुर्व कोषाध्यक्ष भक्त खवासले भुकम्प प्रतिकार्यका लागि दाताहरुले दिएको दानबाट आफैंले निर्णय गरी आफ्नो मासिक तलव तोकेका थिए ।

उनीहरुले ०७२ असार देखि ०७५ असारसम्म तीन वर्षमासिक तलव बुझेका थिए । जस अनुसार प्रधानले ६३ हजार दुई सय ४९ रुपैयाँ बुझेका थिए । गृह मन्त्रालयको निर्देशनमा जिल्ला प्रशासन कार्यालय काठमाडौंले गठन गरेको कृष्ण आचार्य संयोजकत्वको हिसाव विज्ञ समुहले परोपकारी संस्थामा रहेर आफ्नो तलव आफैंले तोकेर लिएको उक्त रकम फिर्ता गर्नु पर्ने निश्कर्ष निकालेको थियो ।

अध्यक्ष संजीव थापाले अदालत जानु पर्छ । रकम फिर्ता नगर भनेर दवाव दि“दा दि“दै पनि रेडक्रस जस्तो परोपकारी संस्थाको पैसा खानु हुँदैन भन्ने लागेर फिर्ता गरेको प्रधानले रातोपाटीलाई बताए । उनका अनुसार आजै मात्र पनि पूर्वअध्यक्ष संजीव थापाले ५-६ पटक फोन गरेका थिए । 

तर, उनले फोन उठाएनन । ‘संजीवजी लगायत एक÷दुई जना मुद्दाको तयारीमा छु भन्ने सुनेको छु । अदालतमा म मिलाएरै छाड्छु भन्ने संजीवजीको भनाई छ रे । तर, म चाहिँ मुद्दाको पक्षमा हिजो पनि थिइन । आज पनि छैन’, प्रधान भन्छन् ‘मेरो व्यक्तिगत सम्पती मिचेर फिर्ता गर भनेको भए मुद्दामा जान्थे पनि होला । हामीले पैसा पनि लिएकै हो । रेडक्रस जस्तो पवित्र संस्थामा बसेर आफ्नो इमेज बिगारेर मुद्दामा नजाने भएर पैसा फिर्ता गरेको हुँ ।’ 

परिवार र छोराहरुले समेत रकम फिर्ता गरि दिनुस् । मुद्दामा नजानुस् भनेर सल्लाह दिएकाले रेडक्रसको खातामा रकम दाखिला गरि दिएको प्रधान बताउँछन । प्रधाननका अनुसार पूर्व उपाध्यक्ष अजित शर्माले ५÷५ दिन भित्र र पूर्व सहमहामन्त्री हरीन्यौपानेले तिहार पछि रकम फिर्ता गर्छौ भनेर उनलाई बचन दिएका छन् । रेडक्रसका उप निर्देशक दीपक घिमिरे पूर्व कोषाध्यक्ष प्रधानले सहजै रकम फिर्ता गरेर इमान्दारिता देखाएको बताउँछन् । 

भन्छन्, ‘प्रधानले नेपाल रेडक्रस सोसाइटीको खातामा रकम जम्मा गरेर अरु थेतरा अटेरी पूर्व पदाधिकारीहरुलाई पाठ सिकाउनु भएको छ ।’ 
काठमाडौं जिल्ला प्रशासन कार्यालयले गठन गरेको हिसाव विज्ञ समुहको निर्देशन अनुसार पूर्व अध्यक्ष थापाले ४५ लाख ६२ हजार ५ सय, पुर्व उपाध्यक्ष शर्माले १४ लाख ६० हजार, महामन्त्री देवरत्न धाख्वाले ३३ लाख ६७ हजार ४ सय ५९ रुपैयाँ ३५ पैसा, पूर्व सहमहामन्त्री हरी न्यौपानेले १९ लाख ५७ हजार र पूर्व कोषाध्यक्ष भक्त खवासले १३ लाख ४० हजार रकम फिर्ता गर्नु पर्नेछ ।

कानुनी प्रावधान अनुसार मासिक सुविधा वापत आफूले बुझेको रकमको कर त्यही रकमबाट बुझाउनु पर्छ । रोचक के भने पूर्व कोषाध्यक्ष खवासले आफुले बुझेको तलवको १ लाख ७२ हजार ५ सय ६४ रुपैयाँ ३७ पैसा कर समेत संस्थाकै रकमबाट बुझाएको पाइएको छ । रेडक्रसका पूर्व पदाधिकारीहरुले कर समेत छली गरेको पाएपछि कर कार्यालयले कर बुझाउन पटक–पटक ताकेता गरेको थियो । 

यसपछि खवासले ०७६ बैशाख ८ गते रेडक्रस सोसाइटीलाई ‘सो रकम हाललाई त्यसै कार्यालयबाट बुझाई दिनु भए १५ दिन भित्र सो बुझाएको रकम केन्द्रीय कार्यालयमा दाखिला गर्नेछु । हाललाई पेश्की स्वरुप मेरो नाममा उल्लेख गरी कर कार्यालयमा बुझाउनु पर्ने रकम सम्वन्धित कार्यालयमा बुझाई सहयोग गरि दिनु हुन अनुरोध छ भनेर निवेदन दिएका थिए । 

उनले दिएको निवेदन अनुसार त्यही लिन उनका नाममा पेश्की जनाउँदै रेडक्रस सोसाइटीले कर तिरि दिएको थियो । तर, खवासले आजका मितिसम्म उक्त पेश्की समेत फर्छ्यौट गरेका छैनन ।

खवासले रातोपाटीसँगको कुराकानीमा आफुले पेश्की चुक्ता गर्न बाँकी रहेको स्वीकार गरे । ‘मैले तिर्छु भनेर कागज गरि दिएको छु । त्यसमाथि अब मुल रकम नै फिर्ता गर्नु पर्ने हो भने त्यो पेश्की पनि के हुन्छ ? संस्थासँग सल्लाह गर्छु’ खवास भन्छन् । 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप